एमाले बैठक बस्दै, विवादबारे के हुन्छ ?

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक आज बस्दैछ । स्थायी कमिटी बैठक बिहान ११ बजेबाट तुल्सीलाल स्मृति भवनमा शुरु हुनेछ भने केन्द्रीय कमिटी बैठक दिउँसो ३ बजेबाट पार्टी कार्यालयमा बस्ने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । सचिव तामाङकाअनुसार बैठकले दशौं महाधिवेशनकेन्द्रित सर–सल्लाह तथा छलफल गर्नेछ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले यसअघि नै केन्द्रीय कमिटीलाई दशौं महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरेका थिए । तर, त्यसलाई सर्वोच्च अदालतले मान्यता दिएको थिएन । तत्पश्चात् पुनः केन्द्रीय कमिटीमै फर्किएको थियो । संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ्ग भन्छन्, ‘अब महाधिवेशनका लागि आवश्यक तर्जुमा तथा कामकाज केन्द्रीय कमिटीले नै गर्नेछ ।’

विवादबारे के हुन्छ ?

एमालेको दुई समूहबीच लामो समययता विवाद छ । पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको विवाद अझै ‘सेफ ल्यान्डिङ्ग’ भइसकेको छैन । परिणामतः अहिले एमालेमा समानान्तर गतिविधि पनि भइरहेको छ ।

संस्थापन पक्षले यसअघि बसेको बैठक नै ‘पार्टी एकताको सवाल’ मा निर्णायक बैठक भनेपनि केही गर्न सकेन । संस्थापन पक्षमा नेम्वाङ्गसँगै विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङलगायतका नेताहरु पार्टी एकता हुनैपर्नेमा अडानमा छन् । यसपछि उनीहरुले पार्टी अध्यक्ष ओलीलाई घच्घच्याइरहेका छन् । यसपछि अध्यक्ष ओलीले पनि केही लचकता देखाएका छन् ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि नेपालसँग थप चिढिएका अध्यक्ष ओलीले नेपाललाई पार्टीमा कुनै ठाउँ नभएको उद्घोष गरेका थिए । त्यसपछि दोस्रो तहका नेताहरुको समन्वयमा ओली–नेपालबीच भेट्टाउन खोजिए पनि नेपालले नमान्दा भेट हुन सकेको छैन ।

नेपालले सहमतिका लागि भन्दै कार्यदलले बनाएको १० बुँदामा समेत सहमति जनाएका छैनन् । पार्टी ०७५ जेठ २ मा फर्किनेबारे १० बुँदे प्रस्तावनामा प्रष्टसँग लेखिएपनि ०७७ फागुन २८ गतेबारे केही नलेखिएको भन्दै नेपालले असन्तुष्टि जनाएका हुन् ।

विवादबारे आजको बैठकमा पनि छलफल हुने एक नेताले मकालुखबरलाई बताए । उनकाअनुसार नेताहरुबीच निरन्तर रूपमा छलफल भइरहेको छ । ‘छलफल हुनु नै त ठूलो कुरा भएन,’ ती नेताले भने, ‘छलफल त नेताहरुबीच भइरहेकै हो । यस विषयमा आजै निष्कर्ष भने नआउन सक्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *