टेनिसमा तहल्का मच्चाइरहेका ‘अपत्यारिला’ दुई किशोरी

काठमाडौँ । ईमा राडुकानु र लेइला फर्नान्डेजको नाम खासै सुनिएकै थिएन । टेनिसप्रति समर्पित केही सीमित समर्थकले पनि भर्खरै सुन्न थालेका यी दुई नाम हेर्दाहेर्दै विश्व टेनिस जगत नै हल्लाउने नामका रुपमा परिचित भएका छन् । उनीहरुका ‘कथा’ सर्वाधिक पढिने ‘स्टोरी’ बनेका छन् । उनीहरूबीचको खेल सर्वाधिक हेरिने खेल बन्ने आकलन गरिएको छ ।

सनसनीपूर्ण प्रदर्शन गर्दै यी दूई किशोरी चर्चित ग्रान्डस्लाम यूएस ओपनको फाइनलमा पुगेका छन् र उपाधिका लागि शनिबार खेल्दैछन् ।

यूएस ओपनको महिला एकलको फाइनलमा शनिबार एक-अर्कासँग प्रतिस्पर्धा गर्ने यो खेल यूएस ओपनको आधुनिक इतिहासकै सर्वाधिक असम्भव सोचिएको फाइनल खेलका रुपमा हेरिएको चर्चा भइरहेको छ ।

नेपाली समयअनुसार शुक्रबार बिहान भएको दोस्रो क्वाटरफाइनलमा १८ वर्षीय बेलायती किशोरी राडुकानुले १७औँ बरियताकी मारिया सक्कारीमाथि ६-१, ६-४ को जित निकाल्दै सनसनीपूर्ण रुपमा फाइनल यात्रा तय गरिन् । राडुकानु क्वालिफायरबाटै ग्रान्डसलाम फाइनल पुग्ने पहिलो महिला खेलाडीमात्र होइन‚ ४४ वर्षपछि बेलायतबाट मुख्य प्रतियोगिताको फाइनल खेल्ने महिला खेलाडीसमेत बनिन् ।

भर्जिनिया वेडले १९७७ को विम्बल्डन फाइनल खेलेयता कुनैपनि बेलायती महिला खेलाडीले ग्रान्डस्लामको फाइनल खेलेका थिएनन् ।

राडुकानुको यूएस ओपनअघिको वरीयता १५० औँ थियो। उनले यूएस ओपनमा स्थान बनाउन ३ वटा छनोट खेल खेल्नुपरेको थियो । त्योसँगै उनले यूएस ओपन फाइनलमा पुग्न ९ खेलाडीलाई समेत पाखा लगाइन् । उनले यो स्थानसम्म पुग्ने क्रममा एक सेट पनि गुमाएकी छैनन् । उनी आफ्नो युगमा क्वालिफायरबाट फाइनल पुग्ने एक्लो खेलाडी हुन् ।

अहिले न्यूयोर्कमा १८ वर्षीय राडुकानु र केही दिनअघि मात्र १९ लागेकी फर्नान्डेजले दर्शकलाई भरपुर आनन्द दिइरहेका छन् । आफ्नो बेलामा महिला टेनिसमा तहल्का मच्चाएकी सेरेना विलियम्स चोटसँग र नाओमी ओशाका मानसिक समस्यासँग जुधिरहँदा यी दुई किशोरीको आगमनले टेनिस जगतमा नयाँ तरङ्ग ल्याएको छ ।

त्यसो त क्यानडाकी लेइला फर्नान्डेजको कथा पनि कम सनसनीपूर्ण छैन । सोमबारमात्रै १९ वर्ष लागेकी यी किशोरीले त झनै विश्व वरीयतामा पकड बनाएका एकपछि अर्का हस्तीहरूलाई पाखा लगाइन् ।

पछिल्लोपटक उनले दोस्रो वरीयताकी एरिना साबलेन्कालाई पछि पारिन् । फर्नान्डेजले बेलारुसकी एरिनालाई ७-६ (७-३), ४-६ र ६-४ को सेटमा पाखा लगाइन् । ७३औँ वरीयताकी फर्नान्डेजले आश्चर्यजनक रुपमा दोस्रो, तेस्रो, पाँचौं तथा १६औँ वरीयताप्राप्त खेलाडीलाई पछि पार्दै फाइनल यात्रा तय गरेकी हुन् । मुख्य रुपमा उनको उपलब्धि ७ ग्रान्डस्लाम उपाधि विजेता ओशाका र कर्बरलाई पाखा लगाउनु हो ।

समग्रमा अहिले विश्व टेनिस जगत् यिनै दुई किशोरीको सनसनीपूर्ण प्रदर्शनको साक्षी बनेको छ ।

त्यसैले शनिबारको फाइनलमा ‘स्टार’ खेलाडी त हुने छैनन्‚ तर विश्वलाई नै चकित बनाइरहेका यी दुई किशोरीको जादुयी प्रदर्शन भने हुनेछ । उनीहरूको खेलको प्रतीक्षामा न्युयोर्क जति लालायित छ‚ त्यति नै विश्वभरिका टेनिसलाई माया गर्ने समर्थक रहेका छन् । धेरैले महिला टेनिसमा यी दुई किशोरीको फाइनल सर्वाधिक हेरिने ग्रान्डस्लाममध्येमा पर्ने आकलन गरेका छन् । उपाधि दुईमध्ये कुन किशोरीले जित्लान् भन्नेबारे भने आकलन गर्न मुस्किल छ‚ तर जसले जिते पनि विश्वमा खेलकुदमा लाग्ने नयाँ पुस्तालाई प्रेरणाको छाप छाड्ने भने निश्चित छ । विरलै देख्न पाइने यस्तो खेल हेर्न विश्वभरिका टेनिस समर्थक मुटु थामेर बसेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *