परिस्थितिले बनाएको हत्यारा ‘ए नि बरै’ (भिडिओ)

काठमाडौँ । बाध्यताले निम्त्याएको परिस्थितिको फाइदा लिएर उच्च ओहोदाका पुरुषले महिलालाई गर्न सक्ने दुर्व्यवहारको विषयमा बनेको गीत ‘ए नि बरै’ को भिडिओ तयार भएको छ ।

भिडिओमा आफ्नै कार्यालयमा काम गर्ने कार्यालय सहयोगीको बाध्यतालाई हाकिमले आफ्नो स्वार्थ पूरा गर्ने बाटो बनाएका छन् ।

बिरामी आमाको उपचारलाई आफ्नो कामबाट आउने पारिश्रमिकले पुग्दैन । आमा बचाउन उनले आफ्नो शरीर हाकिम सुम्पिन्छिन् । तर‚ कमजोरीको फाइदा लिन पल्केको हाकिम पटक पटक उनीमाथि सोही व्यवहार दोहोर्‍याउँछन् ।

आजित भएर उनले जागिर नै छोड्छिन् । तर हाकिम त मदिरामा लट्ठ भएर उनको घरसम्मै आइपुग्छन् ।

घरमै आएर उनीमाथि अभद्र व्यवहार गर्न थालेपछि आफ्नो बचाउ गर्ने क्रममा हाकिमको मृत्यु हुन्छ ।

स्वास्थ्य, शिक्षा, सुरक्षा र आवासमा सरकारले जिम्मा लिने हो भने बिरामी आमाको उपचार गर्नकै लागि एक महिलाले शरीर बेच्नुपर्ने अवस्था आउने थिएन । कमजोरी समातेर माथिल्लो तहका भनिएका र काम दिने हाकिमहरूले महिला माथि पटक पटक शारीरिक र मानसिक शोषण गर्न पाउने थिएनन् ।

देवी घर्ती मगरको स्वर रहेको गीतमा नेत्र अर्यालको शब्द र ऋषि खड्काको संगीत छ । संगीत संयोजन भने कमल सौरागले गरेका हुन् । भिडिओ निर्देशन तथा कथा विक्रम चन्दको रहेको छ ।

भिडिओमा सुरक्षा पन्त, रमेश अधिकारी, रश्मी भट्ट, सनम कठायत, सरस्वती फुयाँल र कृष्ण जोशीले अभिनय गरेका छन् भने बाल कलाकार आरध्या आरएल डिसी रहेकी छन् । प्रकाश खड्काले खिचेको भिडिओ मिलन विश्वकर्माले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *