मैले फुटबल खेलेँ, मलाई बुबाले खेलाउनुभयो

काठमाडौँ । भनिरहनै पर्दैन, बाल्यकाल र खेल मोहबारे । खेल्न मन लाग्नेमात्र होइन‚ खेल्नैमात्र पाइयोस् भन्ने बेला । तर धेरै नखेल्न परिवारले गर्ने आग्रह, अनुरोध र चेतावनी । उठ्ने रिस । खेल्न नपाउँदाको झोँक । अनि निन्याउरो अनुहार । बा-आमाको आग्रह लत्याएर मात्र होइन‚ चेतावनी पन्छाएर लुकिलुकी‚ भागिभागी खेल्न जाने जोखिम उठाइरहनु बाल्यकालको एक परिचय जस्तै ।

त्यस्ता बा-आमा कमैमात्र होलान्‚ जसले ‘मनलाग्दी खेल’ भनेर छोराछोरीलाई निस्फिक्री छोडिदिउन् । र अझै कममात्र बा-आमा होलान्‚ जसले ‘ल खेल’ भनेर डोहोर्‍याएर मैदान पुर्‍याइदिउन् ।

‘अहिले त बरु खेलेरै पनि केही गर्न सकिन्छ भन्ने भयो, त्यसबेला पनि खेल भनेर प्रेरणा दिनु भनेको गज्जबै हो‚’ राष्ट्रिय फुटबल टिमका फरवार्ड तथा त्रिभुवन आर्मी क्लबका कप्तान भरत खवास आफ्ना बा र आफ्नो बाल्यकाल सम्झन्छन् ।
किनकि उनी त्यस्तै भाग्यमानी बालक थिए जो खेल्न भागेर जानु परेन । सानै देखि बुबाको हात समातेर खेल हेर्न जान पाए । खेल्न जान कहिल्यै रोकटोक भएन ।

२०५५-५६ सालतिर । भरत बालखै थिए । घर नजिकै दुईवटा खेल मैदान थिए‚ जहाँ फुटबल प्रतियोगिताहरू हुन्थे । अरुबेला पनि खेलहरू हुन्थे । खेल हेर्न र खेल्न पनि धेरैजना पुग्थे । जहाँ हुन्थे भरत पनि । बाका औँला समाएर भरत त्यहाँ पुगेका हुन्थे । उनका बुबा रविलाल खवास उनलाई मैदान लगेर खेल देखाउँदा दङ्ग हुन्थे । अनि भरत खेल हेर्न पाउँदा फुरुङ्ग । ‘मैले खेल हेर्न वा खेल्न भाग्नु परेन‚ घरमा ढाँट्नु पनि परेन । भरत भन्छन्‚ ‘सानैदेखि मलाई ग्राउन्डमा सधैँ बुबाले नै लिएर जानुहुन्थ्यो ।’

दैनिक ६० किलोमिटर साइकलमा
भरतका काकाहरु उत्तर खवास विकाश खवास पनि फुटबल खेल्थे । काठमाडौँको ग्यालेक्सी टिमबाट । भरतका बा फुटबलप्रति आशक्त थिए । तर‚ उनले भने फुटबल कहिल्यै खेलेनन् । कारण त थाहा छैन‚ तर उनी खेल हेर्न जाँदा एक्लै कहिल्यै गएनन् । सधैँ छोरालाई लिएर गए । बुबासँग मैदान जाँदा जाँदै फुटबलप्रतिको मोह जागेको भरत बताउँछन् ।

भरत ९ वर्ष भर्खर लाग्दै थिए । एन्फाले देशैभरिबाट १० वर्षमुनिका ‘फुटबल प्रतिभा’ छान्थ्यो । उनी गाउँबाट छानिएर थप परीक्षाका लागि विराटनगर जानुपर्ने भयो । गाउँका अरु साथी पनि थिए । तर, भरतलाई गाडी चढ्नै नहुने, बान्ता हुने । विराटनगरसम्म गाडी चढेर जान र खेल्न असम्भवजस्तै थियो ।

तर उनी निराश हुनुपरेन । किनभने उनीसँग बुबा थिए । बुबाले कुनै न कुनै जुक्ति निकाल्नेमा उनी ढुक्क थिए । बुबाले उनलाई घरबाट विराटनगरसम्म करिब ३० किलोमिटर (भित्री बाटोबाट) साइकलमै पुर्‍याइदिन थाले । विराटनगर पुगेर भरतले फुटबल खेल्थे । काठमाडौँबाट गएका छनोटकर्ताले हेर्थे । अनि भरत र उनका बा फेरि साइकलमै घर फर्किन्थे ।

यो क्रम सात दिनसम्म चल्यो । मेहनतको फल राम्रो आयो । भरत यू–१० को क्याम्पमा छनोट भए । उनी पोखराको लिट्टिल स्टेप स्कुलको छात्रावास पुगे । त्यहाँ बिहान-बेलुका प्रशिक्षण लिए । दिउँसो स्कूल पढे । जहाँ उनी दोस्रो ब्याच थिए । पहिलो ब्याचमा विकाश मल्ल, प्रदीप महर्जन, प्रलय राजभण्डारीहरु थिए । एक वर्षपछि उनको ब्याच नै त्यहाँबाट ल्याबरेटोरी स्कूल कीर्तिपुर आयो । त्यहाँ पनि बिहान-बेलुका प्रशिक्षण र दिउँसो पढाइ चल्थ्यो । भरतले पढाइ र फुटबललाई सँगै अघि बढाए । उमेर समूह हुँदै उनी राष्ट्रिय टिममा परे ।

भरतले राष्ट्रिय टिमको जर्सी लगाएर खेल्न थालेको पनि अब त १३ वर्ष भइसक्यो ।

९ वर्षमै घरबाट टाढा हुन दिएको अनुमति
मोरङबाट पोखरामा पुगेर फुटबल सिक्दै गर्दा उनलाई थाहै थिएन कि ‘म फुटबल किन सिक्दैछु ?’ न त कुनै सपनै थियो‚ फुटबल सिकेर केही गर्ने । छनोट भएपछि बुबाआमालाई गाउँघरमा सबैले बधाई दिएको र ‘अब केटाको भाग्य बन्यो’ भनेको भने झझल्को आइरहन्थ्यो । तर कस्तो भाग्य ? कसरी बन्यो ? केही थाहा थिएन ।

घर छाडेर पोखरा जानुपर्ने थाहा भएपछि उनी केही दुःखी पनि भए । ‘त्यसबेला म काका र काकीसँगै पोखरा गएको थिएँ, काका सँगै जाने भएपछि बुबा मसँगै जानुभएन‚’ भरतले हाँस्दै सम्झिए, ‘अहिले बुझ्दा काका काकी त्यसबेला पोखरा हनिमुनका लागि जानुभएको रहेछ, मलाई थाहै थिएन । काका काकीले भर्खरै बिहे गरेको मात्र थाहा थियो ।’

स्कूलमा हप्तामा एक पटक बुबाको फोन आउँथ्यो । हालखबर सोध्ने र राम्रो खेल्न र मेहनत गर्न सल्लाह दिएको भरतको कानमा अहिले पनि गुञ्जिन्छ । ‘मचाहिँ सधैँ बुबासँग रुन्थेँ, तर बुबा रोएको मैले थाहा पाइनँ, दुःख त पक्कै लाग्थ्यो होला ९ वर्षमै छोरा घर छोडेर बसेकोमा । तर बुबाले देखाउनुभएन । आमासँग खासै कुरा हुन्थेन । आमा एकदमै कमलो मनको हुनुहुन्छ‚ मसँग बोल्दा धेरै रुनुहोला भनेर बुबाले फोन बुथमा नलगेको हुनुपर्छ‚’ भरत भावुक भए ।

अहिले भरत नै बुबा बनिसकेका छन् । उनकी छोरी २ वर्ष पुग्नै आँटिन् । अहिले उनलाई सन्तान हुर्काउँदाको साह्रो‚ गाह्रो र खुसी दुवै थाहा भइसकेको छ । आफ्नो अनुभव उनी त्यसबेला बाआमाले आफ्ना लागि गरेको मेहनत र संघर्षसँग जोड्छन् । भन्छन्‚ ‘सम्झेर झनै गर्व लाग्छ बुबा-आमाप्रति’ ।

कठिन तालिमका बेला पनि राति छोरी नसुत्दा वा उसलाई ल्याक्टोजिन खुवाउन तीन चार पटकसम्म उठ्नु पर्दा अनि बिहान झिस्मिसेमै तालिमका लागि ब्यारेकमा सामेल हुनुपर्दा कम्ती गाह्रो हुने थिएन । तर‚ त्यस्ता सबै दुःख छोरी हाँसिदिँदा वा छोरीसँग खेल्दा भुलिने उनको अनुभव छ । घरिघरि सोच्छन्‚ ‘आफ्ना बा-आमालाई अहो ! मलाई अहिले एकछिन छोरी हेर्दा त यस्तो छ बाआमाले कति दुःख गर्नुभयो होला त्यो बेला ?’

भरतकी आमा बुधनीदेवी अहिले पनि भरतले खेल्ने खेल हेर्न खास्सै जान्नन् । विराट गोल्डकप र दुहवी गोल्डकपमा एक एक पटक छोराको खेल हेर्न पुगेकी आमा खेल्ने क्रममा मैदानमा लडेको छोरोलाई दुख्यो भनेर बेस्सरी रोएको उनले पछि थाहा पाए । ‘त्यति कमलो मनकी आमा ९ वर्षको कान्छो छोरोलाई छाडेर बस्न कसरी राजी हुनुभयो होला म छक्क पर्छु‚’ भरत भन्छन् । बाले भनेको आमाले नमानेको भएपनि आफू पोखरा जान नपाउने उनलाई थाहा छ । पोखरा जान नपाएको भए उनी फुटबलमै हुन्थे भन्ने कुनै ग्यारेन्टी छैन । त्यसका लागि बाले अग्रसरता नलिएको भए त सम्भावनै थिएन ।

बुबालाई छोरोले राष्ट्रिय टिमबाट फुटबल खेलोस् भन्ने थियो वा थिएन उनी भन्न सक्दैनन्‚ तर छोराले राम्रो फुटबल खेलोस् भन्ने चाहिँ अवश्य थियो । आमाले पनि खेल्छ‚ कान्छो छोरो सानै भएपनि म उसलाई टाढा पठाएर बस्छु भन्दिनाले त्यो सम्भव भएको उनी ठान्छन् ।

कत्तिको गाह्रो रहेछ, तपाईँ ९ वर्षकी छोरीलाई आफूबाट टाढा पठाउन सक्नुहुन्छ ? भन्ने प्रश्नमा
भरत भन्छन्‚ ‘अहिले बाबु भएर सोच्दा यो त निकै गाह्रो काम रहेछ । तैपनि अब छोरीको भविष्यको कुरा आयो भने जति दुःख लागेपनि सहनैपर्‍यो नि ।’

सेनाको अधिकृत बा-आमालाई उपहार
भरत राष्ट्रिय टिममा परेपछि बुबा आमा दङ्ग थिए । घर र गाउँमा मात्र होइन‚ वरपर पनि ‘भरतका बा-आमा’ भनेर सम्मान गर्नेहरू बढे । बाटो हिँड्नेहरूले पनि ‘भरत खवासको घर’ भनिदिँदा बा-आमा दङ्ग पर्थे । एकपटक कुनै कागज बनाउन बा-आमा सदरमुकाम गएका थिए । सरकारी कार्यालयमा कुरै कुरामा उनीहरू भरतका बा-आमा हुन् भन्ने थाहा भएपछि काम फटाफट भयो । कर्मचारीले पनि ‘तपाईँको छोराले देशको लागि खेलिरहेको छ’ भनेपछि बा-आमा फुरुङ्ग परेर घर फर्किए र छोरालाई फोन गरेर यो कुरा सुनाए । अब फुरुङ्ग हुने पालो भरतको थियो ।

फुटबल खेल्दा खेल्दै भरत नेपाली सेनाको सहायक सेनानी अर्थात् सेकेन्ड लेफ्टिनेन्टमा भर्ना भए । उनी अहिले उप सेनानी अर्थात लेफ्टिनेन्ट बनिसकेका छन् । योचाहिँ बुबा आमाका लागि ‘बोनस’जस्तो भयो ।

‘छोराले राष्ट्रिय टिमबाट खेलिरहेको भनेर खुसी त थियो नै‚ सँगै नेपाली सेनाजस्तो प्रतिष्ठित संस्थामा जोडिन पाउँदा बुबा आमाले एकदमै खुसी र गर्व मान्नुभयो‚’ भरत सुनाउँछन् ।

बा-आमासँगै बस्ने सपना
भरत श्रीमती र छोरीसँग काठमाडौँमै बस्छन् । बा-आमा मोरङको सुन्दर हरैँचामा बस्छन् । अब फेरि सँगै बस्ने भरतको सपना छ । ९ वर्षको हुँदा घर छाडेर हिँडेका भरत‚ त्यसपछि बा-आमाबाट सधैँ टाढै रहनुपर्‍यो । कहिले खेल त कहिले तालिम‚ कहिले क्याम्प त कहिले होस्टल‚ उनी घरबाट बाहिरको बाहिरै भए । त्यसैले अब बा-आमासँगै बस्ने उनको मन छ ।

भरतका बा ५७ र आमा ५२ वर्षका भए । तैपनि खेती किसानी गरेर बसेका छन् । उनका दाइ पनि नेपाली सेनामै छन् । ‘बुबा-आमालाई यता आउनू‚ सँगै बसौँ भन्दा आउदैनौँ‚ यतै बस्छौँ‚ हामीलाई यहिँ रमाइलो छ भन्नुहुन्छ‚’ भरत भन्छन्‚ ‘अब एउटा घर बनाएर उहाँहरूलाई यतै ल्याउने योजना छ । ‘बुबा-आमासँगै बस्न पाउँदा घरै बेग्लै हुन्छ नि !’ भरतले उज्यालो अनुहार बनाउँदै भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *