खुला पुस्तक ‘एमाले समाजवादी’ले नपाउने 

काठमाडौैं । नयाँ दल दर्ताका लागि निवेदन दिएको नेकपा एमाले (समाजवादी) दलले खुला पुस्तक चुनाव चिह्न नपाउने भन्दै केही नेताहरू निर्वाचन आयोगमा पुगेका छन् । बन्दाबन्दी (लकडाउन्) हुनुभन्दा केही समयअघि दर्ता गरिएको उन्नत लोकतान्त्रिक पार्टीले खुला पुस्तक चुनाव चिह्न राखेकाले अब कुनै पनि दलले त्यो चिह्न नपाउने उक्त दलका केन्द्रीय सदस्य बोधराज न्यौपानेले बताए । ‘त्यो चनाव चिह्न हाम्रो हो,’ न्यौपानेले मकालुखबरसँग भने, ‘दल दर्ता भइसकेको छ । हाम्रो पार्टीले प्रमाणपत्र लिन मात्रै बाँकी छ ।’

स्वागत नेपाल संयोजक रहेको उक्त पार्टीले बैशाखमा पार्टी दर्ता गराएको दाबी गरेको छ । ‘हामीले बैशाखमा दल दर्ता गराइसकेका छौँ,’ न्यौपानेले भने, ‘त्यो चुनाव चिह्न हामी कसैलाई दिदैनौँ । किनकि यसअघि नै त्यो चिह्न हाम्रो उन्नत लोकतान्त्रिक पार्टीले भइसकेको छ ।’

|बोधराज न्यौपाने, केन्द्रीय सदस्य- उन्नत लोकतान्त्रिक पार्टी|

आफ्नो चुनाव चिह्न अरु कसैले लिए र निर्वाचन आयोगले दिएको खण्डमा आफूहरु अदालत जाने न्यौपानेको चेतावनी थियो । ‘निर्वाचन आयोगद्वारा हाम्रो चुनाव चिह्न प्रदान गरिएको खण्डमा हामी कानूनी उपचार खोज्छौँ । अदालत जान्छौँ, हामी लड्छौँ ।’

‘चुनाव चिह्नबारे निर्णय गर्छौँ’

निर्वाचन आयोगले पनि उन्नत लोकतान्त्रिक पार्टी दर्ता भएको स्वीकारेको छ । यद्यपि पार्टी दर्ताको प्रमाणपत्र नदिइसकिएको बताउँदै आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले तत् विषयमा आयोगले निर्णय गर्ने बताए । ‘हो त्यो नामको पार्टी दर्ता भएको हो,’ प्रवक्ता श्रेष्ठले भने, ‘यो विषयमा निर्वाचन आयोगले निर्णय गर्छ र दुवै पार्टीलाई जानकारी दिन्छ ।’

नेपाल नेतृत्वको एमाले समाजवादीको निवेदन मात्रै दर्ता भएको बताउँदै प्रवक्ता श्रेष्ठले थपे, ‘आज उहाँ (माधवकुमार नेपाल)हरुको निवेदन मात्रै दर्ता भएको हो । कुनै खाले निर्णय दिइसकिएको होइन । निवेदन मात्रै दर्ता हुनु अस्वाभाविक होइन, चुनाव चिह्नको बारेमा आयोगले निर्णय लिएपछि उहाँहरुले कसले पाउने हो त्यो चुनाव चिह्न बल्ल थाहा हुन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *