नेकपा एस

गण्डकीमा शून्य र सुदूरपश्चिममा एमालेभन्दा ठूलो

एमाले सबैतिर प्रतिपक्षी !

काठमाडौं । नेकपा एमाले विभाजन भएपछि गत निर्वाचनमा एमालेबाट निर्वाचित प्रदेश सांसदहरुले दल रोज्ने क्रम शुरु भएको छ । योसंगै प्रदेशहरुमा दलको हैसियतमा परिवर्तन आएको छ । हाल बाग्मती र एक नम्बर प्रदेशमा एमाले नेतृत्वको सरकार छ । यी दुबै सरकार ढल्ने निश्चित भएको छ । र नेकपा एमाले संघदेखि प्रदेशसम्म सबैतिर प्रतिपक्षी भूमिकामा पुग्ने प्रष्ट भएको छ ।

एक नम्बर प्रदेश : एमाले नै ठूलो दल
गत निर्वाचनमा प्रदेश नम्बर एकमा एमालेबाट ५१ जना सांसद निर्वाचित भएका थिए । एमाले विभाजन भएर बनेको नेकपा एसमा १० जना सांसद खुलेका छन् । एमालेका सांसदहरु राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बु, गणेश काङ्माङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापा नयाँ पार्टीको पक्षमा खुलेका हुन् ।

योसंगै हालको प्रदेश नम्बर एक सरकार अल्पमतमा परेको छ । र एमाले बाहेकको गठबन्धन बनेका कारण सरकार ढल्ने निश्चित भएको छ । एमाले नेतृत्वको सरकार ढले पनि एमाले प्रदेश नम्बर एकमा ठूलो दलका रुपमा भने कायम रहनेछ । मंगलबारसम्मको तथ्याङ्क अनुसार एमाले सांसदको संख्या ४१ मा झरेको छ ।

यस अनुसार ९२ सदस्यीय प्रदेश एक सभामा अब एमाले ४१, नेपाली कांग्रेस २१, माओवादी केन्द्र १५, नेकपा एस १० र जनता समाजवादी पार्टीका तीन सांसद हुन्छन् । राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक-एक सांसद छन् । ९३ सदस्यीय प्रदेश सभामा माओवादी केन्द्रबाट निर्वाचित टंक आङबुहाङ एमाले प्रदेश गर्दा पदमुक्त भएपछि प्रदेशसभा ९२ सदस्यीय भएको हो ।

प्रदेश नम्बर दुई : जसपा सरकार निरन्तर
प्रदेश नम्बर २ मा जसपा नेतृत्वको सरकार छ । जसपा पनि विभाजित भएको छ । तर, पदेश दुईमा जसपाको सरकारले नै निरन्तरता पाउने अवस्था छ । दुई नम्बर प्रदेशमा जसपाको ५४ सिट छ । जसपा विभाजित भएर लोसपा बनेको छ ।

लोसपामा कति जान्छन् भन्ने यकिन भइसकेको छैन । आधा नै सांसद लोसपामा गए भने पनि जसपा, कांग्रेस, माओवादी केन्द्र, नेकपा एसको संयुक्त सरकार कायम रहन संख्या पुग्ने देखिन्छ । गत निर्वाचनमा एमालेले २१ सिट जितेको थियो । त्यसमध्ये नेकपा एसमा कति जान्छन भन्ने यकिन भएको छैन । प्रदेश दुईमा कांग्रेसले १९, माओवादीले ११ सिट र नेपाल संघीय समाजवादी पाटीको एक जना सांसद छन् ।

बागमती प्रदेश : नेकपा एसको पहिलो सरकार !
एमालेबाट फुटेर बनेको नेकपा एसले बागमती प्रदेश सरकारको नेतृत्वमा दाबी गरेको छ । दाबी अनुसार भए यो नै नेकपा एसको पहिलो सरकार हुनेछ । एमालेका १२ सांसदले नेकपा एस रोजेपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् । शाक्य अल्पमतमा परेसंगै नेकपा एसबाट मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दाबी प्रस्तुत गरेका हुन् ।

एमाले सांसदहरु राजेन्द्र पाण्डे, राजेन्द्रमान श्रेष्ठ, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाईं, रमा आले मगर, बसन्त मानन्धर, कुसुम कार्की, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, मुनु सिग्देल, माधव पौडेल र कृष्ण खनालले नेकपा एस रोजेका छन् ।

१०९ सदस्यीय प्रदेशसभामा एमालेका ५६ सांसद थिए । अब यो संख्या घटेर एमालेको सांसद संख्या ४४ मा झरेको छ । बागमती प्रदेशमा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २३, विवेकशील साझा पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीका २-२ जना र जनता समाजवादी पार्टीका १ जना सांसद छन् ।

सरकार बनाउन ५५ सांसद आवश्यक पर्छ । यो संख्या सत्तारुढ गठबन्धन कांग्रेस, माओवादी केन्द्र, नेकपा एस र जसपासंग छ । एकल बहुमत भएकाले २ भदौमा डोरमणि पौडेलले राजीनामा दिएपछि शाक्य मुख्यमन्त्री बनेकी थिइन् । तर, शाक्यले २२ गतेसम्म नेकपा एस नरोजे एक महिना भन्दा बढी मुख्यमन्त्री पदमा बस्न नपाउने पक्का भएको छ । सरकार ढले पनि बागमति प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो दलमा भने कायमै रहनेछ ।

गण्डकी प्रदेश : नेकपा एस शून्य !
गण्डकी प्रदेशमा एमाले फुटेर बनेको नेकपा एसको उपस्थिति शून्य देखिएको छ । पहिले माधव नेपाल पक्षमा रहँदै आएका सांसद इन्द्रलाल सापकोटाले एमालेमै रहने निर्णय लिएका कारण नेकपा एसको उपस्थिति शून्य हुन पुगेको हो । तर, एमाले सांसदलाई नेकपा एस रोज्ने समय भने अझै बाँकी छ ।

गण्डकी प्रदेश सभामा एमालेको संसद संख्या २७ छ । ६० सदस्यीय प्रदेश सभामा कांग्रेसका १५, माओवादीका १२ र जनमोर्चा र जसपाका दुई सांसद छन् । एक जना (दीपक मनाङे) स्वतन्त्र सांसद छन् । जसपाका एक जना सांसद निलम्बित भइसकेका छन् । गण्डकी प्रदेशमा एमालेको सरकार हटाएर कांग्रेसले यसअघि नै सरकार बनाइसकेको छ ।

लुम्बिनी र कर्णाली प्रदेश : नेकपा एसको प्रयास जारी
एमालेबाट निर्वाचित लुम्बिनी प्रदेश सभा सदस्य रमा घर्तीले नेकपा एस रोजेकी छन् । उनी लुम्बिनी प्रदेशसभामा नेकपा एसमा एमालेको पहिलो सांसद हुन् । नेकपा एसका नेताहरुका अनुसा थप एक दुई जनालाई नेकपा एसमा तान्ने प्रयास जारी छ ।

गत निर्वाचनमा एमालेबाट ४१ (३८ एमाले र ४ जना सूर्य चिन्हमा) जना सांसद निर्वाचित भएका थिए । सूर्य चुनाव चिह्न लिएर निर्वाचित चार जना अहिले एमालेसंग छैनन् । दिर्घनारायण पाण्डेले कांग्रेसमा प्रवेश गरे । नेकपाबाट निर्वाचित बिमला वलीले पनि माओवादी केन्द्र रोजेकी छन् । यस हिसाबले लुम्बिनी प्रदेशमा एमालेको संसद संख्या ३६ मा झरेको छ । ८० सदस्यीय प्रदेशसभामा माओवादीका १९ जना (बिमला वलीसहित) छन् । कांग्रेसको १९ र जसपाको चार जना छन् । गत चुनावमा जसपाबाट ६ जनाले जितेका थिए । तर, तत्कालिन शंकर पोरखलेको सरकारमा सहभागी भएपछि जसपाले ती जनालाई कारबाही गर्यो र एक जनालाई समानुपातिकमा ल्याइसकेको छ ।

यसैगरी, कर्णाली प्रदेशमा पनि नेकपा एसले आफ्नो पक्षमा सांसदहरु तान्ने प्रयास जारी राखेको छ । अहिलेसम्म नेकपा एसमा देवी वली र चन्द्र शाही खुलेका छन् । गत निर्वाचनमा एमालेबाट २० जना निर्वाचित भएका थिए । त्यसमध्ये ४ जना निलम्बनमा परिसकेका छन् । बाँकी १६ मा २ जना नेकपा एसमा जाँदा एमालेको सांसद संख्या १४ मा झर्नेछ ।

४० सदस्यीय प्रदेश सभामा माओवादीको १२ जना सांसद छन् । माओवादीका एक जना धर्मराज रेग्मी कारबाहीमा परेका कारण माओवादीको संसद् संख्या १२ मा झरेको हो । यस्तै कांग्रेसको कांग्रेसको ६ र राप्रपाको एक सांसद छन् । हाल प्रदेशसभा ३५ सदस्यीय छ । माओवादी केन्द्रले सकारको नेतृत्व गरिरहेको छ ।

सुदूरपश्चिम प्रदेश : एमाले भन्दा नेकपा एस ठूलो
नेकपा एमालेका १० सुदूरपश्चिम प्रदेशसभा सदस्यले नेकपा एस रोजेका छन् । तीन जनाको कागजपत्र नपुगेकाले सनाखत हुन सकेको छैन । एमाले सांसदहरु दुर्गा विक, पूर्णा जोशी, माया भट्ट, अम्मरबहादुर साउद, कुलवीर चौधरी, मना साउद, सुशीला बुढाथोकी, बलबहादुर सोडारी, लालबहादुर खड्का र चुनकुमारी चौधरीले नेकपा एस रोजेका हुन् ।

सनाखतका लागि निर्वाचन आयोगको कार्यालयमा पुगेको भएपनि सांसदहरु दीर्घ सोडारी, तारा लामा तामाङ र अर्चना गहतराजको कागजपत्र नपुगेकाले मंगलबार सनाखत हुन सकेन । योसंगै सुदूरपश्चिम प्रदेशमा नेकपा एसको सांसद संख्या १३ पुग्नेछ । कांग्रेसको १२, एमालेको घटेर १२ (सभामुखसहित) हुनेछ । अर्थात, एमाले भन्दा नेकपा एस ठूलो दल बन्नेछ । माओवादीको १३, जसपाको २ छन् । ५२ सदस्यीय हो ।

५३ जना प्रदेश सभासदस्य रहेको सुदूरपश्चिम प्रदेशमा माओवादीबाट एमाले गएका झपट बोहरालाई कारबाही गरेपछि ५२ सदस्यीय भएको हो । १० जना एमाले सांसदले नेकपा एस रोजेपछि सुदूरपश्चिममा नेता भीम रावललाई पनि धक्का लागेको छ । सुदूरपश्चिम प्रदेशमा भीम रावलको पकड रहँदै आएको मानिन्छ र एमालेमा पनि उनको पकड मानिन्छ । तर, रावल पक्षमैरहेका सांसदहरु पनि नेकपा एसमा लागेपछि उनलाई धक्का लागेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *