१० रुपैयाँको मास्क नलगाउँदा १०० जरिबाना, अझै सुध्रिएनन् नागरिक

पोखरा । सरकारले मास्क (मुखौटो) नलगाइ सार्वजनिक स्थलमा निस्किन बन्देज गरेको छ । जसअनुसार अहिले बिनामास्क हिँडडुल गर्नेलाई जरिबाना गर्दै आएको छ । तर, पनि नागरिकहरु निस्फिक्री बिनामास्क हिँडिरहेका देखिन्छन् । उनीहरुलाई स्वास्थ्यको त कुरै छोडौँ, सरकारको जरिबानाको समेत वास्ता लाग्दैन ।

गत जेठ ६ मा कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश राजपत्रमा प्रकाशित भएपछि जिल्लास्थित प्रहरी प्रशासनले मास्क नलगाउनेलाई जरिबाना लगाउन थाल्यो । मास्क नलगाउनेलाई प्रहरीले पटकैपिच्छे १ सय रुपैयाँ जरिबाना गर्दै आएको छ । आऊजाऊ गर्न नपाइने ठाउँमा गए पटकैपिच्छे २ सय तिर्नुपर्छ । मास्क अनिवार्य गर्न र स्वास्थ्य मापदण्ड कार्यान्वयन गराउन कास्की प्रहरीले पनि दैनिक सचेतनामूलक कार्यक्रमसमेत गर्दै आएको छ ।

गएको साता मात्रै १ हजार ३ सय ३७ जना मास्क नलगाउनेहरु कारबाहीमा परेको कास्की प्रहरी प्रवक्ता सुवास हमाल बताउँछन् । उनीहरुबाट प्रतिव्यक्ति १ सय रुपैयाँ जरिबाना उठाइएको थियो । जसबाट १ लाख ३३ हजार ७ सय रुपैयाँ जरिबाना संकलन भएको हमालले जानकारी दिए । यसबाहेक ६ हजार ७ सय १७ जनालाई सम्झाइबुझाइ गरी छाडिएको उनको भनाइ छ ।

प्रहरीले जरिबाना मात्रै जुटाएको छैन, मास्क वितरण पनि गरेको छ । १ हजार ९ सय ५८ वटा मास्क वितरण गरिएको प्रवक्ता हमालको जानकारी छ । ‘आफ्नै स्वास्थ्यको पनि ख्याल राख्दैनन्,’ प्रवक्ता हमालले भने, ‘केही समयअघि सम्झाएर पठायो, उही व्यक्ति मास्क नलगाइ फेरि हिँडेको देखिन्छ ।’

बाध्य भएर आफूहरुले जरिबाना उठाइरहेको प्रवक्ता हमालको भनाइ छ । ‘बाध्य भएर जरिबाना गरेका हौँ,’ प्रवक्ता हमालले भने, ‘पैसा बटुल्नेभन्दा पनि सचेतनाका लागि कडाइ गरिएको हो ।’ यहाँ खासगरी कास्की, गोरखा, नवलपुरलगायतका जिल्लामा संक्रमण बढी छ ।

000

पछिल्लो दुई सातायता देशव्यापी रुपमा संक्रमणदर बढ्दैछ । विज्ञहरु तेस्रो लहर चाँडै आउनसक्ने भन्दै होसियारी अपनाउन सुझाव दिइरहेका छन् । पछिल्लो दिनहरुमा दिनकै २ देखि ३ हजारभन्दा बढी संक्रमितहरुको तथ्याङ्क स्वास्थ्य मन्त्रालयले निकाल्दै आएको छ ।

महामारी नियन्त्रणका लागि सरकारले ठोस कार्यक्रम ल्याउन सकेको छैन । सरकारले आफ्नो पहिलो प्राथमिकता ‘कोभिडविरुद्धको खोप’ भएको घोषणा गरेपनि ठोस कार्यक्रम नहुँदो थप समस्या भएको हो । उसो त यही बेला स्वास्थ्य मन्त्रालय नेतृत्वविहीन छ । मन्त्रालय मन्त्रीविहीन हुँदा समस्याको चाङ चुलिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *