लुम्बिनी प्रदेश

‘मुख्यमन्त्रीज्यूले राजीनामा दिन सक्नुहुन्छ’

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिनसक्ने पोखरेलनिकट एक नेताले मकालुखबरलाई जानकारी दिएका छन् । ‘बिहान एमाले लुम्बिनी प्रदेशको संसदीय दलको बैठक बस्यो,’ नाम उल्लेख नगर्ने शर्तमा ती नेताले भने, ‘बैठकमा राष्ट्रिय राजनीति, विपक्षी गठबन्धन, भावी रणनीतिलगायतका विषयमा छलफल भयो । त्यसबीचमा राजीनामाको विकल्पबारे पनि छलफल भयो । अहिलेसम्म राजीनामा नै दिने भन्ने पक्क नै भएको छैन । तर, सम्भावना बढी छ । राजीनामा गर्न पनि सक्नुहुन्छ ।’

मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेश सभामा दायर भएको अविश्वास प्रस्तावमाथि बुधबार (आज) छलफल हुँदैछ । श्रोतकाअनुसार बैठकअगावै मुख्यमन्त्री पोखरेलले राजीनामा दिन सक्नेछन् । अहिलेसम्मको संसदीय गणितमा विपक्षी गठबन्धनसँग बहुमत देखिएपछि पोखरेलले राजीनामाको विकल्प रोजेका हुन् ।

मंगलबार (हिजो) मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकारमा सहभागी भएका लुम्बिनीका जनता समाजवादी पार्टी (जसपा)का सांसद सन्तोषकुमार पाण्डेयले मन्त्री पदबाट राजीनामा दिएपछि मुख्यमन्त्री थप अप्ठ्यारोमा परेका थिए ।

पोखरेल तत्कालीन प्रदेश नं. ५ को मुख्यमन्त्रीमा ०७४ फागुन ३ गते पहिलो पटक मुख्यमन्त्री नियुक्त भएका थिए भने दोस्रो पटक ०७८ जेठ १९ गते नियुक्त भएका थिए । आफूविरुद्ध सभामा दायर भएको अविश्वास प्रस्ताव छल्नको लागि केही घन्टाका लागि राजीनामा दिएका पोखरेल सदनको ठूलो दलको संसदीय दलका नेताको हैसियतले दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

यसअघि माओवादी केन्द्र, नेपाली कांग्रेस, जसपा, राष्ट्रिय जनमोर्चालगायतका दलका ४१ जना सांसदले पोखरेल अल्पमतमा परेको भन्दै प्रदेश प्रमुख अमिक शेरचनलाई संविधानको धारा १६८ (२) बमोजिमको सरकारको प्रक्रिया अगाडि बढाउन माग गरेका थिए ।

प्रदेश सभामा हाल ८० जना सांसद बहाल रहेकोमा बहुमतका लागि ४१ सिट आवश्यक हुन्छ । तर सत्तारुढ दल एमालेसँग अहिले ३८ सांसद मात्रै छन् । विपक्षी गठबन्धनसँग कांग्रेसका १९, मामाओवादीका १८, जसपाका ३ र जनमोर्चाका १ गरी ४१ सांसद छन् ।

विपक्षी गठबन्धनले माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई भावी मुख्यमन्त्रीका रुपमा अघि सारेको छ । यसअघि उनी नेकपाको सरकारमा आन्तरिक मामिला तथा कानूनमन्त्री थिए ।

४१ सांसद रिसोर्टमा तैनाथ

विपक्षी गठबन्धनका ४१ सांसदहरु रिसोर्टमा छन् । मुख्यमन्त्री पोखरेलविरुद्ध मोर्चाबन्दी बनेका सांसदहरु आज बिहानदेखि कपिलवस्तुको बुद्ध गार्डेनमा छन् ।

विपक्षी गठबन्धन आफूलाई आवश्यक पर्ने सांसद संख्यासहित रिसोर्टमा बसिरहेको हो । कुनै एकजना सांसद अनुपस्थित वा एमालेतर्फ लागेको खण्डमा विपक्षी गठबन्धनलाई घाटा लाग्नेछ । यसर्थ विपक्षी गठबन्धन रिसोर्टमा बसिरहेको हो । प्रदेशका कांग्रेस नेता फकरुद्धिन खानले भनेका छन्, ‘बैठकभन्दा अगाडि केही राजनीति विषयमा छलफल गर्नुपर्ने भएकोले हामी यहाँ आएको हौँ ।’

दुई दिनअगावै कपिलवस्तुको राजापानी रिसोर्टमा बसेका सांसदहरु आज गार्डेन सरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *