सुदूरपश्चिममा एक वर्षमा ९१ बलात्कारका घटना, बालिकामाथि ४४ घटना

धनगढी । सुदूरपश्चिम प्रदेशमा महिला अधिकार हनन्‌का घटनामा उल्लेख्य वृद्धि भएको पाइएको छ । महिला अधिकार हनन्अन्तर्गत सुदूरपश्चिममा एक वर्षको अवधिमा भएका बलात्कारका घटनाको तथ्याङ्क सार्वजनिक गर्दा यस्ता विषयमा उल्लेख्य वृद्धि देखिएको हो ।

एक वर्षको अवधिमा ९१ जना महिला बलात्कारको शिकार भएको अनौपचारिक शिक्षा सेवा केन्द्र (इन्सेक) धनगढीले सार्वजनिक गरेको प्रदेशको मानवअधिकारको अवस्था विश्लेषण प्रतिवेदनले देखाएको छ । प्रतिवेदनले सन् २०२० जुलाईदेखि सन २०२१ जुनसम्म ९१ वटा बलात्कारका घटना भएको तथ्याङ्क सार्वजनिक गरेको छ । बलात्कारका सबै घटना गैह्रराज्य पक्षबाट भएका छन् ।

ईन्सकको मानव अधिकारको अवस्था विश्लेषणअनुसार सन् २०२० जुलाईदेखि डिसेम्बरसम्म ६ महिनाको अवधिमा ५२ वटा बलात्कारका घटना भएका छन् । जसमध्ये बलात्कारका २९ घटना बालिकामाथि भएका छन् । नौ जनामाथि बलात्कारको प्रयास र आठ जनामाथि यौन दुर्व्यवहार भएको छ । यौन दुर्व्यवहारका आठ घटनामध्ये सातवटा घटनाको शिकार बालिकाहरू भएको समेत ईन्सेकले जनाएको छ ।

त्यसैगरी यस वर्ष २०२१ को जनवरीदेखि जुनसम्म ६ महिनाको अवधिमा ३९ वटा बलात्कारका घटना भएका छन् । जसमध्ये १५ जना बालिका बलात्कारको शिकार भएका छन् । १८ जनामाथि यौन दुर्व्यवहार भएको छ । जसमा १२ जना बालिका पर्छन् । त्यस्तै दुई जना महिलामाथि बलात्कारको प्रयास भएको छ ।

ईन्सेकका प्रदेश संयोजक खड्कराज जोशीले महिलामाथि हुने ज्यादती र हनन्‌का घटना व्यापक बन्दै गइरहेको बताए ।

उनका अनुसार सन् २०२० जुलाईदेखि डिसेम्बरसम्म ६ महिनाको अवधिमा राज्यपक्षबाट दुई जना महिला र गैह्रराज्य पक्षबाट दुई सय ३७ जना महिला पीडित बनेका छन् । दुई जना महिला राज्यपक्षबाट गिरफ्तार भए भने एक जनामाथि कुटपिट भएको छ । प्रहरी हिरासतमा दुई र जिल्ला कारागारमा दुई जना गरी चार जनाको मृत्यु भएको छ ।

यस्तै गैह्रराज्यपक्षबाट एक सय ८० जना महिलाको अधिकार हनन् भएको छ । बलात्कार, बलात्कार प्रयास र यौन दुर्व्यवहारबाहेक घरेलु हिंसाबाट एक सय ३४ जना पीडित बनेका छन् । ११ जना महिलाको हत्या गरिएको छ । दुई जना बेचबिखनमा परेका छन् भने ६ जनालाई बेचबिखन गर्ने प्रयास भएको छ । त्यस्तै पाँच जनाको बहुविवाह भएको छ । यो अवधिमा बलात्कार, बलात्कार प्रयास र यौन दुर्व्यवहारसहित ४२ जना बालबालिका पीडित बनेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

यसैगरी सन् २०२१ जनवरीदेखि जुनसम्मको ६ महिनाको अवधिमा गैह्रराज्य पक्षबाट दुई सय ६५ जना महिला पीडित बनेका छन् । यो अवधिमा बलात्कार, बलात्कार प्रयास र यौन दुर्व्यवहार अतिरिक्त चार जना महिलाको हत्या, एक सय ८० जना महिलामाथि घरेलु हिंसा, १० वटा बहुविवाह, चार जना महिला बेचबिखन र दुई जना महिलामाथि कुटपिट भएको तथ्याङ्क छ ।

यो अवधिमा बालअधिकार हनन्‌का घटनामा पनि कमी आउन सकेको छैन । एक वर्षको अवधिमा बलात्कार, बलात्कार प्रयास र यौन दुर्व्यवहारका अतिरिक्त गैह्रराज्य पक्षबाट ३३ जना बालबालिका पीडित बनेका छन् ।

ईन्सेकले विगतको तुलनामा यो वर्ष नागरिक र राजनीतिक अधिकारका क्षेत्रमा केही सुधार भएको पाइएपनि आर्थिक सामाजिक र सांस्कृति अधिकारको अवस्थामा खासै प्रगति नभएको जनाएको छ ।

ईन्सेकका अनुसार पछिल्लो ६ महिनाको अवधिमा प्रदेशमा राज्य पक्षबाट १४ जना पुरुष र गैह्रराज्यपक्षबाट दुई सय ६५ जना गरी जम्मा दुई सय ८० वटा मानव अधिकार हनन् र ज्यादतीका घटना भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *