लुम्बिनी प्रदेश

विश्वासको मत माग्दै केसीले भने- सत्तापक्ष र प्रतिपक्षमा रहनु संवैधानिक मूल्यमान्यता हो

एमालेद्वारा बैठक बहिष्कार

काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले प्रदेश सभामा विश्वासको मत मागेका छन् । गत साउन २७ गते मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री केसीले सोमबार (आज) को प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । मुख्यमन्त्री केसीले विश्वासको मत माग्दै सत्तापक्ष र प्रतिपक्षमा रहनुलाई संवैधानिक मूल्य र मान्यताको रुपमा स्वीकार्न आग्रह गरेका छन् । ‘यो सत्तापक्ष वा प्रतिपक्षमा रहने कुरा संवैधानिक र लोकतान्त्रिक मूल्यमान्यताहरु हुन्,’ मुख्यमन्त्री केसीले भने, ‘प्रतिपक्षी साथीहरुले पनि चित्त नदुखाउनस् । यसलाई लोकतान्त्रिक मूल्य र मान्यताको रुपमा स्वीकार्नुस् ।’

मुख्यमन्त्री केसीले आफूमाथि प्रदेश सभाको आफूमाथि विश्वास छ भन्ने पुष्टि गर्न ४१ सांसदको समर्थन जुटाउनुपर्छ । सत्ता पक्षमा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १८ (सभामुखबाहेक), जनता समाजवादी पार्टीका ३, राष्ट्रिय जनमोर्चाका १ र स्वतन्त्र सांसद अजय शाहीसहित ४२ सांसद छन् । विपक्षी एमालेका ३७ सांसद रहेका छन् ।

माओवादी केन्द्र संसदीय दलका नेता केसी लुम्बिनी प्रदेश सभाका चार दल र एक स्वतन्त्र गरी ४२ जना सांसदको समर्थनमा साउन २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । केसी मुख्यमन्त्रीमा नियुक्त भएसँगै प्रतिपक्षी दल एमालेले स्वतन्त्र सांसद अजय शाही र माओवादी केन्द्र रोजेकी विमलाकुमारी वलीलाई पदमुक्त गर्न दबाब दिँदै लगातार प्रदेश सभाको बैठक अबरुद्ध गर्दै आएको थियो । तर सभामुख पूर्णबहादुर घर्तीले दुवै सांसद एमाले नभएकाले पदमुक्त गर्न अस्वीकार गरिदिएका छन् ।

त्यसपछि आजै दिउँसो २ बजे बसेको प्रदेश सभा बैठक एमालेले अबरुद्ध गरेको थियो । त्यसपछि सभामुख घर्तीमगरले बैठक साढे २ सम्मका लागि स्थगित गरेका थिए ।

‘यो सरकारले हावादारी गफ लाउँदैन’

मुख्यमन्त्री केसीले गठबन्धनको सरकार जनताको अपेक्षाबाट नभाग्ने बताएका छन् । सुन्नेबेला कान थुन्नुपर्ने र हेर्नेबेला आँखा चिम्लिनुपर्ने अवस्था गठबन्धनले नल्याउने जिकिर गर्दै मुख्यमन्त्री केसीले भने, ‘यो गठबन्धनको सरकारले हावादारी गर्दैन । पहिलेको सरकारजस्तो हेर्नेबेला आँखा चिम्लिनुपर्ने र सुन्नेबेला कान थुन्नुपर्ने अवस्था आउन दिँदैन ।’

एमालेद्वारा बैठक बहिष्कार

नेकपा (एमालें ले भने सांसद अजय शाही र विमलाकुमारी खत्री वलीलाई कारबाही नगरेसम्म प्रदेश सभाको बैठकमा सहभागी नहुने बताएको छ । त्यसैअनुसार मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाएको बैठकमा एमालेका कोही पनि सांसद सहभागी छैनन् ।

एमालेले मुख्यमन्त्रीले विश्वासको मत लिनेबारे आफूहरुलाई जानकारी नभएको बताएको छ । एमाले संसदीय दलका उपनेता वैजनाथ चौधरीले भनेका छन्, ‘हामीले हाम्रो कुरा प्रदेश सभाको बैठकमा नै राखेका छौँ, उहाँहरुले त्यसपछि सल्लाह गर्नुभएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *