बागमतीका सामाजिक विकासमन्त्री शर्माद्वारा राजीनामा

अष्टलक्ष्मी नेतृत्वको सरकार ढल्ने

काठमाडौं । बागमती प्रदेशका सामाजिक विकास मन्त्री कृष्णप्रसाद शर्मा खनालले पदबाट राजीनामा दिएका छन् । मकालु खबरसँग आफूले पदबाट राजीनामा दिएको बताउँदै खनालले भने, ‘हिजो अष्टलक्ष्मी कमरेडलाई मुख्यमन्त्री बनाउनका लागि मैले पनि योगदान गरेँ । तर, समयकालले उहाँ नेतृत्वको मन्त्रिमण्डलमा रहिरहन सकिनँ ।’

शर्माले मंगलबार (हिजो) नवगठित नेकपा (एकीकृत समाजवादी) रोजेका थिए । माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा उनी केन्द्रीय सदस्य छन् । शाक्य मुख्यमन्त्री बनेलगत्तै शर्मालाई मन्त्री नियुक्त गरेकी थिइन् ।

शर्मा पहिलेदेखि नै नेपाल पक्षमा उभिएका नेता हुन् । हिजो बागमती प्रदेशका १२ जना एमाले सांसदले पार्टी परित्याग गरी एकीकृत समाजवादीका पक्षमा सनाखत गरेका थिए । १२ जना सांसदले नयाँ दल रोजेसँगै एमालेको एकल बहुमतमा मुख्यमन्त्री बनेकी शाक्य अल्पमतमा परेकी छन् ।

अष्टलक्ष्मी नेतृत्वको सरकार ढल्ने

एमालेबाट फुटेर बनेको नेकपा एसले बागमती प्रदेश सरकारको नेतृत्वमा दाबी गरेको छ । दाबी अनुसार भए यो नै नेकपा एसको पहिलो सरकार हुनेछ । एमालेका १२ सांसदले नेकपा एस रोजेपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् । शाक्य अल्पमतमा परेसंगै नेकपा एसबाट मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दाबी प्रस्तुत गरेका हुन् ।

एमाले सांसदहरु राजेन्द्र पाण्डे, राजेन्द्रमान श्रेष्ठ, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाईं, रमा आले मगर, बसन्त मानन्धर, कुसुम कार्की, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, मुनु सिग्देल, माधव पौडेल र कृष्ण खनालले नेकपा एस रोजेका छन् ।

१०९ सदस्यीय प्रदेशसभामा एमालेका ५६ सांसद थिए । अब यो संख्या घटेर एमालेको सांसद संख्या ४४ मा झरेको छ । बागमती प्रदेशमा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २३, विवेकशील साझा पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीका २-२ जना र जनता समाजवादी पार्टीका १ जना सांसद छन् ।

सरकार बनाउन ५५ सांसद आवश्यक पर्छ । यो संख्या सत्तारुढ गठबन्धन कांग्रेस, माओवादी केन्द्र, नेकपा एस र जसपासंग छ । एकल बहुमत भएकाले २ भदौमा डोरमणि पौडेलले राजीनामा दिएपछि शाक्य मुख्यमन्त्री बनेकी थिइन् । तर, शाक्यले २२ गतेसम्म नेकपा एस नरोजे एक महिना भन्दा बढी मुख्यमन्त्री पदमा बस्न नपाउने पक्का भएको छ । सरकार ढले पनि बागमति प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो दलमा भने कायमै रहनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *