वामदेवको ढुलमुल !

काठमाडौँ । ०५४ सालमा एमाले विभाजन गरेर माले गठन गरेका वामदेव गौतमबारे राधाकृष्ण मैनालीले आफ्नो पुस्तक ‘नलेखिएको इतिहास’ मा भनेका छन्, ‘उनी (गौतम) एकैदिनमा तीनथरी कुरा गर्थे । बिहान घरबाट निस्किँदा मालेका पक्षमा कुरा गर्थे । दिउँसो माओवादी बनिसक्थे । बेलुका दरबार पो ठिक हो कि भनेर अलमलमा पर्थे ।’

गौतमको राजनीतिक पृष्ठभूमि अझै यस्तै-यस्तै नै छ । गौतमलाई उनकै समकालीन नेता तथा विश्लेषकहरुले पनि ‘अस्थिर’ भएको टिप्पणी गर्ने गर्छन् । एमालेमा नेताहरु केपी शर्मा ओली र माधवकुमार नेपालबीच खटपट बढ्दै गर्दाका बखत पनि उनी घरी ओलीतिर त घरी नेपालतिर ढुलमुल गरिरहे । एमाले फुट्न नदिने भनेर एकता अभियान घोषणा गरेका उनीसँग एकाधबाहेक नेताको साथ नभएपनि उनी निराश भए । त्यसबेला फेरि उनको ढुलमुले बानीकै कारण धेरै साथीको साथ नपाएको टिप्पणी हुने गरेको थियो ।

गौतमले करिब अढाई दशकपछि शुक्रबार पुनः एमाले परित्याग गरेका छन् । २०५४ सालमा एमाले विभाजन गरी माले बनाउन अगुवाइ गरेका उनी ०५८ सालमा एमालेमै फर्किएका थिए । ०७४ सालको आम चुनावमा आफ्नो पार्टी एमालेका प्रायः नेताहरुले देशभरबाट उल्लासमय जित हासिल गर्दैगर्दा गौतमले भने पराजय भोग्नुपर्‍याे । आफूलाई दलभित्रकै साथीहरु (ओली पक्ष) ले हराएको भनेर चित्त मात्र दुखाएनन् छानबिन हुनुपर्ने कुरा पनि उठाए । त्यसपछि संघीय संसद्सम्म पुग्न अनेकन् जुक्ति खोजेका गौतम अन्ततः राष्ट्रिय सभा सदस्य बने । पार्टीभित्र विवाद हुँदा उनी बेलाबेला प्रधानमन्त्री बनाइने पात्रका रुपमा समेत चर्चामा आए ।

एमालेदेखि एमालेसम्म
गौतमले दासढुङ्गा घटनापछि एमालेको संगठन विभाग प्रमुखको महत्वपूर्ण जिम्मेवारी पाए । त्यसपछि उनी प्रायः गरेर पार्टी र सरकारका महत्वपूर्ण भूमिकामा रहँदै आए । राजीनामा दिनुअघि उनी एमालेको उपाध्यक्ष थिए ।

०५१ सालको मध्यावधि निर्वाचनमा तत्कालीन एमाले ८८ सिट जित्दै प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल बन्न सफल भयो । संसद्को ठूलो दलको हैसियतले अल्पमतको सरकारसमेत बनायो । तत्कालीन एमाले अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री बने, महासचिव माधवकुमार नेपाल उपप्रधानमन्त्री बन्दा गौतमलाई पार्टीको विधानमै नभएको उपमहासचिव पदको व्यवस्था गरेर पार्टीको कामको जिम्मेवारी दिइएको थियो ।

एमाले अध्यक्ष ओली माओवादीका चर्का आलोचक हुँदा बामदेव माओवादीप्रति नरम थिए । उनले एमाले–माओवादी एकतामा पनि सुत्रधारको भूमिका निर्वाह गरे । पार्टी एकतापछि भने उनी सचिवालयमै सीमित बने । ०५३ मा संसद्बाट महाकाली सन्धि अनुमोदन गर्ने विषयलाई लिएर एमालेमा विवाद चर्कियो । उक्त विवादमा गौतमलगायतका नेताहरू सन्धिको विपक्षमा उभिए । ओली पक्ष सन्धिको समर्थक भयो । विवाद बढ्दै गएपछि वामदेवले ०५४ सालमा एमाले विभाजन गरेर माले गठन गरे ।

कांग्रेस र एमाले मिलेर बनेको सरकारले ०५६ सालमा आम चुनाव गरायो । प्रतिनिधि सभाका २०५ सिटमा भएको निर्वाचनमा मालेले एक सिट पनि जित्न सकेन । बरु त्यसबेला सशस्त्र विद्रोहरत माओवादीका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग संवादमा रहेका उनलाई माओवादी प्रवेश गर्न खोजेको हल्ला फैलियो । पछि पुष्टि भयो कि– त्यो हल्ला माओवादीकै कुनै धारले चलाएको रहेछ । त्यसपछि माले झनै कमजोर बन्दै गयो । अन्ततः गौतम ०५८ सालमा एमालेमै फर्किए । एमालेमा प्रवेश गरेको २० वर्षपछि उनले पुनः एमाले परित्याग गरेका छन् ।

अब कता ?
२५ वर्षपछि पुनः एमालेबाट दोस्रो पटक अलग बनेका गौतम अब कता जान्छन् ? यसबारे ठोस निर्णय उनी आफैंले गर्लान् ।

यद्यपि उनका निकटस्थहरुकाअनुसार उनी माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) तिर जाने करिब करिब निश्चित जस्तै छ । यसको छनक दिँदै गौतमले ‘एकीकृत समाजवादीबाट जबज नहटोस्’ भनिरहेका थिए भने अध्यक्ष नेपालले पनि जबज नछोड्ने बताउँदै आएका छन् । त्यसो त उनले एमालेभित्रै बसेर ओलीसँग संघर्ष गरेर पार नलाग्ने निष्कर्षमा पुगेको भने निकै भएको उनी निकटहरु बताउँछन् ।

एकीकृत समाजवादीका नेता मेटमणि चौधरी गौतम एकीकृत समाजवादीमै आउने कुरा भइसकेको दाबी गर्छन् । ‘उहाँ अब आउने यतै हो,’ नेता चौधरीले मकालुखबरसँग भने, ‘हाम्रो कुराकानी पनि भइसकेको छ । हुन त शुरुदेखि नै उहाँ हामीसँगै हुनुहुन्थ्यो । तर बीचमा केही कुराहरु आए । अब उहाँले एमाले त्याग्नुभएको छ । उहाँ यतै आउँदै हुनुहुन्छ ।’

उहाँ आउँदा कुन पद दिन्छ पार्टीले ? भन्ने प्रश्नमा नेता चौधरी भन्छन्, ‘उपाध्यक्ष वा सहअध्यक्षमध्ये एक हुनसक्छ । त्यो खालको कुरासमेत भएको छ ।’ सांसद भएको खण्डमा संसदीय दलको नेतासमेत पार्टीले बनाउन सक्ने दाबी नेता चौधरीको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *