एमाले विवाद

एमालेको नयाँ समूह बालकोटमा, होला १० बुँदा कार्यान्वयन ?

काठमाडौं । माधवकुमार नेपाल समूह नेकपा (एकीकृत समाजवादी) दल दर्ताका लागि निर्वाचन आयोग पुगेपछि तीन उपाध्यक्षसहित बनेको एमालेभित्रको नयाँ समूह पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेको छ । अध्यक्ष ओलीलाई भेट्न भीम रावल, घनश्याम भुसाल  गोकर्ण विष्ट, सुरेन्द्र पाण्डेलगायतका नेताहरु बालकोट पुगेका हुन् ।

अध्यक्ष ओलीसँगको आजको छलफललाई नेताहरुले निर्णायक छलफल भनेका छन् । ‘अध्यक्ष कमरेडलाई भेटेर हामी १० बुँदा कार्यान्वयनका लागि आग्रह गर्दैछौँ,’ नेता गोकर्ण विष्टले भनेका छन्, ‘सम्भवतः यो छलफल निर्णायक हुनेछ ।’

यसअघि आइतबार (हिजो) दुवै पक्षका नेताहरुको छलफलमा १० बुँदे सहमति कार्यान्वयनको जिम्मा शंकर पोखरेलले लिएका थिए । पोखरेल, सुवास नेम्वाङ्ग, विष्णुप्रसाद पौडेललगायतको पहलमा अध्यक्ष ओलीसँग एकता पक्षधर नेताहरुको वार्ता भएको हो । एमाले केन्द्रीय कमिटी बैठकले १० बुँदे सहमति अनुमोदन गरिसकेकाले अब कार्यान्वयनमा कुनै समस्या नरहेको नेताहरुले बताइरहेका छन् ।

९ नेताहरुको छलफलले ओली–नेपाललाई भेटेर १० बुँदाको कार्यान्वयनका लागि आग्रह गर्ने निर्णय गरेको थियो । सो निर्णयअनुरूप नेताहरुले ओलीलाई भेटेका हुन् । यसपछि नेपाललाई पनि भेट्ने नेताहरुले बताएका छन् ।

आफूहरुको बटमलाइन् एमाले एकता रहेको बताउँदै ९ नेताहरुले राजनीतिक दलसम्बन्धीको अध्यादेश फिर्ताको माग गरेका छन् । यस्तै ओलीले नेपालसहितका १४ जनामाथि गरेको कारबाही फिर्ता र १० बुँदे कार्यान्वयन हुनैपर्ने नेताहरुको माग छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *