भरतपुर अस्पतालको सिटी स्क्यान सेवा पुनः सञ्चालन

चितवन । चितवनको भरतपुर अस्पतालमा प्राविधिक समस्याका कारण अवरुद्ध रहेको सिटी स्क्यान सेवा पुनः नियमित रूपमा सुरु गरिएको छ ।
सिटी स्क्यान बिग्रिएपछि बिरामीलाई स्वास्थ्य बिमाको शुल्कमा निजी अस्पतालबाट सेवा दिँदै आइएको थियो ।
अस्पतालका सूचना अधिकारी गोपालप्रसाद पौडेलका अनुसार नौ वर्ष पुरानो सिटी स्क्यान उपकरणको एक्स–रे ट्युब बिग्रिएपछि असार ७ गतेदेखि सेवा अवरुद्ध भएको थियो ।
उक्त उपकरण खरिद सम्झौताअनुसार सम्बन्धित कम्पनीले नेदरल्याण्डबाट नयाँ एक्स–रे ट्युब ल्याएर जडान गरेपछि सेवा पुनः नियमित रूपमा सञ्चालनमा आएको उनले जानकारी दिए ।
सेवा अवरुद्ध रहेकै अवधिमा बिरामीलाई समस्या नहोस् भन्ने उद्देश्यले अस्पतालले गत असार १० गतेदेखि निजी अस्पताल समन्वय समिति (अफिन) चितवनसँग समन्वय गरी सिटी स्क्यान सेवालाई निरन्तरता दिँदै आएको थियो । अस्पतालका अनुसार दैनिक करिब ५० जना बिरामीले सिटी स्क्यान सेवा लिने गरेका छन् ।
यसैबीच, अस्पतालले दूरबिन (ल्यापारोस्कोपिक) तथा चिरफार (ओपन) विधिबाट गरिने पित्तथैली निकाल्ने शल्यक्रिया (कोलेसिस्टेक्टोमी) को पालो व्यवस्थापनमा पनि परिवर्तन गरेको छ । अस्पतालका प्रवक्ता एवं सहप्राध्यापक डा रामप्रसाद सापकोटाका अनुसार तोकिएको समयभन्दा अगावै शल्यक्रिया सम्पन्न गराउने उद्देश्यले शल्यक्रियाको तालिका हेरफेर गरिएको हो ।
वि.सं २०८३ को माघ महिनाभन्दा पछाडिको मितिमा शल्यक्रियाको पालो पाएका सेवाग्राही तथा बिरामीलाई अस्पतालमा सम्पर्क गर्न अनुरोध गरिएको उनले बताए । उनले अस्पतालसँग सम्पर्क गरी नयाँ शल्यक्रियाको मिति सुनिश्चित गर्न सम्बन्धित बिरामीलाई आग्रह गरे ।








