यस्तै गजब अभिनय हेरिरहन पाइयोस् विपिन

काठमाडौं । एक ठिटो क्याम्पस पढ्न भनेर पूर्वबाट काठमाडौं छिर्छ । उसलाई घरबाट आएको सीमित खर्चमा दैनिकी धान्न समस्या हुन्छ । उसमा यो नै गर्छु भने कुनै निश्चित सपना पनि हुँदैन । वश ! केही गरेर जीवन धान्नुपर्छ भन्ने मनमा छ । यही क्रममा ऊ रक्सी कम्पनीमा रक्सीको विज्ञापन गर्ने जागिर खान्छ । फुर्सदको समयमा आफ्नै साथी कमलमणि नेपालको कुरा पछ्याउँदै नाटक घर धाइरहन्छ । गुरुकुलमा मञ्चन हुने नाटक पहिलो दिन नै हेर्न थाल्छ । नाटकको लत बस्छ र बढ्छ । नाटकप्रतिको मोह झन्झन् झांगिँदै जान्छ ।

अलि पछि स्टेज पछाडिको कामका लागि उसलाई नाट्यकर्मी सुनिल पोखरेलले अफर गर्छन् । रक्सी कम्पनीको जागिर छोडेर उ रङ्गमञ्चमा जागिर गर्न थाल्छ । अभिनयले उसलाई विस्तारैविस्तारै तान्दै लगेको हुन्छ । विभिन्न बहाना बनाएर ऊ सुनिल गुरुलाई अभिनय देखाउन थाल्छ । तर जवाफमा ‘अभिनय गर्न सजिलो छ भन्ने लाग्छ तँलाई ?’ भन्ने जवाफ पाउँछ । खिस्रिक्क पर्छ । समयअघि बढ्दै गर्दा, एकदिन एउटा सडक नाटकमा अनुबन्धित कलाकार अनुपस्थित हुँदा उसले अभिनयको अवसर पाउँछ । हो त्यही मौकाबाट शुरु भएको त्यो ठिटोको अभिनय अहिले दर्जनौं नाटक हुँदै चलचित्रसम्म पुगेको छ । पुगेको मात्र छैन । हेरेका जति सबैजसोले सम्झिरहने नाम पनि बनेको छ— विपिन कार्की ।

उनै कलाकार विपिन कार्कीले रङ्गमञ्च र चलचित्रमा छोटो समयमै आफ्नो बलियो उपस्थिति जनाएका छन् । उनको अभिनयका कारण उनलाई मन पराउने मात्र होइन विपिनजस्तो कलाकार बन्छु भनेर मन मनै गुरु थाप्नेहरु पनि बढ्दैछन् ।

उनले केही म्युजिक भिडिओमा समेत काम गरेका छन् । १० मिनेट हाराहारी समयका उनले अभिनय गरेका म्युजिक भिडिओले चलचित्रमाझैँ कथा बोलेका छन् । थोरै मात्र म्युजिक भिडिओमा काम गरेका उनको चरित्र र कथा फरक फरक छ । एक भरियाको कथामा बनेको सन्तोष लामाले गाएको गीत ‘डर छैन’ मा उनको अभियन एक उदाहरण हो । करिब १० मिनेटको गीतका शब्द नारायण गौतमले जे सोचेर लेखे वा हरि लम्सालले जस्तो जीवन्त संगीत दिए, त्यसलाई निकेश खड्काले न्याय गर्दै दृश्यमा उतारेका छन् । यो भिडिओ खिच्दै गर्दा धेरैजनाले सामान बोकेर लगिदिन आग्रह गरेको विपिन बताउँछन् ।

न्यूरोड, बसन्तपुर, महाबौद्धजस्तो यात्रुको भिडभाड हुने ठाउँमा भरियाको अभिनय गरिरहेका विपिनलाई साँच्चैको भरिया सोचेर कामको अफर आउनुले कामप्रति विपिनको गाम्भीर्यता झल्कन्छ ।

बुटवल आसपासको क्षेत्रमा करिब पाँच दशक अघिको समाज चित्रण गरेर गीत ‘बटौली’ को भिडिओ तयार गरिएको छ । विवाहपछि दुलहीलाई लामो समय माइतमा नै छोड्ने समयको कथा यस गीतको भिडिओमा छ । एक दशक यता भेटसमेत नभएका श्रीमान् श्रीमतीले एक अर्कालाई भेट्दाको रोमाञ्चक र डर भरिएको अनुभूतिलाई विपिन र अनु काफ्लेले जीवन्त बनाएका छन् । हर्क साउदले लेखेको गीतको मर्मलाई न्याय गर्दै नवीन चौहानले भिडिओ निर्देशन गरेका छन् ।

चार वर्षअघि सार्वजनिक ‘फनफनी’ गीतको भिडिओमा विपिन कार्कीले विनीता लगुन सँग स्क्रिन सेयर गरेका छन् । फास्ट बिटको गणेश सेञ्चुरीको गीतमा विपिनले एक सहयोगी श्रीमान्को भूमिका निभाएका छन् ।

त्यस्तै ई सेवाको प्रमोसनका लागि बनाएको भिडिओ ‘तैँ मोरीलाई’ मा वर्षा राउतसँग देखिएका कार्कीको यो काम पनि कुनै राम्रो कथा बोल्ने गीत भन्दा कम छैन ।

यसरी हेर्दा, नाटक र चलचित्रको प्रत्येक भूमिकालाई गम्भीरता पूर्वक लिने विपिन ‘ए म्युजिक भिडिओ त हो नि’ भनेर हेलचेक्र्याइँ गर्ने कलाकारमा पर्दैनन् ।

आज विपिनको जन्मदिन । विपिनका अझै धेरै अभियन हेर् पाइयोस् । जन्मदिनको शुभकामना ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *