कांग्रेसको महाधिवेशन मंसिरमा मात्रै ?

काठमाडौं । कांग्रेसको १४औं महाधिवेशन आगामी मंसिरसम्मका लागि स्थगित गर्ने तयारी गरिएको छ । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान परिस्थितिमा महाधिवेशन गर्ने अवस्था नरहेको बताएका छन् । देउवाले मंसिरमा महाधिवेशन गर्नेगरी कार्यतालिका ल्याउन लागेको नेताहरुले बताएका छन् । यसअघि महामन्त्री डा. शशाङ्क कोइरालाले मंसिरभन्दा अघि महाधिवेशन हुने सम्भावना नरहेको बताएका थिए ।

महाधिवेशनबारे छलफल गर्न बोलाइएको केन्द्रीय समितिको बैठक तेश्रो दिन पनि जारी छ । शनिबार दिउँसो २ बजेपछि बुढानिलकण्ठस्थित देउवाको निजी निवासमा बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

देउवाले शुक्रबारको बैठकमा भदौमा महाधिवेशन सम्भव नरहेको स्पष्ट पारेका छन् । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले भने कार्यविधि छोट्याएर भएपनि भदौमै महाधिवेशन गरेर पार्टीको वैधानिकतालाई जोगाउनुपर्नेमा जोड दिएका थिए ।

तर, संस्थापन पक्षका नेताहरुले तत्कालै महाधिवेशन हुने सम्भावना टरिसकेको बताएका छन् । ‘दशैंअघि महाधिवेशन हुने सम्भावना छैन, कोरोनाको संक्रमण बढिरहेको छ । फेरि क्रियाशील सदस्यताको विवादसमेत मिलेको छैन, त्यसैले परिस्थिति हेरेर मंसिरसम्ममा महाधिवेशन गर्ने गरीको कार्यतालिका आउन सक्छ,’ देउवानिकट एक केन्द्रीय सदस्यले भनेका छन् ।

ती नेताकाअनुसार देउवाले पार्टीको वैधानिकताका विषयमा निर्वाचन आयोग, अधिवक्ता र आफ्ना कानूनी सल्लाहकारहरुसँग छलफलसमेत गरिरहेका छन् । महामारीका कारण अहिले महाधिवेशन गर्ने मिति तोकेपनि महाधिवेशन गर्ने कारणले संक्रमण फैलिन दिन नहुने नेताहरुको दाबी छ ।

देउवाले विशेष महाधिवेशन वा कार्यविधि छोट्याएर गरिने महाधिवेशन गर्न नसकिने संकेत गरिसकेका छन् । त्यसआधारमा अब दशैंअगाडि महाधिवेशन हुने सम्भावना करिब–करिब टरेको छ । किनकि अहिले महामारीका कारण दर्जनौँ ठाउँमा सबै सेवा ठप्प हुनेगरी निषेधाज्ञा जारी गरिएको छ भने काठमाडौँ उपत्यकामै पनि खुकुलो निषेधाज्ञा छ । ‘यस्तो अवस्थामा महाधिवेशन गरेर कार्यकर्तालाई संक्रमण फैलाऊ, मर्न जाऊ भनेर निर्देशन दिने कुरा हुँदैन, नेताहरुले निर्णय गर्दा विचार पु¥याउनुपर्ने हुन्छ,’ ती नेताले भनेका छन् ।

बैठकमा महाधिवेशनको नयाँ कार्यतालिका प्रस्तुत हुने भनेपनि दुई दिनसम्म त्यस्तो कार्यतालिका प्रस्ताव गरिएको छैन । बैठकमा बोल्ने नेताहरुले पहिले क्रियाशील सदस्यताको विवाद मिलाएर परिस्थिति अनुकूल भएमात्रै महाधिवेशनको कार्यतालिका ल्याउनुपर्नेमा जोड दिएका छन् । ‘अहिले कार्यतालिका ल्याउनु र नल्याउनुको अर्थ छैन, किनकि कोरोनाको संक्रमण बढ्दो छ, तेश्रो लहरको त्रास पनि बढेको छ, त्यसैले पहिले विवाद टुंग्याएर महाधिवेशनका लागि गर्नुपर्ने सबै तयारी पूरा गर्ने, र त्यसपछि परिस्थिति अनुकुल हुने गरी कार्यतालिका ल्याउने कुरा व्यवहारिक हुनसक्छ,’ अर्का एक केन्द्रीय सदस्यले भनेका छन् ।

त्यसो त शुक्रबारको बैठकमा देउवापक्षकै केही केन्द्रीय सदस्यहरुले अब आमनिर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरे ।

महाधिवेशनका नाममा गाउँ–गाउँसम्म कार्यकर्तालाई विभाजित गर्ने काम नगरौँ, आउँदो बैशाखमै स्थानीय तहको निर्वाचन हुदैछ, अहिले हुने महाधिवेशनको प्रतिस्पर्धाले स्थानीय चुनावलाई असर पुग्छ,’ केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीको प्रस्ताव थियो, ‘त्यसैले आमनिर्वाचन पछिमात्रै महाधिवेशन गरौँ, त्यसले स्थानीय चुनाव र आमचुनाव हाम्रो पक्षमा हुनसक्छ ।’

बैठकमा क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदन, अन्य राजनीतिक दलबाट आएकाहरुको समायोजन समितिको प्रतिवेदन र महाधिवेशनको कार्यतालिकाका विषयमा छलफल भइरहेको छ । शुक्रबारसम्म धेरै नेताहरुले बोलिसकेका कारण शनिबार बैठक टुंगिने नेताहरुको भनाइ छ ।

कांग्रेसले भदौको १६ देखि १९ भित्र केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याएपनि त्यो प्रभावित भइसकेको छ । तर, २३ भदौदेखि कांग्रेसको वैधानिक कार्यकाल सकिँदैछ । त्यसपछि कांग्रेसको भविष्य के हुने ? भन्नेबारे नेताहरु नै अन्योलमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *