अन्तरवार्ता

‘दल विभाजनसम्बन्धी अध्यादेश आए जुनसुकै लडाइँ लड्न पनि तयार हुन्छौँ’

एमाले एकता चाँडै हुन्छ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्रको अन्तरकलह अझै ‘सेफ ल्यान्डिङ्ग’ भइसकेको छैन । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुँदा ताकादेखि शुरु भएको यो अन्तरकलह साम्य हुने आशामा दुवैपट्टिका खासगरी एकताका लागि खटिरहने नेताहरुले धेरै रात गुजारिसकेका छन् । तर, एकताको नाममा ‘हातलागी शून्य’ भनेजस्तै भइरहेको छ । संस्थापन र इतर दुवै पक्षका एमाले नेताहरुले ‘पार्टी एकताको विकल्प छैन’ भनिरहे पनि दुई एमाले खेमा वारिपारी नै हेराहेर गरिरहेका छन् । यानेकी, उनीहरु एउटै कित्तामा उभिन सकेका छैनन् ।

एमाले एकताको सन्दर्भमा एक/दुई साताभित्र सु–समाचार सुन्न पाइन्छ ।

त्यसो त फेरि यत्तिनै बेला एमाले विभाजनलाई सजिलो हुनेगरी राजनीतिक दलसम्बन्धी अध्यादेश आउने कुराले पनि चर्चा पाइरहेको छ ।

सोमबार (हिजो) को संसद् बैठकमा एमाले नेता महेश बस्नेतले सरकारलाई चेतावनी दिँदै ‘अध्यादेश नआओस्’ भनेका छन् । तर, यत्तिले मात्रै सरकार रोकिनेमा शंका व्यक्त गर्नु अन्यथा नहोला ।

त्यसो त एमाले एकताको कुरा हुँदैगर्दा दल विभाजनसम्बन्धी अध्यादेश आए के हुन्छ ? त्यसको सामना प्रमुख प्रतिपक्षी एमालेले कसरी गर्छ ? यस्तै-यस्तै प्रश्नहरुको जवाफ हामीले एमाले संसदीय दलका उपनेता तथा एमाले एकता हुनुपर्छ भनेर खटिरहेका नेता सुवासचन्द्र नेम्वाङ्गसँग खोजेका छौँ ।

एमाले एकता कहिले हुन्छ, अहिलेसम्म किन हुन सकेन ?
एमाले एकताको गृहकार्य हामी गरिरहेकै छौँ । लेखेर राख्नुस् एमाले एकता हुन्छ, हुन्छ, हुन्छ । असार २७ गते एमाले कार्यदलले बनाएको १० बुँदे प्रस्तावना दुवै पक्षबाट अनुमोदन भइसकेको अवस्था छ । अब त्यसलाई नै हामीले आधार बनाउँदै केही दिनभित्रै एकता कायम गरेर देखाउँछौँ । अब अहिलेसम्म किन भएन भन्ने सन्दर्भमा त तपाईंहरु आफैंले पनि देखिरहनुभएको छ, लेखिरहनुभएको छ । खासगरी उतापट्टिका साथीहरुले लचकता अपनाउनुभएको छैन । यद्यपि पनि हामी थाकेका छैनौँ । एमाले एकता नै अहिलेको मूल विषय बनेको छ । एमाले एक भएको हेर्न चाँडै पाइन्छ ।

दुवै पक्षका नेताहरुले ‘मिल्नुको विकल्प छैन’ भनेर भन्नुहुन्छ । तर, लामो समययता केही हुन पनि सकेको छैन । किन यस्तो भयो ?
हो, दुवैपट्टिका नेताहरुले भन्ने गरेको तपाईंले भनेजस्तै नै हो । तर, विडम्बना एकतामै बाँधिनु भने सकिरहेकै छैन । म व्यक्तिगत रुपमा कसैलाई केही आक्षेप लगाउने पक्षमा छैन । तर कोही साथीहरु म नाम त भन्दिनँ यस्तो पनि छन् कि, उहाँहरु चाहनुहुन्छ एमाले एकता नहोस् भनेर । यी र यस्तै साथीहरुकै कारण पनि एमाले एकतामा ढिलाइ भइरहेको छ । तर, मैले के चाहिँ ग्यारेन्टी गर्न चाहन्छु भने एमाले एकता हुन्छ । यो समाचार चाँडै सार्वजनिक हुन्छ । खासगरी मसहितका साथीहरु उतापट्टिका साथीहरुसँग छलफलमै छौँ । हिजै भयो, अस्तिको दिन मात्रै पनि हामी छलफलमै थियौँ । ती छलफलबाट केही सकारात्मक कुराहरु पनि आएका छन् ।

पछिल्लो समय एमाले एकताबारे पार्टी अध्यक्षको धारणा के छ ?
उहाँले के भन्नुहुन्छ र ? उहाँ पहिल्यैदेखि एमाले एकताकै पक्षमा हुनुहुन्छ । त्यसैले त उहाँकै अध्यक्षतामा बसेको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकले १० बुँदालाई अनुमोदन गरेको छ । उहाँ र हामी निरन्तर छलफल, सम्वाद तथा भेटघाटमै छौँ । उहाँले के प्रगति भयो भनेर सोध्नुहुन्छ, उहाँ पनि चिन्तित हुनुहुन्छ । उहाँले पनि पार्टी एकता नै पर्खिरहनुभएको छ ।

योबीचमा भीम आचार्य र सुरेन्द्र पाण्डे दिल्ली पुग्नुभयो हामीले सुन्यौँ कि उहाँहरु वरिष्ठ नेता जेएन खनालको निम्तोमा पुग्नुभयो भनेर । उहाँले के सन्देश लिएर आउनुभयो, त्यसपछि यहाँहरुबीचमा बातचीत भयो ?
हो, उहाँहरु पुग्नुभयो र फर्किनु भएपछि हामीहरुबीच कुराकानी भयो । त्यसपछि हामी विभिन्न माध्यमबाट सम्पर्कमा छौँ । उहाँहरु हाम्रै सल्लाहमा दिल्ली पुग्नुभएको हो । उहाँहरुले बताएअनुसार उहाँ (खनाल) पार्टी एकताकै पक्षमा हुनुहुन्छ । उहाँले ‘जसरी हुन्छ पार्टी एकता गर्नुस्, एमाले छुट्टिएको खण्डमा नेपालको कम्युनिष्ट आन्दोलनले आफ्नो रुप गुमाउनेछ’ भनेर भन्नुभयो । त्यसो हुँदा अब एमाले एकता हुन्छ । यसमा कसैले शंका/उपशंका गर्नुपर्दैन ।

तपाईंहरु एकता–एकता भनेर जुटिरहनुभएको छ तर, यत्तिनै बेला दल विभाजनसम्बन्धी अध्यादेश आउने भनेर पनि सुनिँदैछ । यसलाई कसरी लिइरहनुभएको छ ?
पहिलो कुरा त मलाई उहाँ (सत्तारुढ दल) हरुले यस्तो असंवैधानिक, अनैतिक र अप्रजातान्त्रिक काम गर्नुहुन्छ भनेर मलाई लाग्दै लाग्दैन । म उहाँहरुप्रति कुनै खालको ‘शंका’ व्यक्त गर्न चाहन्न । हामीले त्यस्तो कुरा बाहिर आउनेबित्तिकै यसो नगरौँ साथी हो भनेर सुझाव दिइरहेका हुन्छौँ । त्यसो हुनाले मलाई विश्वास छ । उहाँहरुले त्यसो गर्नुहुन्न भनेर । म कुनै खालको शंका व्यक्त गर्दिनँ ।

अनि हाइहाल्यो नै भने नि ?
हामीले भन्दाभन्दै आयो भने त हामी त्योविरुद्ध लड्छौँ, लड्नै पनि पर्छ । जुनसुकै मूल्य पनि चुकाउँछौँ । हिजो राति १२ बजेसम्म जीवित संसद्मा कमरेड महेश बस्नेतले यसबारेमा सत्तापक्षको ध्यानाकर्षण पनि गराउनुभएको छ । यदि आयो भने हामी कुनखाले कारबाही खोज्नुपर्ने हो, खोज्छौँ । कानूनी लडाइँ, राजनीतिक लडाइँ लड्न पनि तयार छौँ ।

अन्त्यमा, एमाले एकता कति दिनभित्र हुन्छ ?
यही बार, यत्ति नै गते भनेर त भन्ने अवस्था बनिसकेको छैन । यद्यपि पनि आउँदो एक/दुई साताभित्र सकारात्मक खबर आउँछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *