गुल्शनलाई टिक्ने चुनौती

काठमाडाैँ । गुल्शन झाले नेपाली क्रिकेटमा सीमित मात्रामा हुने घरेलु प्रतियोगितामा केवल २ अवसर पाए । उनले यिनै दुई अवसरमा क्षमता प्रष्फुटन गर्न धेरै अवसरको आवश्यकता पर्दैन भन्ने पुष्टि गरे ।

यिनै २ अवसरमा गरेको प्रदर्शनले उनलाई ‘क्लोज क्याम्प’ हुँदै राष्ट्रिय टीमसम्म पुर्‍याएको छ । यी १७ वर्षिय किशोर नेपालका नयाँ प्रशिक्षक डेभ ह्वाटमोरको नजरमा यस्तरी बसे कि पहिलो ‘क्लोज क्याम्प’मा नै उनले राष्ट्रिय टीममा स्थान बनाए ।

गत फागुनमा भएको प्रथम काठमाडौं मेयर्स कप एकदिवसीय क्रिकेटबाट उनले घरेलु क्रिकेटमा इन्ट्री गर्न सफल भएका हुन् । नेपाल पुलिस क्लबको अन्तिम दुई खेलमा पाएको मौकामा उनले आफूलाई प्रमाणित मात्रै गरेनन् नेपाली क्रिकेटमा एक उदियमान स्टार हुने लक्षण देखाए ।

काठमाडौं मेयर्स टिमविरुद्ध डेब्यु गर्दै गुल्शनले ६ ओभरमा १ मेडन राखेर २२ रन दिए । तर बलियो टोली एपीएफ (सशस्त्र प्रहरी क्लब) विरुद्ध फाइनलमा भने उनी नायक सावित भए । ७ ओभरमा ३६ रन खर्चिएर ४ विकेट लिंदै उनले एपीएफलाई स्तब्ध बनाए। फाइनलमा म्यान अफ दी म्याच बनेका उनी त्यसपछि नै राष्ट्रिय टीममा पर्ने अभियानको पहिलो खुट्किलो बन्द प्रशिक्षण हुँदै सिनियर टीमको यात्रा तय गर्न सफल भए ।

लिग-टू मा उनीसँगको अपेक्षा
आगामी १३ देखि २० सेप्टेम्बरमा हुने आईसीसी विश्व क्रिकेट लिग-टू अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीच हुने त्रिकोणात्मक सिरिजमा गुल्सनले डेब्यु गर्ने संभावना बलियो छ । त्यसैले उनले क्लोज क्याम्पमा देखाएको विश्वास प्रमाणित गर्दै आगामी यात्रामा पनि टिकिरहनु उनका लागि अबको चुनौती हुनेछ ।

१७ सदस्यीय नेपाली टोलीमा उनको उपस्थिति जति तिब्र गतिमा भयो । उनलाई बाँकी करिअरमा टिकिरहन त्यो तिब्रताका साथमा संयम  त्यतिकै मेहनत जरूरी पर्नेछ । नेपालले प्रतियोगता अघि ओमनमै ५ र ८ सेप्टेम्बरमा पपुवा न्यूगिनीसँग एकदिवसीय खेल खेल्नेछ । यो अभ्यासमा पनि उनलाई प्रशिक्षक वाटमोरले परीक्षण पक्कै गर्नेछन् । उनले गरेको विश्वासमा गुल्सन कति खरो उत्रने हुन् त्यसको छनक पक्कै यी खेलमा देखिनेछ ।

लकडाउनले जुराएको अवसर
गुल्शनले सन् २०१६ मा भारत झारखण्डको राँचीस्थित अरुणोदय क्रिकेट एकेडेमीमा चार वर्ष अभ्यास गरेका थिए । कोभिड-१९ महामारीका कारण भारतमा लकडाउन भएपछि उनी नेपाल फर्किए ।

त्यही समयमा प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटका लागि २ नम्बर प्रदेशबाट छनोटमा भाग लिएपनि उनी टोलीमा पर्न सकेनन् । यद्यपि फागुनमा हुने तय भएको मेयर्स कपमा भने उनी  नेपाल पुलिस क्लबमा आवद्ध भए । उनका लागि लकडाउने जुराएको अवसरले नेपाली क्रिकेटमा उनको उपस्थितीको भविष्य कति लामो जाला त्यो भने प्रतिक्षाका रुपमा रहने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *