काठमाडौँ तानिए एसपी शाह

जनकपुरधाम । पत्रकार महासंघकै सहसचिवसँग मिलेर एकजना पत्रकारलाई फसाइएको घटनामा रौतहटका एसपी सिद्धिविक्रम शाह काठमाडौँ तानिएका छन् ।

महासंघ रौतहट शाखाका सहसचिव सञ्जय सहनीसँग मिलेर प्रहरीले अर्का पत्रकार महम्मद मोजिबुल्लाहलाई फसाएको भनिएको घटनामा प्रहरी प्रधान कार्यालयले एसपी शाहलाई काठमाडौँ तानेर छानबिन शुरु गरेको छ ।

३२ साउनमा रौतहटमा लागुऔषध मुद्दामा प्रहरीले पत्रकार मोहम्मद मोजिबुल्लाह र राजपुर नगरपालिका- ७ घर भएका शेख गुलाबलाई पक्राउ गरेको थियो । मोजिबुल्लाहको बिआर-३० एस १८८५ नम्बरको भारतीय मोटरसाइकलमा महासंघ रौतहटका सहसचिव सहनीसहितको योजनामा लागुऔषध नाइट्राभेट ट्याबलेट राख्न लगाएर पक्राउ गरिएको रौतहट प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

लागुऔषध नाइट्राभेट राख्ने योजनाकारको भूमिकामा रहेका प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र प्रहरी जवान मनोज शाहलाई निलम्बन गरिएको छ ।

नियोजित ढंगले लागुऔषध राख्न लगाइएको पुष्टि भएपछि सो काममा संलग्न स्थानीय युवा धीरज यादव र जितेशकुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ भने यसअघि पक्राउ गरिएका पत्रकार मोहम्मद मोजिबुल्लाह र शेख गुलाबलाई रिहा गरिएको छ ।

यो पनि : रौतहटका एसपी शाहमाथि छानबिन गर्न समिति गठन

घटनामा एसपी सिद्धिविक्रम शाहको भूमिका पनि शंकास्पद देखिएपछि हेडक्वार्टरले छानबिन समिति बनाएको हो भने उनलाई काठमाडौँ तानिएको हो ।

छानबिनका लागि समिति
पत्रकार फसाइएको भनिएको घटना अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयले छानबिन समिति बनाएको छ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्ण कुमार महतको नेतृत्वमा ४ सदस्यीय समिति गठन गरिएको हो ।

समितिमा प्रहरी प्रधान कार्यालय कानुन शाखा र साइबर ब्यूरोका अधिकृत सदस्य छन् ।

यो पनि : पत्रकारकाे माेटरसाइकलमा लागू औषध राख्न पत्रकार नै संलग्न !

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *