ट्रक साहित्य र चालकको कथामा बन्यो डकुमेन्ट्री

काठमाडौँ । ट्रक साहित्य र चालकको कथा समेटिएको डकुमेन्ट्री ‘ट्याटुड ट्रक्स् अफ नेपाल-हर्न प्लिज’ तयार भएको छ । यो डकुमेन्ट्री अमेरिकन डकुमेन्ट्री निर्माता रोन र्‍यान्सनले बनाएका हुन् ।

यसमा खराब बाटोमा मेची महाकाली ट्रक गुडाउने ड्राइभरको यात्राको कथा प्रस्तुत गरिएको छ । करिब ६ दशक अगाडि नेपालमा यातायातको महत्त्वपूर्ण साधनको रूपमा ट्रक मात्रै रहेको थियो । बाटोको अवस्था समेत अत्यन्त नाजुक भएकोमा यात्राको क्रममा के-कस्ता घटना घट्थे, चालक कस्ता हुन्थे जस्ता विषय यसमा समेटिएको छ । त्यस्तै चलचित्रमा ‘ट्रक साहित्य’ को समेत चर्चा गरिएको छ ।

चालकको मानसिकता र यात्राको कठिनाइलाई साहित्यको माध्यमबाट प्रस्तुत गरिन्छ साथै भिन्न परिवेशमा भिन्न-भिन्न टुक्का र रमाइला मुक्तकहरू समेटिने गरिन्छ  । निर्देशकसमेत रहेका रोनले ५७ वर्ष अघि काठमाडौँ-नारायणगढ यात्रा ट्रकमा गरेका थिए । उक्त समय २३ वर्षका उनले भोगेको अनुभूतिलाई नेपालका नयाँ भेकको सडकको कथा समेत जोडेर डकुमेन्ट्री तयार गरेका हुन् ।

उनले उक्त समयको सामाजिक र आर्थिक अवस्था चित्रण गरेका छन् । रोनको नेपालप्रतिको प्रेमले यो विषयले चलचित्रको रूप पाएको हो । रोन अमेरिकामा कला र नाटकका शिक्षक थिए । उनी शान्ति सेनाको स्वयम् सेवकको रूपमा सन् १९६४ मा नेपाल आएका थिए । नेपालमा बिताएको समयलाई डकुमेन्ट्रीको रूप दिन पाएकोमा उनी दङ्ग छन् । उनका अनुसार पुनः नेपालसँग जोडिन पाउनु खुसीको कुरा हो । यो डकुमेन्ट्री अर्को हप्ताबाट विभिन्न फेस्टिवलहरुमा प्रदर्शन गरिने उनले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *