रोनाल्डोले गरे कीर्तिमानी गोल

काठमाडाैँ । पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले बिहीबार अन्तरराष्ट्रिय फुटबलमा १ सय ११औं गोल गर्दै नयाँ विश्व कीर्तिमान रचेका छन् । विश्वकप छनोट चरणअन्तर्गत घरेलु मैदानमा आयरल्यान्डविरुद्धको नाटकिय खेलमा पोर्चुगलले २-१ को जित निकाल्दा दुबै गोल रोनाल्डोका नाममा रह्यो ।

उनले एक गोल गरेसँगै अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान कायम गर्न सफल भए । रोनाल्डोले हारतर्फ उन्मुख पोर्चुगलको संकट टार्दै इरानी स्ट्राइकर अली दाईको नाममा रहेको सर्वाधिक अन्तरराष्ट्रिय गोल गर्ने कीर्तिमानलाई पछि पारे । पहिलो हाफमा पेनाल्टीको अवसर गुमाएका रोनाल्डोले दुवै गोल हेडमार्फत गरेका थिए । ८९औं मिनेटमा टिमका लागि तथा ब्यक्तिगत पहिलो गोल गर्दै अली दाईको कीर्तिमान पछि पार्न रोनाल्डो सफल रहे ।

उनले यसै वर्ष सम्पन्न युरो २०२० मा फ्रान्सविरुद्ध दुई गोल गर्दै सन् १९९३ देखि २००६ को बीचमा इरानी खेलाडी अली दाईले बनाएको सर्वाधिक गोलकर्ताको कीर्तिमानसँग बराबरी गरेका थिए । टिमलाई जित दिलाउन रोनाल्डोले अतिरिक्त समयमा थप एक गोल गरे । त्यसअघि खेलको १५औं मिनेटमा उनले पेनाल्टीको अवसर सदुपयोग गर्न सकेका थिएनन् । ३६वर्षे रोनाल्डोको प्रहारलाई आइरिस गोलकिपर गाभिन बाजुनुले रोकेका थिए ।

पोर्चुगलबाट रोनाल्डोको यो १ सय ८०औं अन्तर्राष्ट्रिय खेल हो । सन् २००३ मा काजकिस्तानविरुद्धको खेलबाट ‘डेब्यु’ गरेका रोनाल्डोले पहिलो अन्तर्राष्ट्रिय गोल सन् युरो २००४ मा ग्रिसविरुद्ध गरेका थिए । विश्व फुटबलमा दुई खेलाडी अली दाई र रोनाल्डोले मात्र सय गोलको कोसेढुंगा पार गरेका छन् ।

जर्मन क्लब बायर्न म्युनिख र हार्था बर्लिनका तत्कालीन स्टार अली दाईले १ सय ४९ अन्तर्राष्ट्रिय खेलमा यो आँकडा पार गरेका थिए । केही समय अघि सम्पन्न युरोपियन च्याम्पियनसिपमा पनि चार खेलबाट सर्वाधिक पाँच गोल गर्न रोनाल्डो सफल भए । उनी युरोको फरक पाँच संस्करणमा गोल गर्ने खेलाडी समेत बने । रोनाल्डो च्याम्पियन्स लिगका पनि सर्वाधिक गोलकर्ता हुन् । जहाँ उनले १ सय ३४ गोल गरेका छन् । जुन लियोनल मेसीको भन्दा १४ गोल बढी हो ।

पोर्चुगल जितसँगै विश्वकप छनोट अन्तर्गत समुह ‘ए’ मा शीर्ष स्थानमा पुग्न सफल रह्यो । यो समूहमा सर्वाधिक चार खेल खेलेको पोर्चुगलले १० अंक बटुलेको छ । पोर्चुगलसँग जित नजिक पुगेर पनि पराजय बेहोरेको आयरल्यान्डले तीन खेलसम्म जित निकाल्न सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *