नेम्वाङ्गको ठट्टाः

‘सर्वोच्चले ७० देखि ७५ सदस्यीय मन्त्रिपरिषद् बनाउन पाउने पनि भन्नुपर्थ्यो’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ्गले सरकारले मन्त्रिपरिषद् विस्तार गर्न नसक्दा समस्या चुलिएको बताएका छन् । शुक्रबार (आज) काठमाडौंमा आयोजित पेशागत तथा प्रगतिशील कानून व्यवसायी संगठन नेपाल (पीपीएलए) को कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेम्वाङ्गले यस्तो बताएका हुन् । ‘देशमा सर्वोच्च अदालतले जन्माइदिएको सरकार छ,’ नेम्वाङ्गले भने, ‘जन्माइदिएको पनि झन्डै २ महिना हुनै लाग्यो । तर, एउटा मन्त्रिपरिषद्सम्म गठन गर्न सकेको छैन गठबन्धनको सरकारले ।’

गठबन्धनलाई मन्त्रिपरिषद् विस्तार गर्दा एमाले फुटाउन ल्याएको अध्यादेशले आफैंलाई फुटाउने डर भएको नेता नेम्वाङ्गको भनाइ थियो । ‘एमाले फुटाउन ल्याएको अध्यादेशले आफैंलाई फुटाउँछ भन्ने डर छ उहाँहरुलाई । त्यसैले अध्यादेश निस्क्रिय नभइकन उहाँहरुले मन्त्रिपरिषद् नै विस्तार गर्नुहुन्न, हेर्दै जानुस् न,’ नेता नेम्वाङ्गले भनेका छन् ।

सर्वोच्चले प्रधानमन्त्री बनाइदिँदै गठबन्धनलाई सजिलो हुनेगरी बनाइदिएको नेता नेम्वाङ्गको भनाइ थियो । ‘सर्वोच्चले नै अन्य पार्टीबाट मन्त्री तान्न पाउँछस् भनेर भनिदिएको छ,’ नेता नेम्वाङ्गले भने, ‘सजिलो बनाइदिएको छ । अझै एउटा कुरा छुटेको छ । ५६ दलसम्बद्ध गठबन्धनलाई ७० देखि ७५ सदस्यीय सरकार गठन गर्न पाउँछस् भनेर भन्नुपर्थ्यो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *