नेपाललाई नेम्वाङ्गको आग्रह- ‘अझै केही भएको छैन, फर्किनुस्’

‘उहाँले गम्भीर गल्ती गर्नुभो’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ्गले अलग पार्टी दर्ता गरेका माधवकुमार नेपाललाई एमालेमै फर्किन आग्रह गरेका छन् । मकालुखबरसँग संक्षिप्त कुराकानी गर्दै नेम्वाङ्गले नेपाललाई पुनः साबिक पार्टीमै फर्किन आग्रह गरेका हुन् । आफू पहिलेदेखि नै एकताको पक्षमा रहेको उल्लेख गर्दै नेम्वाङ्गले भनेका छन्, ‘अझै पनि म एकताकै पक्षमा छु, म त उहाँ (नेपाल) लाई अझै यही आग्रह गर्छु । केही बिग्रेको छैन, पार्टीमै फर्किनुस् भनेर ।’

नेम्वाङ्गले नेपाल समूहमा एमालेको सानो हिस्सा मात्रै गएको दाबीसमेत गरेका छन् । ‘हिजो उही कित्तामा उभिनुभएको साथीहरूले उहाँ (नेपाल) को साथ छोडिसक्नुभएको छ,’ नेम्वाङ्गले भने, ‘तै पनि यति राम्रो पार्टीलाई विभाजन गरेर के पाइन्छ र ? आउनुस् तपाईं पनि भनेर मैले आग्रह गरेको छु ।’

‘उहाँले गम्भीर गल्ती गर्नुभो’

नेम्वाङ्गले सरकारलाई अध्यादेश जारी गराएर नेपालले गम्भीर गल्ती गरेको बताउँछन् । आफूअनुकूल अध्यादेश जारी गराएर पार्टी फुटाउनुले एमालेलाई मात्रै नभएर सिङ्गो लोकतन्त्र चाहने नेपाली राजनीतिक दललाई नै असर गर्नेगरी नेपालले संसदीय व्यवस्थामा कालो पोतेको बताउँछन् । ‘उहाँले बेठिक गर्नुभयो,’ नेम्वाङ्गले भने, ‘गम्भीर गल्ती गनुभयो । यसले नेपालको संसदीय व्यवस्थालाई खल्बल्याएको छ ।’

जनतालाई झुक्याएर शासनसत्ता सञ्चालन गर्नु अलोकतान्त्रिक भएको दृष्टान्त सुनाउँदै नेम्वाङ्गले भने, ‘उहाँहरुले संसद्लाई छलेर, जनतालाई झुक्याएर आफ्नो सरकार टिकाउन खोज्नुभयो । यसले कहीँ कसैलाई पनि फाइदा गर्दैन ।’

‘नेपालबिनाको एमाले बन्नसक्छ’

अब भने नेपाल पार्टीमा नफर्किने प्रक्षेपण नेम्वाङ्गको छ । भन्छन्, ‘अब त उहाँ फर्किनुहुन्छ भन्ने त लाग्दैन । तै पनि उहाँलाई सधैं भनिरहेकै छौँ आउनुस् भनेर । यदि उहाँ नै आउनुभएन भने सबै साथीहरु भने आउनुहुन्छ । त्ससो हुँदा उहाँ (नेपाल) बन्नसक्छ ।’

भीम रावल, योगेशकुमार भट्टराई, सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्ट, प्रदीप नेपाललगायतका नेताहरुको उदाहरण दिँदै नेपालले भने, ‘अन्ततः सबै साथीहरु आउन सक्नुहुन्छ । त्यो बेला उहाँ एक्लै रहनुहुन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *