रौतहटका एसपी शाहमाथि छानबिन गर्न समिति गठन

काठमाडौँ । रौतहटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सिद्धिविक्रम शाहमाथि छानबिन गर्न समिति गठन भएको छ ।

रौतहटका पत्रकारद्वय मोजिबुल्लाह र शेख अतिउल्लाहलाई फसाउन लागुऔषध राखिएको घटनामा संलग्न भएको भन्दै प्रहरी प्रधान कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक कृष्ण महतको नेतृत्वमा छानबिन समिति गठन भएको हो ।

घटनाको वास्तविकता र उक्त घटनामा जिल्ला प्रहरी प्रमुख तथा प्रहरी कर्मचारीको भूमिकाको बारेमा छानबिन गर्न समिति गठन गरिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्त कुँवरले जानकारी दिए ।

गत साउन ३२ गते गौरबाट मोजिबुल्लाहको बीआर ३० एस १८८७ नम्बरको मोटरसाइकलबाट प्रहरीले लागुऔषध नाइट्राभेट १०५ ट्याब्लेट बरामद गरेको थियो । प्रहरीले मोजिबुल्लाह र शेख सवार उक्त मोटरसाइकलमा लागुऔषधसहित उनीहरूलाई पक्राउ गरेको थियो ।

उनीहरूले भने आफूहरू निर्दोष रहेको र फसाउनका लागि योजनाबद्ध तरिकाले लागुऔषध राखिएको बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *