अफगानिस्तानमा रहेका नेपालीलाई उद्धार गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले अफगानिस्तानमा रहेका नेपालीहरूलाई छिटो उद्धार गर्ने निर्णय गरेको छ । सोमबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । ‘अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो लिँदै त्यहाँ रहेका नेपालीलाई सकुशल शीघ्र उद्धार गर्ने र त्यसका लागि नेपाल सरकारका सम्बन्धित निकायहरूले समन्वयात्मक रूपले काम गर्न निर्देशन दिने निर्णय गरेको छ,’ प्रवक्ता कार्कीले जानकारी दिएका छन् ।

यस्तै भूपू ब्रिटिस गोर्खा सैनिकहरूका सम्बोधन हुन बाँकी रहेका समस्या समाधान गर्न माग गर्दै बेलायतको लन्डनमा जारी आमरण अनशनप्रति नेपाल सरकारको ध्यानाकर्षण भएको प्रवक्ता कार्कीले बताएका छन् ।

उक्त समस्यालाई कूटनीतिक पहलमार्फत समाधान गर्नेप्रति सरकार कटिबद्ध रहेको प्रवक्ता कार्कीले बताए । ‘उहाँहरुलाई अनशन फिर्ताको आह्वानसमेत गरिनेछ र बेलायती सरकारसँग कूटनीतिक पहल गर्ने कुरामा सरकार लाग्नेछ, प्रवक्ता कार्कीले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *