जर्मनीविरुद्ध रुसलाई जासुसी गर्ने बेलायती दूतावासका कर्मचारी पक्राउ

काठमाडौँ । युरोपेली साझेदार जर्मनी र बेलायतको सम्बन्ध धेरै राम्रो छ । तर, हालसालै जर्मनीस्थित बेलायती दूतावासका कर्मचारीले रुसलाई जासुरी गरेको पाइएपछि धेरैले सम्बन्धमा प्रश्न गर्न थालेका छन् ।
सन् २०२० को नोभेम्बरबाट पैसा लिएर रुसलाई नियमित जासुसी गरेको भन्दै बेलायती नागरिक पक्राउ परेका हुन् ।
बुधबार पक्राउ परेका बेलायती नागरिकको नाम डेभिडमात्रै भनिएको छ । जर्मनीको सरकारी मिडिया डीडब्लू तथा बीबीसीका अनुसार जर्मनीको पोस्टड्या भन्ने शहरबाट त्यी ५७ वर्षे बेलायती नागरिकलाई कागजातहरू रुसी जासुसी अधिकारीलाई बुझाउन लैजाँदै गर्दा पक्राउ गरिएको थियो ।
जर्मनी तथा बेलायती गुप्तचर निकायहरूबीचको सहकार्यमा अनुसन्धान भएर बेलायती नागरिक पक्राउ परेको बताइएको छ । जर्मनीस्थित रुसी दूतावास तथा रुस सरकारको तर्फबाट पक्राउको बारेमा कुनैपनि सार्वजनिक प्रतिक्रिया आएको छैन ।
यसअघि जर्मनीको संसद बुन्डेसटागको सूचना चुहाएको भन्दै एक रुसी नागरिक गत फेब्रुअरीमा पक्राउ परेका थिए भने गत जूनमा रुसका जर्मनीको एक विश्वविद्यालयमा पढाउने वैज्ञानिक पनि सूचना चोरीको आरोपमा प्रकाउ परेका थिए ।








