गीतबाटै चेतना र समानताको बिगुल फुक्ने जेबी टुहुरे

काठमाडौँ । जनताका गायकको परिचय बनाएका जेबी टुहुरे मस्तिष्क घातका कारण बयोधा अस्पतालमा भर्ना भएका छन् । मङ्गलबार दिउसो कलङ्कीस्थित घरमै अचानक बेहोस भएर ढलेपछि उनलाई अस्पताल भर्ना गरिएको हो । अहिले उनी कोमामा रहेका उनको उपचार भइरहेको अस्पतालले जनाएको छ ।

बा बितेपछि ‘टुहुरे’
विसं. २००१ सालमा धरानमा जन्मिएका जुठबहादुर खड्गी‚ २०२१ सालमा जेबी टुहुरे बनेका हुन् । आफ्ना बुबाको मृत्युपछि उनले ‘जेबी टुहुरे’  नामले परिचित भए । २१ वर्षको उमेरमै आफ्ना बुबालाई गुमाएपछि उनलाई जिम्मेवारीले थिच्यो । यही जिम्मेवारीले बाबुको अभाव दैनिकजसो महसुस हुन थाल्यो । यसै क्रममा उनले आफ्नो नाम नै जुठबहादुर ‘टुहुरे’ खड्गी राखेर नागरिकता बनाए । नाम लामो भएको कारण छोट्याउदा उनी दर्शक स्रोता माझ जेबी टुहुरे नामले परिचित भएका हुन् ।

सानै उमेरदेखि कलातर्फ आकर्षण
उनी सानैदेखि विद्यालयका सांस्कृतिक कार्यक्रममा नृत्य गर्न पुग्थे । दसैँ-तिहारमा हुने कार्यक्रममा नाच्दै गर्दा बिस्तारै उनमा गायनप्रति पनि रुची बढ्न थाल्यो । गाउँका साथीभाइ र छरछिमेकीहरूले तिमी रेडियोमा गीत गाऊँ भन्दै हौसला दिने गर्थे । यसले उनमा पनि गीत गाउने मोह बढ्यो । उनी हौसिए र केही पैसा बोकेर घरबाट भागेर काठमाडौँ आए । उनी रेडियो नेपाल पुगे । संयोगले त्यो दिन प्रजातन्त्र दिवसको दिन थियो । उनले गायन प्रतियोगितामा भाग लिन पाए । र, पहिलो पटक उनको गीत रेडियोमा रेकर्ड पनि भयो, गीतको बोल थियो- ‘हा हा काली‚ हा छैन नि माली हा… ।’

साढे ३ कक्षासम्मको अध्ययन
अध्ययनको विषयमा उनले आफू साढे ३ कक्षा पढेको उनले बताउने गरेका छन् । आर्थिक अभावका कारण उनले बिचैमा पढाइ छाड्नुपरेको थियो । साढे ३ कक्षा नै किन त ? ३ कक्षा पढिसकेको तर‚ ३ कक्षाको परीक्षा नदिँदै पढाइ छोड्नुपरेकाले उनी रमाइलो शैलीमा आफूले साढे ३ कक्षा पढेको भन्ने गरेका रहेछन् । तर केही समय अध्यापन समेत गराएको अनुभव छ उनीसँग ।

माया प्रेमपछि ‘जनवादी’ गीततर्फ आकर्षण
‘जनवादी गायक’का रूपमा परिचित टुहुरेले केही माया प्रेमका गीतसमेत गएका छन् । सोल्टिनी कान्छीलगायत गीत गएका उनले राजनीतिक चेत विकास भएपछि आफ्नो गायनको ‘प्याट्रन’ परिवर्तन गरेका हुन् । त्यसपछि उनले बसाइ हिँड्नेको ताँतीले, वीर छोरा छोरी हो जस्ता प्रगतिशील गीतहरू गाउन थाले । उनका आमा दिदीबहिनी हो, गाउँ गाउँबाट उठलगायत केही गीतहरू प्रगतिशील, जनवादी गीतको इतिहासमा ‘माइल स्टोन’ को रूपमा स्थापित भएका छन् । उनले रेडियो नेपालमा स्वर परीक्षा भने धेरै पछि मात्रै दिन पाए ।

राजनीतिमा टुहुरे
टुहुरे २०२५ सालमा पहिलो पटक कम्युनिस्ट आन्दोलनमा जोडिए । भूमिगत अवस्थामै उनले सांस्कृतिक समितिमा रहेर लामो समयसम्म गीत गाउँदै हिँडे । कति पटक कुटाइ खाएकोदेखि जेल परेकोसम्म अनुभव छ उनीसँग । तर ‘पार्टीले के दियो ?’ भन्ने प्रश्नले उनलाई घोचिरहन्थ्यो । देशमा परिवर्तनका लागि भनेर धेरै आन्दोलन भए । तर उनको अवस्था जहाँको त्यहीँ । त्यसैले कृष्ण केसी, शम्भु राई लगायतले समेत सुझाएपछि उनी २०६६ सालमा पार्टी परिवर्तन गरी माओवादीमा प्रवेश गरे । यही पार्टीबाट उनी २०७० सालमा समानुपातिक तर्फबाट सांसद् बने । यसलाई उनी आफ्नो लामो सङ्घर्षको सफलता मान्छन् । दशकौँ बिताएको पार्टीले शुरुमा बेवास्ता गरेको तर‚ ढिलै भएपनि आफ्नो योगदानको कदर भएको उनले बताउने गरेका छन् ।

सातु सामल बोकेर गीत सुन्न आउने स्रोता
उनी आन्दोलनमा होमिएको समयमा ‘सम्पर्क गीत कार्यक्रम’ भनेर सञ्चालन गर्थे । विभिन्न ठाउँमा पुगेर उनीहरू गीत गाउने गर्थे । तत्कालीन समयको सत्तामा भएका व्यक्तिहरूले कतिपय स्थानमा स्टेज भत्काइदिने गर्थे । कतिपय स्थानमा स्थानीयले स्टेज बनाएर कार्यक्रम गर्न सहज बनाउथे । त्यसबेला आफू र आफ्नो समूहका कलाकारका गीत सुन्न मानिसहरू १२ कोष टाढाबाट समेत पुग्ने गरेको र त्यो नै आफ्नो लागि सबैभन्दा ठूलो हौसला र प्रेरणा हुने गरेको उनी सम्झना गर्छन् । सातु सामल नै बोकेर गीत सुन्न आउने मानिसको सङ्ख्यासमेत ठुलै हुने गरेको पनि बेला बेला सम्झना हुने उनी बताउँछन् ।

  • अस्पतालको शय्यामा जीवनका लागि संघर्ष गरिरहेका टुहुरेलाई स्वास्थ्यलाभको कामना ।
प्रतिक्रिया

One thought on “गीतबाटै चेतना र समानताको बिगुल फुक्ने जेबी टुहुरे

  1. शिघ्र स्वास्थ्य लाभको कामना कमरेड,तपाईको योगदानले बामेनेताहरु उनिहरुका आफन्त र आसेपासे नव धनाढ्यभएर सामन्तको जिवन जिएका छन्॥आम जनताको अहिले पनि दुख कष्ट उहि छ॥जनताले केहि पाऊने आशमा सत्तामा पुर्याए,मन मिलुन्जेल मोज गरे,आपसमा नमिलेपछि प्रतिक्रियावदीलाई सत्ता सुम्पेर कोहि उनिहरुको टाँङमुनि छिरे,बामेहरू टुटफूटमा नै रमाउने जात रहेछ॥गोरु बुद्धि भएका बामेहरु अहिले एकआपसमा हिलो छ्यापाछ्याप गरेर सत्य ओकल्दैछन्॥तपाईले संगित मार्फत जन चेतनामा पुर्याएको योगदानलाई सलाम॥॥॥

Leave a Reply

Your email address will not be published. Required fields are marked *