एक वर्षपछि विस्थापितहरू टेन्टबाट टहरोमा‚ स्थायी आवास अझै अन्यौल

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्ला बाढीपहिरो, चट्याङजस्ता प्राकृतिक विपत्तिको उच्च जोखिममा रहेको जिल्ला हो । यस्ता प्रकोपका कारण बर्सेनि ठूलो जनधनको क्षेति हुने गरेको भएता पनि यहाँ राहत तथा उद्धारको काम ज्यादै सुस्त गतिमा हुने गरेको छ । एउटै पहिरोमा ३९ जनाले ज्यान गुमाउनुपरेको सिन्धुपाल्चोकको लिदी पहिरोबाट विस्थापित भएका २०९ घरमध्ये ३१ परिवारले एक वर्षपछि अस्थायी घर पाएका छन् । विभिन्न व्यक्ति तथा संस्थाको सहयोगमा प्राप्त सामग्रीबाट नेपाली सेनाले आवास निर्माण गरेको हो ।

No description available.

२०७७ साउन ३० गते बिहान सिन्धुपाल्चोकको जुगल गाँउपालिका-२, लिदीमा पहिरो झर्दा ३४ घर पुरिएको थियो । पहिरोले गाउँ नै जोखिम भएपछि त्यहाँका दुई सय ९ घर विस्थापित भई जुगलकै वडा नं. १, बाँसखर्कमा आई बसोबास गरिरहेका छन् । १ वर्षदेखि कष्टकर जीवन बिताइरहेकामध्ये घर गुमाएका ३१ परिवारका लागि पहिलो चरणमा अस्थायी आवास उपलब्ध गराइएको हो ।

No description available.

बाँसखर्कमा अस्थायी आवास निर्माणको लागि पहिलोपटक सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलको समन्वयमा क्रिकेटर सन्दीप लामिछानेले जस्ता र फलामे डण्डी उपलब्ध गराएका थिए । त्यसपछि सिन्धु पर्यटन परिषद्लगायतका विभिन्न संस्थाहरूले समेत आवश्यक सामग्री हस्तान्तरण गरेका थिए । लिदीमा विस्थापित भएका सबै परिवार अहिले पनि बाँसखर्कमा नै बसिरहेका छन् ।

No description available.

आफूहरू सबै आवासको उस्तै समस्यामा भएपनि पहिलो चरणमा अति प्रभावितलाई आवास दिएकोमा स्थानीयहरू समेत खुसी भएका छन् । पहिरोमा आफ्नो परिवारको ७ जना गुमाएकी ७१ वर्षीय निस्माइ तामाङले टेन्टबाट टहरोमा सर्न पाएकोमा खुसी व्यक्त गरिन् । अब आफूहरूले पनि छिट्टै अस्थायी आवासको व्यवस्था गरिनुपर्ने पीडितहरूको माग छ ।

सो पहिरोमा विस्थापित भएका सबैको लगत संकलन गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको छ । प्राधिकरणबाट लाभग्राही कायम भएपछि अस्थायी आवास निर्माणका लागि ५० हजार र स्थायी आवास निर्माणका लागि ५ पाँच लाख रुपैयाँ पाउनेछन् । पहिरो प्रभावितहरू आफूहरू पहिलेकै स्थानमा बस्न नसक्ने भएकाले सरकारले जग्गाको पनि प्रबन्ध गरिदिन आग्रह गरेको र आफूहरूले समेत सोहीअनुसार निर्णय गरी पठाएको जुगल-२ का वडाध्यक्ष प्रताप लामाले बताए ।

पहिरो प्रभावितहरूले ढिलै भएपनि अस्थायी आवास पाएका छन् । तर पहिरोको छोटो समयमै अस्थायी आवासको व्यवस्थापन गर्न सक्ने स्थानीय तह भने दाताहरूले दिएको त्रिपाल र चामल बाँडेरै एक वर्ष बिताउनु गैरजिम्मेवारपूर्ण कुरा हो । अब बाँकी रहेका परिवारलाई पनि तत्काल सुरक्षित अस्थायी आवासमा सार्दै स्थायी आवास बनाउन सहयोग गर्नु स्थानीय तहको जिम्मेवारी हो ।

अस्थायी टहरा निर्माण गर्ने कामबित्तिकै तत्कालै एक महिनाभित्रमा सक्नुपर्ने काम गर्न १ वर्ष लाग्यो । अब स्थायी आवास बन्न कति समय लाग्ला‚ यहि कामबाट पनि अनुमान गर्न सकिन्छ । पहिरो गएको १ वर्ष बितिसक्दा पनि स्थायी आवास कहाँ र कसरी बनाउने भन्ने योजना स्थानीय सरकारले अझै बनाउन सकेको छैन । अन्य कामको सवालमा आफ्नो अधिकार क्षेत्रबारे सिकाउने अधिकारसम्पन्न स्थानीय सरकार पीडितहरूको व्यवस्थापनको सवालमा भने चुकेको छ ।

प्रदेश र संघीय सरकारबीच समन्वय गरी द्रूत गतिमा काम हुन सकेको भए पीडितले आजभन्दा पहिले नै स्थायी आवास पाइसकेका हुन्थे । तर स्थानीय सरकार र जिल्लाबाट प्रतिनिधित्व गर्ने दलका नेताहरूले उचित ध्यान दिन नसक्दा पहिरो खसेको १ वर्षपछि टेन्टबाट टहरोमा पुगेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 5 =