लिम्पियाधुरा, लिपुलेक र कालापानीको क्षेत्रफल सार्वजनिक गरियोस् : पोखरेल

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले लिम्पियाधुरा, लिपुलेक र कालापानीले ओगटेको क्षेत्रफल सार्वजनिक गर्न पनि माग गरेका छन् । सोमबार (आज) बसेको प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै सांसद पोखरेलले यस्तो माग गरेका हुन् ।

आफू शिक्षामन्त्री हुँदा ‘नेपालको भूभाग र सीमासम्बन्धी स्वअध्ययन सामाग्री’ नामक पुस्तकमा नेपालको अद्यावधिक क्षेत्रफलको प्रक्षेपण भएको उल्लेख गर्दै उनले भने, ‘तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सन्दर्भ सामाग्रीको रुपमा तयार उक्त पुस्तक वितरण गर्न रोक्नुभएको थियो ।’

उक्त पुस्तकमा एस्ट्रडेम, नासा, युएसको स्रोत लिएर डब्लुजिएस १९८४ वल्र्ड मर्केट प्रोजेक्टेड कोअर्डिनेट सिस्टम प्रयोग गरी नेपालको अध्यावधिक क्षेत्रफल ४६०.२८ बर्गकिलोमिटर थप हुन आएको प्रक्षेपण गरिएको उनले जानकारी दिए ।

सांसद पोखरेलले सरकारलाई आफैं नापजाँच गरेर अद्यावधिक क्षेत्रफल सार्वजनिक गर्न माग गरे । ‘नेपालको आफ्नै नापी विभाग र नापीका प्राविधिकहरु छन्,’ सांसद पोखरेलले भने, ‘सरकारले नापी विभागलाई परिचालन गरेर तत्काल अद्यावधिक गरिएको नक्साले ओगटेको क्षेत्रफल सार्वजनिक गरोस भन्ने आग्रह गर्छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *