सबै घरमा २०८० सम्म बिजुली पुर्‍याउने प्राधिकरणकाे लक्ष्य

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले मंगलबार आफ्नो स्थापनाको ३६ औं वार्षिकोत्सव मनाउँदै छ । केही दिनअघि मात्र दोस्रो पटक प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्त भएका कुलमान घिसिङले वार्षिकोत्सवका अवसरमा प्राधिकरणले हालसम्म गरेका उपलब्धि र आगामी कार्यदिशाबारे वार्षिक प्रतिवेदन सार्वजनिक गरेका छन् ।

प्राधिकरणले आगामी २०८० सालभित्र सबै नेपालीको घरमा विद्युत् पुर्याउने मुख्य लक्ष्य राखेको छ । प्राधिकरणले जारी गरेको प्रतिवेदनमा भनिएको छ– ‘गत आर्थिक वर्षमा राष्ट्रिय गौरवको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको पहिलो युनिटबाट परीक्षण उत्पादन गर्न सकेकोमा हाल ६ वटै यु्निटबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न सफल भएको हुँदा यसलाई हामीले प्रमुख उपलब्धीका रूपमा लिएका छौं।’

प्रतिवेदन अनुसार हाल देशका कूल जनसंख्याको ९० प्रतिशत नागरिकसम्म आधारभूत रूपमा ग्रिडको पहुँचसहितको विद्युत् पुगेको छ । यसलाई विस्तार गर्दै २०८० सालभित्र देशका सबै नागरिकसम्म विद्युत् पुर्याउने लक्ष्य राखिएको छ । प्राधिकरणकाे स्थापन २०४२ साल भदाै १ गते भएकाे थियाे ।

कार्यकारी निर्देशकको प्रतिवेदन—२०७८

वि.सं. २०४२ साल भदौ १ गते स्थापना भएको नेपाल विद्युत् प्राधिकरणले आफ्नो ३६औं वार्षिकोत्सव मनाउँदै छ। विद्यमान कोभिड–१९ को विषम परिस्थितिका बाबजुद नियमित रूपमा विद्युत् सेवा उपलब्ध गराउन प्राधिकरण सफल भएको छ। प्राधिकरणले गत वर्षभरिमा सम्पादन गरेका गतिविधिबाट प्राप्त उपलब्धि र भावी कार्यदिशा समेटिएको वार्षिक प्रतिवेदन यहाँहरू समक्ष प्रस्तुत गर्न पाउँदा खुसी लागेको छ।

गत आर्थिक वर्षमा राष्ट्रिय गौरवको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको पहिलो युनिटबाट परीक्षण उत्पादन गर्न सकेकोमा हाल ६ वटै युनिटबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न सफल भएको हुँदा यसलाई हामीले प्रमुख उपलब्धीका रूपमा लिएका छौं।

कोरोना महामारीले विद्युत् चुहावट र संस्थाको मुनाफामा प्रतिकूल असर पारेको छ। आम जनताको जीउधनको सुरक्षाका लागि नेपाल सरकार र स्थानीय प्रशासनबाट जारी गरिएको

बन्दाबन्दी र निषेधाज्ञाले नियमित मिटर रिडिङ र विद्युत् चुहावट नियन्त्रण गर्ने कार्य प्रभावित हुन पुग्यो। जसका कारण गत वर्ष १५.२७ प्रतिशत रहेको विद्युत् चुहावट आ.व. २०७७/७८ मा १७.१८ प्रतिशत हुन गएको छ।

विश्वमा उपलब्ध आधुनिक प्रविधिहरूको अधिकतम प्रयोग गरी सेवा प्रवाहमा चुस्तता ल्याउन र गुणस्तर वृद्धि गर्न प्राधिकरण प्रयत्नशील रहेको छ। यसैअनुसार संस्थागत स्रोत योजना (Enterprises Resource Planning) को कार्यान्वयन, संरचनाहरूको भौगोलिक नक्सांकन (Grographical Mapping ‘GIS’), स्मार्ट मिटरिङ, सबस्टेसनहरू स्वचालित गर्ने गत वर्षको योजनाहरू कार्यान्वयन भइरहेको छ। सूचना प्रविधि मार्गचित्रको अवधारण अनुरूप Digital NEA बनाउँदै नेपाल सरकारको ’डिजिटल नेपाल’ निर्माण गर्ने लक्ष्य पूरा गर्न प्राधिकरणले विविध योजनाहरू कार्यान्वयन गरिरहेको छ।

सुरक्षासम्बन्धी मापदण्ड अपनाउँदा अपनाउँदै पनि गत वर्ष कर्तव्य निर्वाहको क्रममा प्राधिकरणका कर्मचारीहरू घाईते, अंगभंग हुनुका साथै केहीको दुखःद् निधनसमेत भएको छ। आफ्नो कर्तव्य पालना गरिरहँदा कोभिड–१९ संक्रमणकै कारणले प्राधिकरणले आफ्नो परिवारको केही सदस्यहरू गुमाउनुपरेकोमा हामीलाई थप मर्माहत बनाएको छ। दिवंगत कर्मचारीहरूप्रति म व्यक्तिगत र संस्थाको तर्फबाट हार्दिक श्रद्घाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा भावपूर्ण समवेदना व्यक्त गर्दछु। आगामी दिनमा यस किसिमका घटनाहरू हुन नदिन सबै किसिमका सुरक्षाका उपायहरू अवलम्बन गरी उच्च सर्तकताका साथ कार्यक्षेत्रमा खटिने व्यवस्था मिलाइने प्रतिबद्धता व्यक्त गर्दछु।

कोभिड–१९ संक्रमणको कारणले जीवन गुमाउनुभएका उपभोक्ता तथा नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दैै संक्रमित सबैको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गर्दछु।

आ.व. २०७७/७८ मा संस्थाले गरेको कार्य सम्पादन, प्राप्त उपलब्धि र आगामी दिनको कार्ययोजनाहरू निम्नानुसार रहेको व्यहोरा अनुरोध गर्दछु:

सञ्चालन उपलब्धि
विगतमा जस्तै गत वर्ष पनि विद्युत् खपत गर्ने ग्राहकहरूको संख्यामा वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष ७.३७ प्रतिशतले ग्राहकको संख्यामा वृद्धि भई ४२ लाख २२ हजारबाट ४५ लाख ३० हजार पुगेको छ। सामुदायिक संस्थातर्फका ५ लाख ५० हजार ग्राहकसहित विद्युत् उपभोग गर्ने कूल ग्राहकको संख्या ५० लाख ८० हजार पुगेको छ।

समग्रमा हालसम्म कूल ९० प्रतिशत देशको जनसंख्यामा आधारभूत रूपमा ग्रिडको पहुँचसहितको विद्युत् पुगेको छ।

आ.व. २०७७/७८ मा साना विद्युतगृहसहित प्राधिकरणका जलविद्युतगृहबाट कूल २ अर्ब ८१ करोडयुनिट विद्युत् मात्र उत्पादन भयो। यो आ. व. २०७६/७७ को उत्पादन ३ अर्ब २ करोड युनिटको तुलनामा ६.९६ प्रतिशतले घटी हो। आ.व.२०७६/७७ मा निजी क्षेत्रका विद्युतगृहहरूबाट २ अर्ब ९९ करोड युनिट विद्युत् प्राप्त भएकोमा गत आ.व.मा ८.३६ प्रतिशतले बढ्न गई ३ अर्ब २४ करोड युनिट प्राप्त भएको छ। यस्तै, आ. व. २०७६/७७ मा भारतबाट १ अर्ब ७३ करोड युनिट विद्युत् खरिद गरिएकोमा ऊर्जाको माग बढेको र प्राधिकरणको उत्पादन घटेको कारणले गत आ.व.मा ६३.४५ प्रतिशत बढी अर्थात् २ अर्ब ८२ करोड युनिट विद्युत् खरिद गरिएको छ।

गत आ.व.मा प्रणालीमा ८ अर्ब ८७ करोड ७९ लाख ५० हजार युनिट घन्टा विद्युत् उपलब्ध भयो। जुन आ.व.२०७६/७७ मा ७ अर्र्ब ७४ करोड १० लाख युनिटको तुलनामा १४.६८ प्रतिशत बढी हो। कूल उपलब्ध ऊर्जामध्ये प्राधिकरणका विद्युतगृहको योगदान ३१.६६ प्रतिशत रह्यो भने आयातीत र निजी क्षेत्रबाट किनिएको विद्युतको योगदान क्रमशः ३१.८३ प्रतिशत र ३६.५१ प्रतिशत रहेको छ।

आ.व.२०७७/७८ मा कूल विद्युत् खपत ७ अर्ब ३१ करोड ९० लाख युनिट रहेको छ। जुन आ.व.२०७६/७७ को ६ अर्ब ५२ करोड ९० लाख युनिटको तुलनामा १२ प्रतिशतले बढिरहेको छ। आ.व. २०७७/७८ मा विद्युत् चुहावट १७.१८ प्रतिशत रहेको छ, जुन आ.व.७६/७७ को तुलनामा १.९१ प्रतिशतले बढी हुन आउँछ। विद्युत् खपतमा भएको वृद्धि कोभिड–१९ को कारणले चुहावट नियन्त्रणको कार्यक्रम उल्लेख्य रूपमा सञ्चालन गर्न नसकिएको र नियमित मिटर रिडिङ हुन नसकेको आदि कारणले उक्त चुहावटमा वृद्धि हुन गएको छ।

वित्तीय उपलब्धि
आ.व.२०७७/७८ मा विद्युत बिक्रीबाट कूल रु.७१ अर्ब २८ करोड आम्दानी भएको छ। जुन आ.व.२०७६/७७ को ७६ अर्ब ३१ करोडको तुलनामा ६.५९ प्रतिशतले न्यून रहेको छ।

आ.व.२०७७/७८ मा प्राधिकरणको सञ्चालन खर्च अघिल्लो आर्थिक वर्षको रु.६१ अर्ब ८७ करोडको तुलनामा १०.९६ प्रतिशतले वृद्धि भई रु.६८ अर्ब ४५ करोड पुगेको छ। विद्युत् खरिदबापत आ.व.२०७७/७८ मा रु.४१ अर्ब ४६ करोड खर्च भएको छ। जुन आ.व.७६/७७ को खरिद रु. ३५ अर्ब १२ करोड भन्दा १८.०५ प्रतिशतले बढी रहेको छ।

आ.व.२०७७/७८ मा प्राधिकरणको अन्य आम्दानीसहितको खुद आम्दानी रु. ८० अर्ब ३५ करोडमा सञ्चालन खर्च रु. ६८ अर्ब ६४ करोड कट्टा गर्दा हुन आउने सञ्चालन मुनाफा रु. ११ अर्ब ७१ करोड रहेको छ। यो सञ्चालन मुनाफा आ.व. २०७६/७७ को रु. २३ अर्ब ७४ करोडको तुलनामा ५०.६७ प्रतिशतले घटी हो। गत आ.व.मा करअघिको मुनाफा ६ अर्ब रहेको छ, जुन आ.व. २०७६/७७ को रु. १३ अर्र्ब २७ करोडको तुलनामा ५४.७३ प्रतिशतले कमी हो। साथै आ.व. २०७६/७७ को करपछिको खुद मुनाफा रु. ११ अर्ब ६८ करोड रहेकोमा गत आ.व.मा रु. ३ अर्ब ५१ करोड अर्थात् ६९.९४ प्रतिशतले कमी रहेको छ।

प्रणालीमा उपलब्ध विद्युतमा खरिदको हिस्सा ६८.३४ प्रतिशत रहेको छ। विद्युत बिक्रीबापत प्राप्त आम्दानीकोे ५८.८३ प्रतिशत रकम विद्युत् खरिदमा खर्च भएको छ। आ.व.२०७६/७७ को तुलनामा विद्युत् आयात बढ्न गएकोले आ.व. २०७७/७८ मा विद्युत् खरिदबापतको खर्चमा १८.०५ प्रतिशतले वृद्धि भएको छ।

आ.व.२०७७/७८ मा दीर्घकालीन ऋणको ब्याज ५ अर्ब पुगेको छ। त्यस्तै ह्रासकट्टी खर्च अघिल्लो वर्षको तुलनामा ७.५ प्रतिशतले वृद्धि भई ५ अर्ब ३४ करोड पुगेको छ। विदेशी मुद्रा विनिमयतर्फ अघिल्लो वर्ष २२ करोड ८० लाख नोक्सानी व्यहोरेकोमा आ.व.२०७७/७८ रु. १७ करोड ७८ लाख आम्दानी गरेको छ। पुँजीगत कार्यको लगानीमा रु. २६ अर्ब ६४ करोडले थप भई आ.व. २०७७/७८ सम्मको कुल पुँजीगत लगानी रु. १ खर्ब ४० अर्ब ९४ करोड पुगेको छ। उपदान, निवृत्तिभरण, औषधि/उपचार खर्च, सञ्चित बिदाजस्ता कर्मचारीको दीर्घकालीन दायित्वको लागि रु.४ अर्ब छुट्टयाइएको छ।

प्रशासनिक गतिविधि

कर्मचारीको वृत्ति विकास र सेवा सुविधालाई ध्यानमा राखी नेपाल विद्युत् प्राधिकरण कर्मचारी सेवा, सर्त विनियमावली–२०७५ मा आवश्यक्तानुसार संशोधन गरिएको छ। प्राधिकरणको सांगठिनक तथा दरबन्दी संरचनामा समयानुकूल सुधार गर्न गठित उपसमितिले अध्ययन सम्पन्न गरी पेस गर्ने प्रतिवेदनका आधारमा संगठन तथा दरबन्दी संरचनामा आवश्यक पुनरवलोकन गरिनेछ। प्राधिकरणको आर्थिक, प्रशासनिक र गुनासो व्यवस्थापनलगायतका कार्यलाई विद्युतीय प्रणालीमार्फत सम्पादन गर्ने कार्यलाई निरन्तरता दिइएको छ।

निर्माणाधीन आयोजनाहरू
नेपाल विद्युत् प्राधिकरणबाट अगाडि बढाइएका दूधकोसी, माथिल्लो अरुण, माथिल्लो मोदी, चैनपुर सेती, तामाकोसी ५, आँधीखोला र उत्तरगंगा, कुलेखानी सिस्नेरी पम्पस्टोरेज, रूपा बेग्नास पम्प स्टोरेजलगायतका जलविद्युत् आयोजनाहरू अध्ययन तथा विकासको विभिन्न चरणमा रहेका छन्।

आ.व.२०७७/७८ मा १३२ के.भी. क्षमताका ६०४.७४ सर्किट किलोमिटर प्रसारण लाइनको निर्माण तथा स्तरोन्नतिसहितको २१३४.२० एमभीए क्षमताका सबस्टेसनको निर्माण कार्य पूरा भएको छ।

प्राधिकरणबाट १३२ के.भी., २२० के.भी. र ४०० के.भी. क्षमताका क्रमशः १०३१ सर्किट किलोमिटर, ११६५ सर्किट किलोमिटर तथा ७५६ सर्किट किलोमिटर गरी कूल २९४२ सर्किट किलोमिटर प्रसारण लाइन तथा ९,२०० एमभीए क्षमता बराबरका ग्रिड सबस्टेसनहरू निर्माण भइरहेका छन्। यी आयोजनाहरू प्रसारण निर्देशनालय र आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत निर्माण भइरहेका छन्।

प्राधिकरणले कोरोना महामारीका बाबजुद आ.व. २०७७/७८ सम्ममा जम्मा ३२ जिल्लामा सारभूत रूपमा पूर्ण विद्युतीकरण गर्न सफल भएको छ। कर्णाली प्रदेशका कालीकोट र जुम्लामा समेत राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युत् पु¥याइएको छ।

प्राधिकरणले आ.व. २०७७/७८ मा सम्पन्न गरेको २२६.५ एम.भी.ए. क्षमताका ३३/११ के.भी.का १० वटा वितरण सबस्टेसनसहित हालसम्म कूल १९२८ एम.भी.ए.का १६१ वटा वितरण सबस्टेसनको निर्माण पूरा गरी सञ्चालनमा ल्याएको छ।

आ.व.२०७७/७८ मा ३३ के.भी., ११ के.भी. र ०.४/०.२३ के.भी.वितरण लाइनहरू क्रमशः ७०९ सर्किट किलोमिटर, २८२७ सर्किट किलोमिटर र ८७१६ सर्किट किलोमिटर निर्माण सम्पन्न भई हालसम्म निर्माण सम्पन्न भएका उल्लेखित क्षमताका लाइनहरू क्रमशः ६०१९ सर्किट कि.मी., ४१,५५० सर्किट कि.मी.र १,२९,०८१ सर्किट कि.मी. पुगेको छ। साथै हालसम्म ३,६२३ एम.भी.ए. क्षमताका ३७,१६३ वटा वितरण ट्रान्सफर्मरहरू वितरण प्रणालीमा जडान भएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *