रोनाल्डोले फर्काउलान् त म्यान्-यूको लय ?

काठमाडौं । म्यानचेष्टर यूनाइटेडले उपाधि नजितेको एक दशक पुग्न लागेको छ । २०१२/१३ को सिजनपछि इंग्लिस प्रिमियर लिगको सर्वाधिक सफल टोली यूनाइटेड हरेकजसो सिजन शीर्ष चारकै लडाइँम नै सीमित छ ।

त्यसैले कम्तीमा आफ्नो दाबेदारी छवि कायम राख्नु यूनाइटेडका लागि तत्कालीन प्राथमिकता हो । गत सिजनको उपविजेता यूनाइटेड ‘रोनाल्डो युग’ दोहोर्‍याउने धुनमा छ । त्यसैले यूनाइटेड शुक्रबार विश्व ट्रान्सफर बजारमा चलेका अनेकौं हल्लाका बीच रोनाल्डोलाई क्लबमा भित्र्याउन सफल भयो ।

स्टार फुटबलर रोनाल्डो युभेन्टस छाडेर इंग्लिस क्लब म्यानचेष्टर सिटी जाने चर्चा व्यापक बनेको थियो । तर, अन्तिममा यूनाइटेडले बाजी मार्‍यो ।

यसअघि ६ वर्ष यूनाइटेडमा बिताउँदा उनले तीनपटक प्रिमियर लिग, एकपटक च्याम्पियन्स लिग, दुईपटक लिग कप र एकपटक एफए कपको उपाधि जितेका थिए । त्यस्तै फिफा क्लब वर्ल्ड कप तथा कम्यूनिटी सिल्ड पनि जितेका थिए । व्यक्तिगत रुपमा पहिलो बेलोन डि’ओरसमेत उनले यूनाइटेडमा रहँदै हात पारेका थिए ।

झन्डै १३ वर्षपछि ३६ वर्षीय यी स्टारलाई पुनः क्लबमा अनुबन्ध गर्न सफल यूनाइटेड उनीमाथि अपेक्षा भने पुरानै राख्दै उपाधि जित्न चाहन्छ । म्यान्चेष्टर यूनाइटेडको विजेता छवि ओझेल पर्दै गएको बेला भित्रिएका रोनाल्डोमाथि स्वाभाविक दबाब रहने नै छ ।

रोनाल्डोका लागि यूनाइटेडले युभेन्टसलाई १२.८ मिलियन पाउण्ड तिर्ने भएको छ । सम्झौताका लागि व्यक्तिगत शर्तहरु, भिसा तथा मेडिलकको काम भइरहेको पनि क्लबले जानकारी दिइएको छ ।

सन् २००९ मा रियल मड्रिड जानुअघि रोनाल्डोले म्यानचेष्टर यूनाइटेडका लागि २९२ खेलमा ११८ गोल गरेका थिए । सन् २०१८ मा रियल मड्रिडबाट उनी इटालियन क्लब युभेन्टस गएका थिए । उनको युभेन्टससँगको सम्झौता एक वर्ष बाँकी रहँदै उनी क्लब छोड्ने निर्णयमा पुगे ।
म्यानचेष्टर यूनाइटेडले रोनाल्डोलाई स्वागत गर्न क्लब आतुर रहेको विज्ञप्ति निकालेको छ । यूनाइटेड उनको दोस्रो इनिङमा पनि यसअघिकै उपलब्धि दोहोरियोस् भन्ने चाहन्छ ।

तर प्रिमियर लिगमा रोनाल्डोलाई सोचेजस्तो सहज भने हुने छैन । एकातिर सिटीको प्रभावशाली प्रदर्शन र अर्कोतिर लिभरपुलको बढ्दो प्रभावका बीच यूनाइटेडलाई उपाधि खडेरी टार्न सहज छैन । यस्तै चेल्सि , लेस्टर र टोटनह्यामले पनि यो सिजन राम्रो प्रदर्शन गर्ने अनुमान गरिएको छ ।

तर, यी कीर्तिमानी स्टारको अनुबन्धले यूनाइटेडको रवाफ भने स्वाभाविक रुपमा बढेको छ ।

सन् २०१२/१३ को सिजन सर एलेक्स फर्गुसनले उपाधि दिलाएयता यूनाइटेड प्रिमियर लिगविहीन छ । त्यसैले पनि रोनाल्डोका लागि यूनाइटेडको उपाधि भोक मेटाउनु चुनौती र पहिलो प्राथमिकताका रुपमा रहनेछ ।

‘१२ वर्षमा त खोलो पनि फर्किन्छ’ भनेजस्तैगरी रोनाल्डो स्पेन र इटालीका क्लबमा गजब प्रदर्शन गरेर आफ्नो पुरानै घर त फर्किएका छन् । तर, उनीसँगै म्यान्–यूको त्यो जुझारु र विजेता छवि फर्कन्छ कि फर्कँदैन भन्ने चासोको विषय बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *