वर्षौं लाग्यो आफ्नै मृत्यु सच्याउन

विराटनगर । करिब डेढ महिनाअघि सुवास तामाङ निलो झोलामा आफ्नै मृत्युदर्ताको प्रमाणपत्र बोकेर हिँड्दै थिए । कहिले वडा, कहिले स्थानीय तह त कहिले विराटनगरमा रहेको जिल्ला प्रशासन कार्यालयमा पुगेका देखिन्थे मोरङ्गको बेलवारी नगरपालिका- ११ लक्ष्मी मार्गका सुवास तामाङ । जहाँ जान्थे‚ सफाइ दिइरहेका हुन्थे ‘म जीवित छु । मलाई जीवित भएको प्रमाणपत्र बनाइदिन तपाईंको सहयोग चाहियो ।’

आफ्नै मृत्युदर्ता, नागरिकता, भोजपुरबाट बनाइएको बसाइँसराइ प्रमाणपत्र, पासपोर्टसहितका थुप्रै कागजपत्र उनका लागि प्रमाणको रुपमा देखाउनुपर्ने कागजातको फाइलै थियो । उनको लामो समयको प्रयासपछि उनले दोस्रो पटक नागरिकताको प्रतिलिपी पाएका छन् । अर्थात्  ‘उनको मृत्यु भएको कागज खारेज भएको छ ।’

सुवासको भनेर आएको अर्कैको शव
सुवास वैदेशिक रोजगारीका क्रममा साउदी अरब गएका थिए । उनको दुर्घटनामा मृत्यु भएको खबर आयो । मृत्यु भएको झण्डै एक महिनापछि परिवारले शव पाए । त्रिभुवन विमानस्थलमा सुवासकी श्रीमती सन्तोषीले शव बुझिन् । बेलबारीमै ल्याएर उनको अन्तिम संस्कार गरियो । दुर्घटनामा परेर मृत्यु भएको भनिएकाले कसैले पनि सुवासको शव हेरेन । श्रीमती शव हेर्न सक्ने अवस्थामा थिइनन् भने परिवारका अन्य सदस्यले पनि शवको अनुहार हेर्नेबारे ध्यानै दिएनन् । सुवासको मृत्युको बारेमा सम्बन्धित कार्यालयहरुमा जानाकारी पुग्यो । २०७२ साउन ६ गते भोजपुरमा उनको मृत्यु दर्ता भयो ।

घरमा मृत्युपछिको कर्म चलिरहँदा उनको साउदी अरबमा उपचार भइरहेको थियो । सुवास उपचारपछि २०७३ मा घर फर्किए । उनी नेपाल फर्किएपछि घरका सबै परिवार छक्क परे । उनी कार्यरत कम्पनीको लापरबाहीका कारण सुवास भनेर बागलुङ ढोरपाटन-६ का तेजेन्द्र भण्डारीको शव नेपाल पठाएको भन्ने पछि मात्र थाहा भएको सुवास बताउँछन् ।

दुर्घटनामा चार जनाको मृत्यु भएको थियो । दुर्घटनामा उनी गम्भीर घाइते भए । झण्डै चार महिनापछि मात्र होस आएको सुवासले बताए । २०७३ सालमा नेपाल फर्किएपछि नै उनी आफ्नो हातमा आफ्नै मृत्युदर्ता बोकेर भौँतारिए ।

पाए नागरिकता
निको भएर नेपाल फर्किएपछि सुवास आफ्नो मृत्यु दर्ता खारेजीमा लागे । अनेक झन्झट पार गर्दै उनले बिहीबार नागरिकताको प्रतिलिपी प्राप्त गरेका छन् । भोजपुरको (साविक कुदाककाउले गाविस–९) हालको षडानन्द नगरपालिका-२ पुरानो ठेगाना भएका उनी भोजपुरबाटै २०६० जेठ २९ गते ४८४१-११-२५५४ नम्बरको नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेर वैदेशिक रोजगारीका लागि साउदी गएका थिए ।

उनको मृत्यु खारेज गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले नागरिकता दिएको छ । राष्ट्रिय परिचयपत्र एवं पञ्जीकरण ऐन २०७६ को दफा २४ अनुसार यसअघि भइसकेको मृत्यु दर्ता रद्द गरेर सुवासलाई नागरिकताको प्रतिलिपि दिइएको प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले बताए । नागरिकता लिएपछि उनले आफ्नै मृत्युदर्ता सच्याउन वर्षौं लागेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *