अविरल वर्षाले रुपन्देही, परासी र नेपालगञ्ज जलमग्न

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न जिल्लामा डुबान भएको छ । लगातारको वर्षाले नदी तथा खोलामा पानीको बहाब बढेपछि डुबान सुरु भएको हो । रुपन्देहीका विभिन्न क्षेत्र, नवलपरासी पश्चिमको सदरमुकाम परासी बजार तथा बाँकेको नेपालगञ्ज जलमग्न भएको छ ।

रुपन्देहीको दक्षिणी क्षेत्र लुम्बिनी, मर्चवारलगायतका धेरै ठाउँमा वर्षाले बढी असर गरेको प्रहरीले जनाएको छ । वर्षाका कारण भैरहवा, ओमसतिया, तिलोत्तमा, रुद्रपुरलगायतका क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए । ‘अहिलेसम्म मानवीय क्षति भएको छैन, अन्य क्षतिको विवरण सङ्कलन गरिहेका छौँ’, उनले भने ।

यस्तै परासी हुँदै बगेको झरही नदीमा पानी ओभर फ्लो हुँदा र रावण खन्डा खोलाको बाढी बजारमा पस्दा डुबान भएको छ । बाढी पसेर बजार पुरै जलमग्न भएको छ भने सयौं घरहरु डुबानमा परेका छन् ।

बजारको पूर्व झरही नदी र पश्चिम रावनखन्डा खोलाको बाढी बजारमा पसेर जिल्लाको रामग्राम नगरपालिका परासी बजारमा पर्ने नगरपालिकाको वडा नम्बर–१ सहुवाटिकर, वडा नम्बर–२ को मस्जिदटोल, हाटबजार टोल, वडा नम्बर–३ को संगम टोल, मालटोल, लोकतान्त्रिक टोल, वडा नम्बर–५ को प्रशासन टोल ड्राइभर टोल, इमलीटोल, बुध्चोक्टोल र वडा नम्बर–६ पोखरापाली टोले पुरै डुबानमा परेको छ भने नगरका अरु वडा र क्षेत्रहरु बर्षाको पानीले जलमग्न भएको छ ।

बाढीले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र आर्मी ब्यारेकसहित विभिन्न सरकारी कार्यालयहरूमा पनि २ देखि ५ फिटसम्म बाढीको पानी पसि डुबानमा परेको प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिएका छन् । उनका अनुसार बाढीको पानी घरमा पसेर खाद्यान्न, लत्ताकपडा, फर्निचरका सामानलगायत भिजेका छन् ।

नेपालगञ्ज आसपासको क्षेत्र जलमग्न भएको छ । निरन्तर परिरहेको वर्षाले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गत न्युरोड, सेतु विक चोक, बेलासपुर, कोरियनपुर, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर, रामलिला मैदान, बाँके गाउँलगायतका ठाउँमा पानी जमेर जलमग्न भएको जिल्ला विपद् व्यवस्थापन समितिका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार नेपालगञ्जमा २० मिलिमिटर वर्षा भएको छ । ढल निकासको उचित व्यवस्थापन नहुँदा नेपालगञ्जमा सामान्य वर्षा हुँदा पनि जलमग्न हुने गरेको छ । पानी जमेपछि पैदल यात्रीलाई आवतजावतमा समस्या भएको छ । निरन्तरको वर्षातले सहरका विभिन्न ठाउँ डुबानमा भएकाले थप जोखिम हुन नदिन उपमहानगरपालिकाले सरसफाइ शाखाका कर्मचारीलाई परिचालन गरेको प्रवक्ता प्रमोद रिजालले जानकारी दिए ।

निरन्तरको वर्षाले राप्ती नदीमा पानीको सतह बढ्न थालेकाले तटीय क्षेत्रका स्थानीय बासिन्दा त्रसित बनेका छन् । वर्षाले नदीमा बाढी आउने जोखिमले स्थानीय त्रसित बनेका हुन् । बाढी र डुबानको उच्च जोखिमलाई न्यूनीकरण गर्न जिल्ला विपद् व्यवस्थापन समितिले बाढी प्रभावित क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

बाँकेको कुसुममा राप्ती नदीको पानीको सतह तीन मिटर पुगेको जिल्ला विपद् व्यवस्थापन समितिका सूचना अधिकृत ज्ञवालीले जानकारी दिए । कुसुममा साढे पाँच मिटर सतह पुग्ने बित्तिकै राप्ती नदीको तल्लो तटीय क्षेत्रका दर्जनौं गाउँ डुब्छन् । भारतले नियम विपरीत लक्ष्मणपुर बाँध, कल्कलवा तटबन्ध र सीमा सडक निर्माण गरेपछि बर्षेनी गाउँ डुब्ने गर्दछन् । वर्षाले डुबानको जोखिम बढाएपछि स्थानीय प्रशासनले उद्धार कार्यमा तयारी रहन सुरक्षाकर्मीलाई निर्देशन दिएको छ ।

सतर्कता अपनाउन आग्रह
रातभरिको झरीले विभिन्न नदी र खोलामा बाढी आएको छ । रौतहटमा वागमती नदीले खतराको तह पार गरेको छ । चितवन र नवलपरासीमा नारायणी नदी, रुपन्देहीमा तिनाउ, कपिलवस्तुमा बाणगंगा, सिन्धुलीमा कोशी र वागमती नदीमा पनि पानीको सतह बढ्ने गरी ठूलो पानी परिरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

नारायणी, कोशी, कर्णाली, महाकाली र यसका सहायक नदी तथा खोलाहरुमा पानीको बहाव बढ्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । देशका धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । मौसमविद्का अनुसार अबको केही दिन देशका धेरै ठाउँमा झरी पर्ने सम्भावना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *