कोभिडले थलिएका उद्योग उकास्न प्रदेश सरकारको निर्ब्याजी ऋण

पोखरा । गण्डकी सरकारले कोभिडका कारण थला परेका उद्योग पुनरुत्थान गर्नका लागि व्यवसाय जीवन रक्षा कोष सञ्चालन गरेको छ ।

अघिल्लो वर्षदेखि सुरु भएको कोषमा अहिलेको सरकारले पनि १ अर्ब विनियोजन गरेको हो । थला परेका उद्योगलाई सरकारले निर्ब्याजी ऋण दिन लागेको हो । अघिल्लो वर्षदेखि सुरु भएको कोषबाट साढे ४ अर्बभन्दा बढी ऋण व्यवसायीले लिइसकेका छन् ।

पहिलो चरणमा ४ अर्ब ५१ करोड रुपैयाँको लोन स्वीकृत गरिएको राष्ट्र बैंकले जनाएको छ । सबैभन्दा धेरै लघु, घरेलु तथा साना उद्योगमा १ अर्ब ९९ करोड ऋण माग भएको छ भने साना पर्यटन १ अर्ब ५३ करोड, साना सेवामा ६२ करोड, साना यातायातमा ३५ करोड रुपैयाँ ऋण माग भएको छ । यो कार्यक्रमले गण्डकीको उद्योग क्षेत्र थप चलायमान हुने विश्वास व्यवसायीहरूको छ । उनीहरुलाई कर्जा प्रवाह सुरु भइसकेको छ ।

७ अर्ब ६७ करोड रुपैयाँ ऋण व्यवसायीले बैंकसँग मागेका थिए । नेपाल राष्ट्र बैंकसँगको साझेदारीमा प्रदेशभित्रका १८ वटा बैंकले विभिन्न शाखाबाट ११ वटै जिल्लामा लगानी गरेका हुन् । पहिलो वर्ष ६ हजार ७ सय ७८ व्यवसायीले सहुलियत ऋणको निवेदन बुझाएका हुन् ।

सरकारले ४ वटा क्षेत्र तोकेर ऋण लगानी गर्ने जनाएको थियो । लघु उद्यम, साना सेवा, साना पर्यटन र यातायात व्यवसायीलाई सहुलियत ऋण दिइएको हो ।

व्यवसायीले तोकिएको बैंकबाट लिएको ऋणको ब्याज भने गण्डकी सरकारले तिरिदिन्छ । यसका लागि राष्ट्र बैंकले सहजीकरण गरेको छ ।

विभिन्न शीर्षकमा बैंकले ५० हजार देखि १५ लाखसम्म कर्जा लगानी गर्नेछ । लघु, घरेलु साना उद्यम र साना पर्यटन व्यवसायका लागि कर्जा दिन लागिएको हो । सबैले ३ वर्षभित्रमा सावाँ चुक्ता गरिसक्नुपर्नेछ ।

कर्जा लिँदा ऋणीले ३ वर्षसम्म कुनै पनि शुल्क वा ब्याज तिर्नुपर्ने नपर्ने सरकारले जनाएको छ । बैंकहरूको नियमानुसार न्युनतम शुल्कमा ३ प्रतिशत थपेर व्याज भुक्तानी हुनेछ । कर्जा लिनका लागि सामूहिक वा व्यक्तिगत जमानी, व्यवसायमा रहेको जिन्सी स्टक, उपकरण, सामग्री, सवारीसाधन, घर, जग्गा, सुनचाँदी लगायतलाई धितो राख्न सकिन्छ । आवेदन दिन सरकारी निकायमा दर्ता भएर गण्डकी प्रदेशभित्र १ वर्षदेखि सञ्चालित उद्योग व्यवसाय हुनुपर्छ ।

पहिलो वर्ष नै ७ अर्ब ६७ करोड रुपैयाँ ऋण व्यवसायीले बैंकसँग मागेका राष्ट्र बैंकले जनाएको छ । सरकारी आँकडाले १ महिना आर्थिक गतिविधि ठप्प हुँदा गण्डकी प्रदेशमा मात्रै १९ अर्ब नोक्सान हुने देखाउँछ । पर्यटन केन्द्रित गण्डकीको अर्थतन्त्र निकै कमजोर भइसकेको छ ।

यहाँका बैंक तथा वित्तीय संस्थाहरूले पर्यटनमा मात्रै ११ अर्ब ९० करोड लगानी गरेका छन् । त्यो लगानी छिटै फर्काउन सक्ने अवस्था देखिँदैन । पर्यटनमा गरिएको लगानी पूरै फिर्ता गर्न लामो समय पर्खिनुपर्ने विज्ञहरू बताउँछन् ।

तिनै उद्योगहरूको पुनरुत्थान गर्न सरकारले मझौला व्यवसायीलाई सहयोग गर्न लागेको हो । ठूला व्यवसायीले भने संघ सरकारबाट अनुदान र सहयोग पाएका छन् । ५० लाखभन्दा कम वार्षिक कारोबार गर्ने व्यवसायीलाई प्रदेशले समेट्न लागेको हो । यो वर्षका लागि भने कार्यविधि नयाँ बनाउने पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्माले जानकारी दिए ।

व्यवसायीहरूले भने ५० लाख बढी कारोबार गर्ने व्यवसायीलाई पनि समेट्न सुझाव दिएका छन् । उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष सन्जीवबहादुर कोइरालाले दायरा नछुट्याई समस्यामा परेका व्यवसायीलाई सहयोग गर्न आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 16 =