स्पेन र इंग्ल्यान्डको प्रभावशाली जित

काठमाडौँ । कतार विश्वकप २०२२ का लागि जारी युरोपियन छनोटमा स्पेन र इंग्ल्यान्डले फराकिलो जित निकालेका छन् । आइतबार राति भएको खेलमा स्पेनले जर्जियालाई ४-० गोल अन्तरले पराजित गर्दा इंग्ल्यान्डले पनि एन्डोरालाई समान ४-० ले पराजित गरेको हो ।

फिफा विश्वकप छनोट अन्तर्गतनै समुह ‘आई’ मा इंग्ल्यान्डले एन्डोरालाई ४-० ले पराजित गर्‍यो। आइतबार राति भएको खेलमा इंग्ल्यान्ड एन्डोरामाथि पूरा समय खेल आफ्नो पकडमा पारेको थियो । इंग्ल्यान्डको जितमा जेसे लिंगार्डले दुई गोल गर्दा कप्तान ह्यारी केन र बुकायो साकाले समान एक-एक गोल थपे । खेलको १८ औं मिनेटमा लिंगार्डले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए । खेलको ७२ औं मिनेटमा कप्तान केनले पेनाल्टीमा गोल गर्दै टिमको अग्रता दोब्बर बनाए ।

७८ औं मिनेटमा लिंगार्डले व्यक्तिगत दोस्रो गोल गर्दा इंग्ल्यान्ड ३-० को अग्रता बनायो । ८५ औं मिनेटमा साकाले गोल गर्दै इंग्ल्यान्डको ४-० को फराकिलो जित सुनिश्चित गरे । समूह आईमा रहेको इंग्ल्यान्डले १५ अंक जोडेको छ । इंग्ल्यान्ड समूहको शीर्ष स्थानमा रहेको छ। एन्डोरा ५ खेलमा ३ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

स्पेन शीर्ष स्थानमा
त्यस्तै अर्को खेलमा घरेलु मैदानमा स्पेनले जर्जियामाथि फराकिलो जित निकाल्यो । जोसे गयाले १४ औं मिनेटमा गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए । २५ औं मिनेटमा कार्लोस सोलेरले गोल गर्दा स्पेनको अग्रता दोब्बर बन्यो ।

पहिलो हाफमानै फराकिलो अग्रता बनाउने क्रममा ४३ औं मिनेटमा फेरान टोरेसले गोल गर्दै स्पेनलाई ३-० को अग्रता दिलाए । दोस्रो हाफमा स्पेनले थप एक गोल थप्यो। ६३ औं मिनेटमा पाब्लो सराबियाले गोल गर्दै स्पेनलाई ४-० को जित दिलाए ।

छनोटको समूह बी मा रहेको स्पेनको यो तेस्रो जित हो। स्पेनले ५ खेलमा १० अंक जोडेको छ । स्पेन शीर्ष स्थानमा पुग्यो। जर्जिया १ अंकका साथ पुछारमा छ । यो समूहको अर्को खेलमा कोसोभो र ग्रीसले १-१ गोलको बराबरी खेले ।

वेल्सका लगि बेलको ह्याट्रिक
फिफा विश्वकप युरो छनोट अन्तर्गतनै युरोपियन छनोटमा समूह ‘ई’मा वेल्सले बेलारुसलाई ३-२ ले पराजित गर्‍यो । आइतबार भएको खेलमा वेल्सले बेलारुसलाई पराजित गर्दा कप्तान ग्यारेथ बेल नायक बने ।

बेलारुसको घरेलु मैदानमा बेलले ह्याट्रिक पूरा गरेका थिए । उनले सातौं मिनेटमा पेनाल्टीमा गोल गर्दै टीमलाई सुरूवाती अग्रता दिलाए । २९ औं मिनेटमा भिटली लिसाकोभिचले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई १-१ गोलको बराबरीमा फर्काए । खेलको ३१ औं मिनेटमा पाभेल सेडकोले गोल गरेपछि घरेलु टिम २-१ ले विजयी रह्यो ।

२-१ ले पछि परेको वेल्सका लागि ६९ औं मिनेटमा बेलले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै खेल बराबरीमा ल्याए । उनले खेलको इन्जुरी समयमा ह्याट्रिक पूरा गर्दै वेल्सलाई ३-२ को रोमान्चक जित दिलाए । जितसँगै वेल्सले ३ खेलमा ६ अंक जोडेको छ । समूह ई को वेल्स तेस्रो स्थानमा रहेको छ।बेलारुस ३ अंक जोडेर चौथो स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *