पैताला देखाएर सुरु गरिएको ‘कवि’को पाइला छोड्दै अन्त्य

काठमाडौँ । चलचित्र लम्बाई, लगानी र स्टारले चल्ने होइन भन्ने विषयको चित्त बुझ्दो जवाफ चाहनुहुन्छ भने युट्युबमा सहजै पाइने लघु चलचित्र ‘कवि’ हेर्न सक्नुहुन्छ । एउटा बालक‚ जसको सपना क्रिकेटको बल र ब्याटसँग रमाउने छ । बाबुले लिएको साहुको ऋणका कारण उनी विद्यालय जाने उमेरमा इँटा भट्टामा काम गर्न बाध्य छन् ।

बाबु-आमासँगै काम गरिरहेका ‘कवि’लाई साहुले काम धेरै गराउन ‘सबसे तेज’ भन्दै उकासिरहेको छ । क्रिकेट बल हातमा लिन पाउँदाको खुसी उसमा भिन्नै देखिन्छ । पढ्ने सपना त्यागिसकेको कविलाई साहुले क्रिकेटको लोभ देखाएर श्रम शोषण गरिरहेको छ । यस्तोमा कविको सपना के होला ? भन्ने जवाफ यो लघु चलचित्रमा देख्न पाइन्छ । खुट्टा देखाएर सुरु गरिएको चलचित्रको अन्त्य इँटामा कविको पाइलाको छाप छाड्दै अन्त्य गरिएको छ ।

ग्रेग हेल्वेको लेखन तथा निर्देशन रहेको चलचित्र क्रिस विटले सम्पादन गरेका छन् । कविको भूमिकामा बाल कलाकार सागर सालुङ्के देखिएका छन् भने अन्य कलाकारमा उल्हास तयाडे, राजेश कुमार‚ माधवी जुवेकरलगायतको अभिनय रहेको छ ।

थेसिसका लागि हेल्वेले तयार गरेको यो चलचित्रले स्टुडेन्ट एकेडेमी अवार्डमा लघु चलचित्रअन्तर्गत सर्वोत्कृष्ट कथा वाचनको अवार्ड प्राप्त गरेको छ । विश्वभरका १०० भन्दा बढी महोत्सवमा देखाइएको चलचित्र ओस्कारको नोमिनेसनमा समेत परेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *