विराटनगरको रथयात्रा कोरोनाले ‘खटयात्रा’मा परिणत

विराटनगर । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्रा यो वर्ष खट यात्राको रुपमा निकालिएको छ । विराटनगर- १ तीनपैनीमा रहेको राधाकृष्ण मन्दिरबाट मंगलबार परम्परागत खटयात्रा निकालेर नगर परिक्रमा गरिएको हो । कोरोनाका कारण भिडभाड हुने डरले गाडीमा खटयात्रा निकालिएको हो ।

हरेक वर्ष भव्य रथयात्रा प्रदर्शन हुने गरेकोमा भीडभाड नगरी खटयात्रा निकालेर परम्परालाई निरन्तरता दिइएको मूल आयोजक समितिले जनाएको छ ।

यो पनि : राधाकृष्ण रथयात्रा प्रभावित, खटबाट बजार परिक्रमा गराइँदै

विभिन्न झाँकीसहितका दर्जनौँ गाडीहरू रथसँगै परिक्रमा गराइएको खटयात्रामा सीमित भक्तजन सहभागी थिए । प्रदेश १ का विभिन्न जिल्ला मोरङ, सुनसरी तथा भारतको अररीया जिल्लाबाट रथयात्रामा सहभागी तथा अवलोकनका लागि आउने चलन छ । यस पटक कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरेर रथयात्रा आयोजक समितिले परम्परागत खटयात्रामात्र गर्ने निर्णय गरेको थियो ।

No description available.

विक्रम सम्वत् १९८८ मा पहिलो पटक विराटनगरमा राधाकृष्ण मन्दिरबाट खटयात्राको प्रचलन शुरु भएको थियो । राधाकृष्णको मूर्ति खटमा राखेर नगरपरिक्रमा गराउने प्रचलन विक्रम सम्वत् २०२४ सालमा रथयात्रामा परिणत भएको थियो । त्यसयता निरन्तर रथयात्रा हुँदै आएको थियो ।

अघिल्लो वर्ष र यसपटक गरी दुई वर्ष रथयात्राको साटो खटयात्रा गरिएको छ । दक्षिण एसियाकै ठुलामध्येको रथयात्राको रुपमा मानिएको विराटनगरको राधाकृष्ण रथयात्रामा लाखौँ भक्तजनहरू सहभागी हुने गरेका थिए । खटयात्राको रुपमा निकालिएकाले यो वर्ष भक्तजनको सहभागिता थिएन ।

No description available.

विराटनगरको रथयात्रालाई प्रदेश नम्बर १ को विशेष धार्मिक कार्यक्रमको रुपमा स्वीकार गर्दै प्रदेश सरकारले रथयात्राका दिन प्रदेश १ का झापा, मोरङ र सुनसरीका तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *