लुम्बिनी प्रदेश

विश्वासको मत लिँदै मुख्यमन्त्री केसी

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले विश्वासको मत लिँदैछन् । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले मुख्यमन्त्री केसीले आजैको प्रदेश सभा बैठकबाट विश्वासको मत लिने बताए । ‘उहाँले विश्वासको मत आजै लिँदै हुनुहुन्छ,’ नेता कनौडियाले मकालुखबरसँग भने, ‘प्रदेश सभा बैठक शुरु भएको छ, यहीँबाटै उहाँले विश्वासको मत लिँदैछन् ।’

मुख्यमन्त्री केसीले आफूमाथि प्रदेश सभाको आफूमाथि विश्वास छ भन्ने पुष्टि गर्न ४१ सांसदको समर्थन जुटाउनुपर्छ । सत्ता पक्षमा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १८ (सभामुखबाहेक), जनता समाजवादी पार्टीका ३, राष्ट्रिय जनमोर्चाका १ र स्वतन्त्र सांसद अजय शाहीसहित ४२ सांसद छन् । विपक्षी एमालेका ३७ सांसद रहेका छन् ।

माओवादी केन्द्र संसदीय दलका नेता केसी लुम्बिनी प्रदेश सभाका चार दल र एक स्वतन्त्र गरी ४२ जना सांसदको समर्थनमा साउन २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । केसी मुख्यमन्त्रीमा नियुक्त भएसँगै प्रतिपक्षी दल एमालेले स्वतन्त्र सांसद अजय शाही र माओवादी केन्द्र रोजेकी विमलाकुमारी वलीलाई पदमुक्त गर्न दबाब दिँदै लगातार प्रदेश सभाको बैठक अबरुद्ध गर्दै आएको थियो । तर सभामुख पूर्णबहादुर घर्तीले दुवै सांसद एमाले नभएकाले पदमुक्त गर्न अस्वीकार गरिदिएका छन् ।

त्यसपछि आजै दिउँसो २ बजे बसेको प्रदेश सभा बैठक एमालेले अबरुद्ध गरेको थियो । त्यसपछि सभामुख घर्तीमगरले बैठक साढे २ सम्मका लागि स्थगित गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *