हराएको ३३ वर्षपछि लोकुनको उद्धार, भाषासमेत भुले

धनगढी । कैलालीको भजनी नगरपालिका वडा नम्बर ७ टिकलीगढका लोकेन्द्र भनिने लोकुन डगौरा थारु ३३ वर्ष अघि भारतको सिम्लामा काम गर्न गए । काम गर्न गएको केही समयपछि उनी परिवारको सम्पर्कबाट विच्छेद भए । उनको अवस्था अज्ञात भयो । परिवारले उनको खोजी पनि गर्यो, तर भेटाउन सकेन । लामी समयसम्म अज्ञात रहेपछि परिवारले उनी फेला पर्ने आशा पनि मार्‍याे ।

लोकुन सिम्ला जाँदा उनका छोरा रामबहादुर जम्मा चार वर्षका मात्रै थिए । उनीपछि अरु दुई भाई पनि थिए । घरको कमाउने मान्छेनै पराई देशमा बेपत्ता भएपछि उनीहरुलाई खान लाउन समस्या भयो । जसोतसो उनकी आमाले तीन छोराको पालनपोषण गरिन् । तर उनी धेरै समय बसिनन् । साना दुई छोरा साथमा लिएर अर्कैसंग विहे गरेर हिँडिन् । रामबहादुर र उनका बाजे मात्रै रहे घरमा । घरमा खान लाउन उस्तै समस्या । रामबहादुरले दुःखमाथि दुःख पाए ।

केही वर्षपछि बाजेले पनि संसार छोडे । राम एक्लै भए । उनी आफन्तको शरणमा पुगे । पछि ठूलो भएपछि मात्रै उनले आफ्नो बुवा हराएको थाहा पाए । उनी आफ्नो घरमा फर्किए । घरजम गरेर बसे । रामले आफू जान्नेबुझ्ने भइसकेपछि पनि बुवाको बारेमा चासो राखे । तर लामो समयदेखि बेपत्ता भएका बुवा भेटिनुहुन्न भन्ने थियो उनलाई ।

समय बित्दै गयो । तर बुवा हराएको ३३ वर्षपछि उनलाई अचानक आफ्नो बुवा फेला परेको खबर पुग्यो । उनको खुशीको सीमा रहेन । अनुहारसम्म याद नभएका बुवा भेटिएको खबरसंगै त्यसैलाई पुष्टि गर्न प्रहरी पनि गाउँमै पुग्यो, घरसम्मै पुग्यो। प्रहरीले उनको बुवाको बारेमा सोधी खोजी गर्‍याे । उनी र उनका गाउँका मानिसहरुले भने अनुसार प्रहरीले रामबहादुरका बुवा उनै लोकुन डगौरा भएको ‘कन्फम’ गर्यो र नेपाल ल्याउने तयारी भयो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले ३३ वर्ष अघि भारतको सिम्लाबाट हराएका ६२ वर्षीय लोकुन भारतको विहार राज्य गया जिल्ला बाराचट्टीमा फेला परेका बताए । भदौ ९ गते प्रहरी परिसर टेकु काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक अशोक सिंहले गृह मन्त्रालयबाट लोकुन भारतको विहारमा फेला परेको भन्ने खबर कैलाली प्रहरीलाई पठाएका थिए ।

उनले भारतीय पक्षसंग समन्वय गरेर उद्धार गर्न जानकारी गराए बमोजिम कैलालीका प्रहरी प्रमुख एसपी अधिकारी भारतको विहार राज्य गया जिल्ला बाराचट्टीका सन्दिप यादवमार्फत लोकुनसंग सम्पर्क स्थापित गर्न सफल भए ।

सन्दिपले भदौ ९ गते बेलुकी ६ बजे गयास्थित नेशनल हाइवेमा फेला पारे । सन्दिपले लोकुनलाई आफ्नो घरमा जाउँ भन्दा उनी डराएका थिए । प्रहरीका अनुसार सन्दिपले जाउँ भन्दा उनले बरु ५० रुपैयाँ लैजानुहा्ेस् म जाँदैन पनि भनेका थिए । तर सन्दिपले फकाएर आफ्नो घरमा ल्याई नेपालमा सम्पर्क गरे । तर लोकुन फेरि बिहानै घरबाट भागे । उनले फेरि खोजी गरेर फेला पारेर घरमा ल्याएर राखे ।

कैलाली प्रहरीले लोकुनको घर ठेगाना र आफन्तको यकिन गरेपछि भारतीय प्रहरी र सन्दिप यादवको सहयोगमा जिल्ला प्रहरी कार्यालय पर्सामा हस्तान्तरण गरियो । उनी पर्सा प्रहरीको सम्पर्कमा आइसकेपछि कैलाली प्रहरीले उनका छोरा रामबहादुरलाई पर्सा पठाएर त्यहाँबाट कैलाली ल्याए । कैलाली ल्याएपश्चात कैलाली प्रहरीले बिहीबार पत्रकार सम्मेलन गर्दै लोकुनलाई उनका छोरा र आफन्तको जिम्मामा लगाएको छ ।

एसपी अधिकारीका अनुसार लोकुनले आफ्नो भाषासमेत भुलिसकेका छन् । उनी आफ्नो थारू भाषा पनि बोल्दैनन् । हिन्दी मात्रै बोल्छन् । सबै कुरा स्मरण र अभिव्यक्त गर्ने अवस्थामा छैनन् । तर प्रहरीले उनी भारतमा हुँदा सन्दिपको सहयोगमा भिडियो च्याटमा कुराकानी गर्दा उनले आफ्नो घर कैलालीको टीकापुरको मनुवा आसपासमा हो भनेर बताएका थिए । त्यसपछि प्रहरी उनको फोटोसहित टीकापुर भजनी क्षेत्रमा घर तथा आफन्त पत्ता लगाउन खटिएको थियो ।

आफ्नो जन्मदिने बुवा पत्ता लागेर आफ्नै अगाडि आएपछि रामबहादुरको खुशी सीमा छैन । बुवालाई लिन उनी परिवारसहित जिल्ला प्रहरी कार्यालय पुगेका थिए । लामो समयदेखि बेपत्ता रहेका लोकुनलाई पत्ता लगाएर परिवारलाई जिम्मा लगाउँदा खुशी महसुस भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *