राधाकृष्ण रथयात्रा प्रभावित, खटबाट बजार परिक्रमा गराइँदै

विराटनगर । विराटनगरमा निस्कने राधाकृष्ण रथयात्रा कोरोनाका कारण यो वर्ष पनि ननिस्कने भएको छ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निस्कने रथ यात्रा यो वर्ष सुनसान छ ।

विराटनगर महानगरपालिका वडा नम्बर १ तीनपैनीमा रहेको राधाकृष्ण मन्दिर आसपासमा माग्न बसेका र सामान्य व्यापार गर्नेबाहेक कुनै पनि चहलपहल छैन । हरेक वर्ष रथयात्रा गरिने भए पनि यो वर्ष भने खट यात्राको रुपमा गाडीमा राखेर नगर परिक्रमा गराउन लागिएको राधाकृष्ण रथयात्रा मूल समारोह समितिका संयोजक बाबुराजा ओझाले बताए ।

श्री राधाकृष्ण रथयात्रा समारोह समितिका अध्यक्ष बाबुराजा ओझाले यस वर्ष पनि कोरोना महामारीका कारण रथयात्रा निकाल्न नसकिने बताएका हुन् । स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी राधाकृष्णको रथलाई गाडीमा राखेर नगरका विभिन्न भागको परिक्रमा गराइले उनले बताए । यस वर्षको राधाकृष्ण रथयात्रा ९०औं संस्करण हो ।

यी क्षेत्रमा गाडीले रथ घुमाउने
मानिसले तानेर रथ यात्रा गराइँदै आएकोमा यस वर्ष राधाकृष्णको खटयात्रा तीनपैनीको राधाकृष्ण मन्दिर पानी ट्याङ्कीबाट शुरु भई गोल्छा, जलजला, ट्राफिक, रोडशेष, महेन्द्र चोक, भृकुटी चोक, बरगाछी, कञ्चनबारी, राजवंशी हुँदै पुष्पलाल चोक भएर विराटनगरको परिक्रमा गराइने ओझाले बताए । खटयात्रा विशेष पूजापाठ गरी राधाकृष्ण मन्दिरको परिसरबाट निकालिने छ ।

खटयात्राबीचमा कतै नरोकिने भएकाले कसैले पूजापाठ गर्न नपाउने र टाढैबाट दर्शन गर्न सकिने आयोजकको भनाई छ । वि.सं. १९८८ मा खटबाट शुरु भएको यो यात्रा २०२५ देखि रथयात्राको रुपमा निरन्तर हुँदै आएको छ । प्रदेश सरकारले मंगलबार मोरङ, सुनसरी र झापा जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

विराटनगरमा हुने राधाकृष्ण रथयात्रालाई दक्षिण एसियाकै दोश्रो ठूलो रथयात्राको रुपमा लिइँदै आएको आयोजकको दाबी छ । रथयात्रा समयमा विराटनगरमा रथयात्रा हेर्न र दर्शन गर्नका लागि लाखौँको संख्यामा भीड लाग्ने गरेको इतिहास छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *