राजुको गीत ‘दमौली काटेर लमजुङ’को भिडिओ चोरी

काठमाडौँ । गीत चोरीका खबरहरूले समय समयमा साङ्गीतिक बजारमा तरङ्ग छाउने गर्छ । तर पहिलाभन्दा केही फरक घटना, अहिले भने गायक राजु आरडीको गीतको भिडिओको केही भाग नै चोरी भएको छ ।

राजुको ‘दमौली काटेर लमजुङ’ बोलको गीतको भिडिओको केही भाग अर्जुन सापकोटा नामक युट्युब च्यानलबाट हालिएको तीज गीत भनिएको ‘दाजु भाइ तिज’ गीतमा समावेश गरिएको छ ।

यस विषयमा गायक राजुसँग कुराकानी गर्दा उनले अर्जुनले बिना कुनै जानकारी आफ्नो क्लिप उनको भिडिओमा राखेको बताएका छन् । ‘मेरो भिडिओ चल्न नपाउँदै उहाँहरूको भिडिओ आएर ट्रेन्डिङमा बसेको छ । मैले अर्जुनजीसँग कुराकानी गर्दा गाउँमा भएको र फर्किन समय लाग्ने बताउनुभयो‚’ उनले भने‚ ‘मैले अब कानुनी सहायता लिन्छु भनेपछि भने उहाँ आज काठमाडौँ फर्किनु हुँदैछ रे । अहिलेसम्म पनि म उहाँलाई कुरेर बसिरहेको छु । उहाँको आउने/नआउने भेट्ने/नभेट्ने केही टुङ्गो नै छैन । मेरो सिर्जना चोरिएको छ । न त उहाँहरू गीत हटाउनु हुन्छ, न भेट्ने वातावरण मिलाउनु हुन्छ । म त दोहोरो मारमा परे नि ।’ राजु भन्छन् ।

दुवै गीतका निर्देशक मदन खड्का रहेका छन् । कतै वहाँको पो बदमासी हो कि भन्ने प्रश्नमा राजुले आफ्नो खड्कासँग कुराकानी नभएको र अनुमति पनि नलिएको बताएका छन् । अझै पनि अर्जुनले उनलाई भेट्न विभिन्न बहाना बनाएमा कानुनी उपचारको बाटो समात्ने उनको योजना छ । ‘म उहाँहरूलाई नै लिएर मिडियामा आउँछु‚’ राजु भन्छन् ।

गीतमा राजुसँगै पूर्णकला बिसी र मुस्कान रानाको स्वर छ । राजुकै शब्द संगीत रहेको गीतमा सुनिल परियारले संगीत संयोजन गरेका छन् । भिडिओमा राजुसँगै बिना विश्वकर्मा फिचर्ड छिन् । वीरेन्द्र भट्टले खिचेको भिडिओ अनिल रानाले सम्पादन गरेका हुन् ।

अर्जुनको भिडिओमा पशुपति शर्माको चर्चालाई समेटेर भाइरल हुन खोजेको देखिन्छ । पशुपतिको ठुलो फोटो राखेर पोस्टर निर्माण गरिएको छ भने उनकै पुराना चर्चामा आएका गीतहरूको क्लिप मिक्स म्याच गरेर गीत तयार गरिएको छ ।

तीज गीत बताइएको उक्त गीतमा न त चाडको मर्म देखाइएको छ‚ न चेलीको पीडा नै । प्यारोडी झैँ लाग्ने गीतमा दुर्गेश थापाले झैँ विवादपछि पुनः गीत निकाले झैँ पशुपतिले तीज गीत गाएको विरोध भएको विषय गीतमा उठाइएको छ ।

पशुपतिलाई यसअघि समेत तीज गीतमा रत्यौली मिसाएको आरोप लाग्दै आएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *