देउवाको गृहजिल्लाका सभापति भन्छन्- अधिवेशनबारे सर्वोच्च जान्छौँ

डडेल्धुरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा विवादका बीच अधिवेशन गरिएपछि सभापति कर्ण मल्ल समूह रुष्ट बनेको छ ।

शुक्रबार (हिजो) जिल्ला सभापति मल्ल समूहले वडा अधिवेशन बहिस्कार गरेपनि अधिकांश वडामा निर्वाचन सम्पन्न भएको छ । निर्वाचनमा मल्ल समूहले भाग नलिएपछि निर्वाचन भएका अधिकांश वडामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको निर्वाचन अधिकृत लोकेन्द्र बमले जानकारी दिए ।

भदौ १८ गतेका लागि तोकिएको वडा अधिवेशन क्रियाशील सदस्यताको विवादका रोकिएको थियो । २१ गते विवाद निरूपण गरी केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता सूची जिल्ला पठाए पनि जिल्ला सभापति कर्णबहादुर मल्लले उक्त सूची अस्वीकार गरेका थिए ।

मल्ल पक्षले विवाद नसुल्झिएको भन्दै अधिवेशन स्थगित गर्ने घोषणासमेत गरेको थियो । तर २५ गतेसम्म पनि क्रियाशील सदस्यताको विषय नसुल्झिँदै सभापति शेरबहादुर देउवाले हस्तक्षेप गरेर निर्वाचन गराएका छन् ।

जिल्लाका ५२ मध्ये अजयमेरु गाउँपालिका वडा नम्बर ३, अमरगढी नगरपालिका वडा नं. ८ र नवदुर्गा गाउँपालिका वडा नं. ५ मा वडा अधिवेशन हुन बाँकी छ । बाँकी वडाहरुमा शनिबारनै निर्वाचन गर्ने तयारी छ ।

जिल्ला सभापति मल्लले एकलौटी रूपमा गरिएको अधिवेशनबाट आएको नेतृत्व स्वीकार्य नहुने बताएका छन् । उनले नियमविपरीत सुरक्षाकर्मी परिचालन गरेर वडा अधिवेशन गरेको भन्दै त्यसविरुद्ध सर्वोच्च अदालत जाने चेतावनीसमेत दिए ।

सभापति देउवाले शक्तिको दुरुपयोग गर्दै वडादेखि जिल्ला तहसम्म नेतृत्व हत्याउने प्रयास गरेको उनको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *