क्यान नेतृत्वको सपना

कति सहज होला पारसलाई मैदान बाहिरको ‘खेल’

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय खेलबाट सन्न्यास लिए । अप्रत्यासित रुपमा आएको उनको यो निर्णय धेरैलाई ‘आश्चर्यजनक’ लाग्यो । उनले नेपाली क्रिकेटको विकासका लागि नयाँ ‘इनिङ’ खेल्न चाहेको बताएका छन् ।

जुन व्यवस्थापकका रुपमा हुने उनको भनाइ छ‚ अर्थात् नेपाली क्रिकेटको सर्वोच्च निकाय नेपाल क्रिकेट संघ क्यानमा आउने उनको योजना छ । क्यानको नेतृत्वमा आउन पारसलाई कत्तिको सहज हुने हो‚ यसका लागि धेरै कुराले भर पार्नेछ । बाँकी २ वर्षमा उनले गर्ने काम, योजना, टिम र राजनीतिसम्म यसका लागि निर्णायक ‘फ्याक्टर’ हुनेछन् ।

तर‚ पारसले नेपाली ‘क्रिकेट राजनिति’लाई धेरै अघिबाट नियालेका मात्र होइन‚ परिस्थितिअनुसार ‘विद्रोह’समेत गर्दै आएका हुन् । खेलाडीकै रुपमा उनले क्यानविरुद्ध पटक-पटक ‘विद्रोह’ गरे । उनको कप्तानीमा टिमले पाएका सफलताले उनका सबै कदम ‘जायज’ ठहरिए । पारसले जे बोल्यो‚ त्यो अन्तिम सत्यका रुपमा स्थापित हुने र उनीविरुद्ध बोल्ने ‘भिलेन’ हुने अवस्थासम्म पनि रह्यो नेपाली क्रिकेटमा । यस्तो ‘भाग्य’ कमैमात्र खेलाडीले पाउँदा हुन् ।

यद्यपि पारसको अडानका कारण पुबुदुलाई समितिमा राख्नुपरेको भनेर क्यान पदाधिकारीहरू उनीसँग त्यसको बदला लिइने हरेक अवसर खोजिरहेका थिए । उनीहरू एउटा प्रशिक्षक क्यानभन्दा माथि रहेर बनाइएको समितिमा बस्नु ठिक नभएको भन्दै पुबुदुलाई छिटो घर पठाउन चाहन्थे ।

पारसले क्यानको व्यवस्थापकमा आउने सपनाको पृष्ठभूमि अहिले तत्काल र अचानक बनेको होइन‚ यो वर्षौँबाट उनले सोचेको अर्को ‘इनिङ’ हो । क्यानसँग खेलाडी र कप्तानकै रुपमा पटक-पटक पौँठेजोरी खेलेका उनले खेलजीवनमा केही वर्ष योगदान गर्न सक्ने अवस्था हुँदाहुँदै मैदानबाहिरको ‘खेल’ रोजेका छन् । विपक्षीले दिने लक्ष्य भेट्टाएर टिमलाई जिताउन अनेकौँ रणनीति बनाउन माहिर यी कप्तानले आफैँले राखेको ‘महत्वकांक्षी लक्ष्य’ भेट्टाउन कस्तो रणनीति बनाउलान् त्यो त समयले देखाउनेछ नै ।

सफलता र पारसको ‘विद्रोह’
जतिबेला नेपालले क्रिकेटमा एकपछि अर्को सफलता पाइरहेको थियो। त्यो बेला नेपाली क्रिकेटमा अर्थोक विषयले पनि ठाउँ पाइरहेको थियो । अर्थात्‚ नेपाली क्रिकेटमा सफलतामात्र थिएन । बङ्गलादेशमा भएको टी ट्वेन्टी विश्वकप खेलेर टीम नेपाल फर्किँदा कसैको चर्चा थियो भने पारस खड्का र नेपाली क्रिकेट टीमको मात्रै थियो । हुन पनि पहिलोपटक कप्तानका रुपमा उनले नेपालको विश्वकप सपना पूरा गरेका थिए । २ चैतबाट २३ चैत २०७० सम्म चलेको त्यो विश्वकपमा समूह चरणमा राम्रो प्रदर्शन गरे पनि नेपाल अघिल्लो चरणमा भने पुगेन । तर नेपाली टीमको चर्चा उत्कर्षमा रह्यो ।

यता क्यानभित्र अनियमितताको श्रृङ्खला बढ्दो थियो । विश्वकप खेलेर आएपछि कप्तान पारस खड्कासहित अन्य खेलाडी उत्साही थिए । उनीहरुलाई समग्र देशको साथ थियो । कुन समयमा कस्तो कदम चाल्नुपर्छ भन्ने राम्रोसँग बुझेका कप्तान खड्काले विश्वकपबाट फर्किएलगत्तै २८ चैतमा खेलाडीले पाउनुपर्ने सात महिनाको तलब क्यानले उपलब्ध नगराएको भन्दै आन्दोलनको घोषणा गरे । उनले नक्सालमा आकस्मिक पत्रकार सम्मेलन गर्दै तत्कालीन समयमा भइरहेको एकदिवसीय-राष्ट्रिय प्रतियोगिता बहिष्कारको घोषणामात्र गरेनन्, अझ एक कदम अघि बढ्दै नेपाली क्रिकेटको सर्वोच्च संस्था नेपाल क्रिकेट संघ(क्यान)का पदाधिकारीले राजीनामा दिनुपर्ने समेत माग गरे ।

पारसले राखेको खेलाडीले तलब पाउनुपर्ने मागलाई सबैले जायज मानेपनि उनी एक कदम अघि बढेर पदाधिकारी हटाउनुपर्ने मागमा उनको ‘राजनिती’ देख्नेहरू पनि थिए ।

पारसले क्यान स्वयंसेवकको भरमा चल्न नसक्ने भन्दै व्यावसायिक रूपमा लैजानुपर्ने बताएका थिए । उनको मागमा क्रिकेट समर्थक एक ढिक्का भए‚ अर्थात् पारसको मागलाई सम्बोधन गर्ने दबाब व्यापक थियो‚ किनभने केही समयअघि मात्र नेपाल पहिलो पटक टी-ट्वेन्टी विश्वकप खेलेर फर्किएको थियो । त्यसबेला क्यानको अध्यक्षमा टंक आङबुहाङ् र महासचिवमा अशोकनाथ प्याकुरेल थिए ।

त्यसो त पारसको त्यो पहिलो ‘आन्दोलन’ थिएन । त्यसभन्दा चार वर्षअघि पनि राष्ट्रिय टिमले प्रतियोगिता बहिष्कारको घोषणा गरेको थियो । विनयराज पाण्डेले तत्कालीन क्यान हाँकिरहेका थिए । अनि, पारसले त्यसबेला पनि यही माग राख्दै अन्य ठाउँमा अफिस बन्द भएपछि क्यानको खुल्छ भन्दै व्यंग्य गरेका थिए ।

पारसले १० बुँदे मागमा आर्थिक पारदर्शीताको कुरासमेत उठाएका थिए । उनको आन्दोलन घोषणासँगै २९ चैत २०७० मा अख्तियारले क्यानमा छापा मार्‍यो । विदेशबाट प्राप्त हुने आर्थिक रकम अपचलनमात्र होइन‚ मूलपानीमा क्रिकेट मैदान निर्माणका लागि दिएको खर्चसमेत पारदर्शी नहुँदा क्यान एकपछि अर्को विवादमा फसिरहेकै थियो । क्यानको तत्कालीन कार्यसमिति निर्वाचित हुनुअघि नै क्यानका केही पदाधिकारीका नाममा ४० लाख रुपियाँ बक्यौता देखिएको थियो । जसले गर्दा पारसको मागमा दम पनि थियो । तत्कालीन राखेप सदस्यसचिव युवराज लामाले खेलाडीहरूको समस्या संचारमाध्याममार्फत् थाहा पाएको बताएका थिए ।

निरन्तर ६ दिन लामो आन्दोलन र दबाबपछि मध्यरातसम्म क्रिकेटरको टोलिसहित वार्ता भयो । अन्तत: आन्दोलनमा उत्रिएका राष्ट्रिय क्रिकेट टिमका खेलाडी र क्यानबीच ‘छुट्टै योजना तथा अनुगमन समिति’ निर्माण गर्ने सहमति भयो । जसमा पारससहित प्रशिक्षक पुवुदु दाशानायके पनि समितिमा थिए । सदस्यसचिव युवराज लामाको समन्वयमा ३ वैशाख ०७१ मा पारसले आन्दोलन फिर्ता लिन सहमति जनाए ।

यसले पारस सम्बन्धित निकायको नेतृत्वमा रहेकाहरूलाई जानकारी दिएर मात्र भन्दा समस्यालाई सार्वजनिक गरेर नै समाधानको जस पनि सँगै लिन चाहन्थे । जुन कुरामा पारस पटक-पटक सफल भए । अर्थात् पारस मैदानमा जसरी सफल थिए । उनी चुपचाप बसेर खेल्ने खेलाडीमात्र थिएनन् । परिस्थितिअनुसार ‘राजनितीक छवि’ प्रस्तुत गर्न उत्तिकै क्षमतावान थिए र अहिले पनि उनी यसमा माहिर मानिन्छन् ।

पुवुदु राख्न अर्को दबाब
पारसले निरन्तर क्यानको सार्वजनिक आलोचना जारी राखेका थिए । खेलाडी राजनीतिमा प्रशिक्षकसमेत संलग्न भएको तत्कालीन क्यान नेतृत्वको आशंका थियो । पारसले लगातार क्रिकेट संघलाई निशाना साँधिरहँदा क्यान स्वभाविक रुपमा कप्तानसँग असन्तुष्ट थियो नै साथमा आन्दोलन अन्त गर्ने सहमतिमा प्रशिक्षकलाई समेत घुसाएपछि क्यान भित्री रुपमा प्रशिक्षक पुवुदुलाई हटाउने अभियानमा लाग्यो । पुवुदु नेपाललाई विश्वकप पुर्‍याउने सफल प्रशिक्षकका रुपमा थिए । त्यसैले क्यानले तत्काल निर्णय गरेर हटाउन पनि सक्दैनथ्यो । तर, प्रशिक्षकको सम्झौता सकिएको र थप्न चौतर्फी दबाब थियो ।

क्यानले ९ चैतमा क्यानको कार्यसम्पादन समिति बैठकले दासानायकेको सम्झौता १ वर्ष थप्ने निर्णय गरेको थियो । सम्झौता नवीकरण गर्नेबारे कार्यसम्पादन बैठकमा सबैले सहमति जनाएका थिए । तर क्यानले पुबुदुलाई एसीसी प्रिमियर लिग खेल्न मलेसिया जानुअघि तीन महिनाको मात्र सम्झौता नवीकरण गर्‍यो । यो नेपाली क्रिकेट इतिहासमै कुनै प्रशिक्षकलाई तीन महिनाका लागि सम्झौता गरिएको पहिलो घटनाका रुपमा रह्यो । प्रशिक्षकको सम्झौतामा झेल गरिएको आरोप पारसले लगाएका थिए ।

पारस भित्रीरुपमा चन्द नेतृत्वमा नआउन् भन्ने चाहन्थे । तर त्यसो भएन । उनले जसको निरन्तर आलोचना गरे‚ उही नेतृत्व आएपछि पारसले पक्कै ‘असहज महसुस’ गरिरहेका थिए।

उनले भनेका थिए, ‘पदाधिकारीहरू अख्तियार धाउनुपरेकाले काम गर्न नभ्याएको हाँस्यास्पद तर्क गरे,’ उनले थपे ‘उनीहरु प्रशिक्षकलाई अपमान गरेर नियतबस नै निकाल्न चाहिरहेका छन् ।’ पारसले आर्थिक पारदर्शिताको कुरा उठाएसँगै अख्तियारले छानबिन गरेको थियो । सोही कारण पदाधिकारीहरूले रुखो जवाफ पारसलाई दिएका थिए ।

खेलाडीको विद्रोहपछि बाध्य भएर क्रिकेट विकासका लागि योजना तथा अनुगमन समिति बनाएर कार्यान्वयन गर्ने सहमतिसँगै क्यान पदाधिकारीको राजीनामा माग राख्दै भएको आन्दोलन फिर्ता भयो । यद्यपि पारसको अडानका कारण पुबुदुलाई समितिमा राख्नुपरेको भनेर क्यान पदाधिकारीहरू उनीसँग त्यसको बदला लिइने हरेक अवसर खोजिरहेका थिए । उनीहरू एउटा प्रशिक्षक क्यानभन्दा माथि रहेर बनाइएको समितिमा बस्नु ठिक नभएको भन्दै पुबुदुलाई छिटो घर पठाउन चाहन्थे ।

पारसलाई बर्खास्त अनि फिर्ता
क्यान पदाधिकारी र पारसबीचको ‘शितयुद्ध’ कम भएको थिएन । पारसले सार्वजानिक रुपमै क्यानको निरन्तर आलोचना जारी राखे । २०७२ को असोजमा क्यानको बोर्ड बैठक बस्ने तयारी भइरहँदा राखेपले क्यान विघटन गर्ने तयारी चलेको चर्चा चल्यो र सो बैठकमा कप्तान पारससहित केही खेलाडीसमेत सहभागी भएको भनेर क्यान भित्रैबाट पारसलाई कारबाही गर्नुपर्ने आवाज उठ्यो ।

विश्व क्रिकेट लिग च्याम्पियनसिपमा सहभागी हुनुअघि क्यानको बहुमतले मध्यरातमा पारसलाई कप्तानबाट हटाउने निर्णय गरेको समाचार १५ असोजमा एक राष्ट्रिय दैनिकको मुख्य समाचारका रुपमा प्रकाशित भयो । पारसलाई ‘अनुशासनको कारबाही’स्वरुप कप्तानबाट हटाइएको बताइएको थियो । चर्को आलोचना भएपछि क्यानले नहटाएको बतायो तर, उसले समाचारको खण्डन गरेन । पारसले पत्रकार सम्मेलन गरेर अदालत जाने बताएका थिए । चर्को आलोचना पछि क्यानले पुन: पारसलाई नै कप्तानका रुपमा पठाएको थियो ।

क्यानमा जोडिएको राजनितीक ‘कनेक्सन’
क्यान विवादको ऋङ्खला लामो छ यद्यपि २०६८ सालमा लामो समय तदर्थ अवस्थामा चलेको क्यानले निर्वाचनमार्फत् नयाँ नेतृत्व चुनेको थियो । तर अध्यक्ष टंक आङबुहाङ्सहित १० जना भ्रष्टाचार मुद्दामा परेपछि क्रिकेट संघ थलियो । अनेक विवादको ऋंखला झनै पेचिलो भयो । चार वर्षे कार्यकालको अन्त्यतिर भ्रष्टाचारको आरोप लागेकाहरूले सफाइ पाए । तर नयाँ नेतृत्व चयनका बारेमा भने सहमति जुट्न सकेन ।

एमाले नेतृत्वको तत्कालीन सरकारले क्यानमा खेल्न सुरू गर्‍यो र त्यसलाई तत्कालीन एकीकृत माओवादीले साथ दियो । यता क्यानभित्र लामो समय आफ्नो विरासत बनाउँदै आएका कांग्रेस समर्थकले राखेपको अनुमतिबिना नै साधारणसभा गरे र कांग्रेसका चतुरबहादुर चन्दलाई क्यानको अध्यक्ष चयन गरे । तर तत्कालीन राखेप नेतृत्वले उक्त कमिटीलाई मान्यता दिएन । राखेपले विवाद सुल्झाउनुको साटो चन्दको निर्वाचित नेतृत्वलाई अस्वीकार गर्दै तदर्थ समिति बनायो । तत्कालीन समयमा एमालेबाट राखेपमा रहेका केशव विष्टले आईसीसीसँग कुरा भएर तदर्थ समिति बनाएको दाबी गरेका थिए । पछि विवाद अदालतमा पुग्यो तर‚ अदालतले समयमा फैसला गरेन ।

आइसीसीले सरकारी हस्तक्षेप तथा स्वतन्त्र निर्वाचन गर्न नसकेको कारण देखाउँदै १३ वैशाख ०७३ मा क्यान निलम्बन गर्‍यो । क्यानलाई एसोसिएट राष्ट्रको नियम २.९ अनुसार निलम्बन गरेको जानकारी आईसीसीले गरेको थियो । यद्यपि खेलाडीलाई भने आईसीसीको अनुमतिमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न रोक लगाइएन ।

निलम्बनपछि पारस झनै बलियो
निलम्बनपछि क्यानको चर्को आलोचना गर्दै आएका पारसले निलम्बनले नयाँ रुपमा नेपाली क्रिकेटलाई सोच्नुपर्ने अवस्थामा ल्याएको बताएका थिए । उनले निलम्बनपछि नयाँ रुपमा क्यान आउने विश्वास गरेका थिए ।

क्यान निलम्बनका बावजुद आफ्नो कप्तानीमा नेपाललाई जित दिलाइरहे । आईसीसीसँगको समन्वयमा उनी खेलाडी छनोटदेखि व्यवस्थापनसम्मको जिम्मेवारीमा प्रत्यक्ष संलग्न रहे । जसले उनलाई व्यवस्थापन र क्यानको भूमिकाबारे झनै बुझ्ने अवसर मिल्यो । नेतृत्वमा रहेर काम गर्दाको ‘रस’ भिज्यो । शायद उनको महत्वकांक्षा अझ बढ्यो ।

आफू प्रतिकूल नेतृत्व र निलम्बन फुकुवा
साढे तीन वर्ष लामो प्रक्रियापछि क्यानको नयाँ विधानमा सहमति भयो । सोहीअनुसार आईसीसीले क्यानको नयाँ नेतृत्व आएपछि निलम्बन फुकुवा गर्ने बतायो । नयाँ निर्देशिकाअनुसार १० र ११ असोज २०७६ मा क्यानको निर्वाचन भयो । निर्वाचनमा पुरानै चर्चामा रहेका विनयराज पाण्डे र चतुरबहादुर चन्द आ-आफ्नो प्यानल बनाएर मैदानमा उत्रिए । तत्कालीन अवस्थामा निर्वाचित क्यानका चन्दले भारी मतान्तरले पाण्डेलाई पराजित गरे । चन्दले ४४ मत पाउँदा पाण्डेले केवल १५ मतमात्रै प्राप्त गरेका थिए । त्यसबेला पारस भित्रीरुपमा चन्द नेतृत्वमा नआउन् भन्ने चाहन्थे । तर त्यसो भएन । उनले जसको निरन्तर आलोचना गरे‚ उही नेतृत्व आएपछि पारसले पक्कै ‘असहज महसुस’ गरिरहेका थिए ।

पारसका लागि क्यान राजनीति कुरूक्षेत्रमा कौरवले रचेको चक्रव्युह जस्तै हो । जहाँबाट उनी कसरी निस्कन्छन्‚ त्यो भने समयले बताउनेछ । यद्यपि ‘अभिमन्यु’ बन्ने उनको आँट पनि आफैँमा एक विजयभन्दा कम होइन ।

नयाँ नेतृत्व आएसँगै २७ असोज २०७६ मा आईसीसीको दुबईमा बसेको बोर्ड बैठकले क्यानको निलम्बन फुकुवा गर्‍यो । त्यसपछि पुन: क्रिकेट गतिविधि क्यान अन्तर्गत आयो । नयाँ कार्यसमिति र निलम्बन फुकुवासँगै पारसले कप्तानबाट राजीनामा दिए । त्यतिबेला नै उनले सनन्यासबारे सोचेको बताएका छन् । यद्यपि गलत सन्देश जाने भएर उनले कप्तानबाट राजीनामा दिँदै खेलाडी जीवनबाट टाढा हुने संकेत दिए ।

उपलब्धिमा सधैँ बाँच्ने मौका ?
पटक-पटक आफूले आलोचना गरेको क्यान नेतृत्व आएको र तत्काल योभन्दा ठुलो उपलब्धि प्राप्त हुने अवस्था पारसले देखेका थिएनन् । साथै आफ्नो क्रिकेट करिअरमा टी-२० विश्वकप र एकदिवसीय मान्यताको यो उपलब्धि उनको खेल जिवनको सर्वाधिक माथिल्लो उपलब्धि हो ।

२०२३ मार्चसम्म मात्र नेपालको एकदिवसीय मान्यता छ । त्यसपछि नेपालले एकदिवसीय खेलमा पाएको सफलता र आईसीसीको नियमअनुसार नेपाल एकदिवसीय रहने नरहने तय गर्नेछ । त्यसैले पनि पारस उपलब्धि कायम रहेको बिचमा नै बाहिरिने सोचमा पुगेका हुन सक्छन् । यसलाई बिचमै छाड्दा उपलब्धि गुमेको खण्डमा पनि उनी सधैँ नेपाली क्रिकेटमा सोहि छविका साथ बाँच्नेछन् ।

अब योभन्दा ठुलो उपलब्धी भनेको टेस्ट मान्यता प्राप्ति तथा एकदिवसीय विश्वकप सपना उनले जति खेल जीवन लम्ब्याएपनि तत्काल पूरा हुने अवस्था थिएन नै । त्यसैले टेस्ट र एकदिवसीयको सपना अब नेतृत्वमा लागेर पूरा गर्ने अर्को लक्ष्य बनाएको आकलन गर्न सकिन्छ ।

क्यानमा आउन विधानअनुसार पनि कम्तिमा खेलाडी जीवनबाट २ वर्ष अघि सन्यास लिएको हुनुपर्ने प्रावधानलाई त उनले ख्याल गर्नु नै पर्ने थियो । क्यानमा आउने हाकाहाकी बताइसकेपछि २ वर्षअघि सन्यास लिएको हुनुपर्ने प्रावधानलाई उनले मान्न उनले राष्ट्रिय टिम र टिममा गज्जब प्रदर्शन गर्ने सपना त्याग्नैपर्ने थियो ।

दल नसमाती पुगिएला क्यानको नेतृत्वमा
नेपाली खेलकुदमा दलगत छाँया कति छ भन्ने कुरा पारसले नजिकबाट बुझेका छन् । अझ उनले पुरानो क्यान नेतृत्व नै नयाँ विधानअनुसार निर्वाचित हुँदा झनै नजिकबाट नियालेका छन् । त्यसमा पनि दुई उम्मेद्वारको मतान्तरले जिल्ला-जिल्लामा गडेको दलीय मानसिकता तत्काल हट्ला भन्ठान्नु भुल शिवाय केही होइन ।

त्यसैले स्वतन्त्र रुपमा क्यान नेतृत्वमा आउने सपना सोचेजस्तो सहज हैन असम्भव नै छ । जतिसुकै लोकप्रिय भए पनि चुनावी प्रतिस्पर्धामा दलीय छायाँबाट अहिलेसम्म कुनैपनि संस्थाहरू टाढा भएका छैनन् ।

दलीय समर्थनबिना स्वतन्त्र हुनुपर्ने बार एसोसिएसनदेखि पत्रकार महासंघसम्मका निकायको जित कल्पनासम्म पनि गर्न सकिँदैन । अर्को कुरा‚ खेलाडी र कप्तानका रुपमा पारस जति लोकप्रिय छन्‚ त्यसको तुलनामा अर्को नेपाली खेलाडी कोही छैन तर‚ यथार्थ के हो भने मत आम मानिस वा खेलप्रेमीले दिने होइन । क्यानमा मतदानका लागि आउने प्रतिनिधिहरू नै दलीय हिसाबले आउँछन् ।

त्यसैले पारसका लागि क्यान राजनीति कुरूक्षेत्रमा कौरवले रचेको चक्रव्युह जस्तै हो । जहाँबाट उनी कसरी निस्कन्छन्‚ त्यो भने समयले बताउनेछ । यद्यपि ‘अभिमन्यु’ बन्ने उनको आँट पनि आफैँमा एक विजयभन्दा कम होइन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *