‘एमाले विभाजनको अध्यादेश नआओस्’

काठमाडौं । नेकपा एमाले नेता तथा प्रतिनिधि सभा सदस्य महेश बस्नेतले सरकारले एमाले विभाजन गराउनेगरी अध्यादेश ल्याउन लागेको आफूलाई जानकारी आएको बताउँदै त्यसो नगर्न सरकारलाई आग्रह गरेका छन् । एमाले विभाजनको अध्यादेश आए ‘कालो दिन’ हुने भन्दै बस्नेतले यस्तो बताएका हुन् । ‘संसद् अधिवेशन अन्त्य गर्दै आजै एमाले विभाजन गर्नेगरी अध्यादेश ल्याउने तयारी गरिएको भन्ने सुनेँ,’ बस्नेतले भने, ‘यदि यो भयो भने यो निर्णय कालो निर्णय हुनेछ ।’

विगतको सरकार संसदीय व्यवस्थाविपरीत चलिरहेको भन्दै विरोध गर्ने सरकार नै गैरसंसदीय गतिविधिमा केन्द्रित रहेको बस्नेतले बताए । सोमबार (आज) बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै बस्नेतले भने, ‘एमाले विभाजन गर्नका लागि अध्यादेश आए हामी मान्दैनौँ ।’ यसअघि पनि राष्ट्रिय युवा संघको कार्यक्रमलाई माइतीघरबाट सम्बोधन गर्दै बस्नेतले भनेका थिए, ‘एमाले विभाजन गराउनेगरी राजनीतिक दलसम्बन्धी अध्यादेश आएको खण्डमा आगो बल्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *