नेपाल युरोपियन युनियन फिल्म महोत्सवमा ३ नेपाली चलचित्र

काठमाडौँ । ‘नेपाल युरोपियन युनियन फिल्म महोत्सव’को दशौँ संस्करणमा ३ नेपाली चलचित्र देखाइने भएको छ । महोत्सवमा बुलबुल, आमा र सरिता नेपाली चलचित्र देखाइँदैछ ।

महोत्सव अगामी १ देखि ९ असोजसम्म आयोजना हुने बताइएको छ । यस संस्करणमा विभिन्न पुरस्कार जित्न सफल १४ युरोपियन मुलुकका १५ चलचित्र साथै अन्य २४ चलचित्रहरू प्रदर्शन हुनेछन् ।

महोत्सवमा विभिन्न पुरस्कार जित्न सफल ११ युरोपेली चलचित्रसमेत समावेश छन् । यीमध्ये दुईवटा चलचित्र नेपाली भाषामा सबटाइटल गरिएका छन् । विनोद पौडेल निर्देशित बुलबुल, धोन्डुप छिरिङ निर्देशित आमा खान्डा तथा सर्जियो बास्सो निर्देशित सरिता यसमा समावेश गरिएको छ ।

गणेश पाण्डे निर्देशित को-हसबेन्ड्स् तथा राजन कठेत निर्देशित स्प्लिट् एन्ड्स् छोटा चलचित्र र रादु कोर्निसिसुको ‘वर्ल्ड सिनेमा डकुमेन्ट्री कम्पिटिसन’ तथा सनडान्डस् फिल्म फेस्टिभलमा पहिलो पटक प्रदर्शन गरिएको अकासा माई होम नामक वृत्तचित्र पनि महोत्सवमा समावेश गरिएको छ ।

महोत्सवमा २३ वटा वन्यजन्तु संरक्षण, वातावरण तथा जलवायु परिवर्तनसँग सम्बन्धित चलचित्र समावेश छ । महोत्सवमा प्रदर्शन गरिने चलचित्रहरूको अलावा चलचित्र निर्माणका विविध पक्षहरूको बारेमा पनि तीनवटा कार्यक्रमहरूको आयोजना हुनेछन् । यसअन्तर्गत असोज ३ गते दिउँसो २ बजे युरोपेली तथा नेपाली चलचित्र निर्माणको कलात्मक तथा वित्तीय पक्षहरूबारे पहिलो अन्तरक्रियात्मक कार्यक्रम हुनेछ ।

त्यस्तै असोज ६ गते दिउँसो २ बजे चलचित्रमा महिला शीर्षकमा दोस्रो कार्यक्रम र  हरित चलचित्र निर्माण विषयमा शृङ्खलाको तेस्रो अन्तरक्रियात्मक कार्यक्रम हुने बताइएको छ ।

महोत्सवको अर्को आकर्षक कार्यक्रम भनेको व्यावसायिक चलचित्र निर्माताहरूको प्रतिभालाई सम्मान गर्नु हो । जसका लैङ्गिक समानता शीर्षकमा १५ चलचित्र प्राप्त भएका छन् । विजेता हुने चलचित्रले ५०० युरोको नगद पुरस्कार पाउनेछ र उक्त चलचित्रको निर्देशकलाई महोत्सवको अन्तिम दिन आफ्ना अनुभवहरू सुनाउनका लागि आमन्त्रित गरिनेछ ।

महोत्सवको ब्रान्ड एम्बेसडरको रूपमा अभिनेता दयाहाङ राईसमेत केही समयअघि चुनिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *