सवारी साधन व्यापार मेला ‘नाडा अटो शो’ नहुने

काठमाडौँ। सवारी साधन र पार्टपूर्जा तथा सामग्रीको चाडपर्व लक्षित व्यापार मेला ‘नाडा अटो शो’ यस वर्ष पनि आयाेजना नहुने भएको छ । कोभिड–१९ प्रभावका कारण गत वर्षदेखि रोकिएको ‘नाडा अटो शो यस वर्ष पनि आयोजना हुने अवस्था नरहेको  अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का अध्यक्ष कृष्णप्रसाद दुलालले मकालु खबरलाई जानकारी दिए ।

‘कोभिडको नयाँ लहरका कारण यस वर्ष पनि ओटो शो सञ्चालन गर्न सकिने अवस्था रहेन,’ उनले भने, ‘तर, डिलर तथा शोरुमहरुले आ–आफ्नो तरिकारले चाडपर्व लक्षित योजनाहरु भने ल्याइरहेका छन् । तर, ती कार्यक्रम पनि भर्चुअल माध्यमबाट बढी भइरहेका छन् ।’

एसोसिएसनले २०७६ सालसम्म प्रत्येक वर्ष दशैंअघि काठमाडौंको भृकुटी मण्डपमा नाडा अटो शो गर्दै आएको थियो । काेभिडका कारण २०७७ मा शो आयोजना भएको थिएन । सवारी साधनबारे अभिमुखिकरण (तालिम) तथा छलफल जस्ता कार्यक्रम  भर्चुअल रुपमा गरेको थियो ।

कोभिडका कारण अघिल्लो आर्थिक वर्षमा सवारी साधनको व्यापार झण्डै ५० प्रतिशतले कमि आएको थियो । तर, गत आर्थिक वर्ष २०७७/७८ मा सवारी साधनको बिक्री खासै नघटेको अध्यक्ष दुलालले बताए ।

वार्षिक झण्डै १५ हजार थान सवारी साधन बिक्री हुँदै आएकोमा गत आर्थिक वर्ष झण्डै १४ हजार चारपाङ्ग्रे र ३ लाख जति दुई पाङ्ग्रे सवारी साधनको बिक्री भएको  एसाेसिएसनको तथ्याङ्क छ ।

‘कोभिडले मानवीय दूरी कायम गर्नुपर्ने कारण सार्वजनिक सवारी साधन सञ्चालन धेरैजसो समय ठप्प हुन पुग्यो,’ उनले भने, ‘खास गरी एकाघरका परिवार मात्रै सवार हुने भएकोले निजी सवारी साधानको बिक्री बढ्यो । महामारीका कारण मानिका लागि अहिले निजी सवारी अनिवार्य नै बनेको छ ।’

तर, चारपाङ्ग्रे सवारी साधानको हकमा माग अनुसार उत्पादन समेत हुन नसकेको उनले बताए । चार पाङ्ग्रे सवारी साधन उत्पादन गर्ने उद्योग तथा प्लान्टहरुको नियमित उत्पादमा गिरावट आएको थियो ।

‘कोभिडका कारण भारतलगायत देशमा पनि गाडीको उत्पादन प्लान्टमा काम गर्ने कर्मचारी तथा मजदुर प्रभावित भए,’ उनले भने, ‘कति बिरामी परे, कतिको मृत्यु नै भयो । यसबाट त्रास पनि थपियो । त्यसकारण उत्पादन सङ्ख्यामा कमी आयो ।’

चारपाङ्ग्रे सवारी साधानको उत्पादन सङ्ख्यामा एकातिर कमी आयो भने अर्कोतिर कोभिड महामारीका कारण सार्वजनिक यातायात ठप्प हुँदा र सुरक्षित यात्राका लागि निजी सवारी साधान किन्न थाले । यसले माग बढायो । तर, दुई पाङ्ग्रे सवारी साधन (बाइक तथा स्कुटर)को उत्पादन र वितरणमा भने खासै कमी नआएको उनले बताए ।

सवारी साधनको मूल्यमा पनि खासै वृद्धि नभएको उनले बताए । ‘कच्चा पदार्थमा भएको मूल्य वृद्धिका कारण २० प्रतिशतसम्म सवारी साधान तथा पार्टपूर्जा र लुब्रिबेन्टको मूल्य बढ्ने क्रममा छ,’ उनले भने,  अब केही दिनमा कतिपय सवारी साधान तथा पार्टपूर्जाको मूल्य बढ्छ,’ उनले भने, ‘तर, कोभिडकै कारण मूल्य बढेको छैन ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *