नेपाल दुई विकेटले विजयी (तस्बिरहरू)

काठमाडौँ । पपुवा न्यूगिनी (पीएनजी) सँगको एकदिवसीय क्रिकेटमा नेपाल २ विकेटले विजयी भएको छ ।

१३५ रनको सामान्य लक्ष्य भएपनि नेपालले संघर्षपूर्ण रुपमा जित हात पारेको हो । राम्रो शुरुवाताका बिच मध्यक्रमका ब्याट्सम्यानको भरपर्दो ब्याटिङ नहुँदा नेपालले निकै संघर्ष गर्नुपर्‍यो ।

नेपालको जितमा रोहितकुमार पौडेलले ४१, आशिफ शेखले ३० र सोमपाल कामीले २२ रन (नटआउट) बनाए । अरु खेलाडीको ब्याटिङ भने सम्झनलायक रहेन । कुशल र आशिफले पहिलो विकेटका लागि ४६ रनको साझेदारी गर्दै टिमका लागि राम्रो शुरुवात गरेका थिए । तर कुशल १५ रन बनाएर पहिलो विकेटका रुपमा आउट भएपछि नेपाली ब्याट्सम्यानहरू लगालगजसो पबिलियन फर्केका थिए ।

कप्तान ज्ञानेन्द्र मल्ल र शरद भेषावकर समान ६-६ र कुशल मल्ल १ रनमा आउट भए । पवन सर्राफले रनको खातै खोल्न सकेनन् ।

यसअघि, ओमनमा पीएनजीले टस जितेर पहिले ब्याटिङ रोजेपछि बलिङ थालेको नेपालले उत्कृष्ट बलिङ गर्दै पीएनजीलाई ३३ औँ ओभरमा १३४ रनमै अलआउट गराएको थियो ।

नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट लिए । यस्तै कुशल मल्ल र विक्रम सोबले दुई दुई तथा सोमपाल कामीले एक विकेट लिए ।

एकदिवसीय खेलमा डेब्यू गरेका विक्रम सोबले २ विकेट लिए । उनी डेब्यु खेलको पहिलो बलमै विकेट लिँदै नेपालको तर्फबाट डेब्यू बलमै विकेट लिने पहिलो खेलाडी पनि बने ।

५ ओभर बलिङ गरेका उनले १ मेडन राख्दै मात्र २० रन दिएर २ विकेट लिए ।

यस्तै आजका सर्वाधिक सफल बलर सन्दीपले पूरै १० ओभर बलिङ गर्दै ३५ रन दिएर ४ विकेट लिए ।

यसैगरी, कुशलले ७ ओभर बलिङ गर्दै १ मेडनसहित १९ रन दिएर २ विकेट लिए । सोमपालले ७ ओभरमा ३७ रन दिएर १ विकेट लिए ।

नेपालका पवन सर्राफले २ ओभर बलिङ गर्दै ७ रन दिए भने २ ओभर नै बलिङ गरेका आरिफ शेखले १४ रन दिए । उनीहरु दुबैले विकेट भने लिन सकेनन् ।

पीएनजीका लेगा सियागाले सर्वाधिक ३० रन बनाएका थिए ।

विश्वकप क्रिकेट लिग(२ अन्तगर्गत त्रिकोणात्मक क्रिकेट खेल्न ओमनमा पुगेको नेपालले पीएनजीसँग २ वटा एकदिवसीय क्रिकेट खेल्ने कार्यक्रम अनुसार आज पहिलो खेल खेलेको हो । अर्को खेल पर्सि हुनेछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *