प्रदेश १ को खोप माहात्म्य

कागजात र मन्त्रीको जवाफ फरक फरक

विराटनगर । प्रदेश १ मा २०७७ माघ २२ गतेदेखि खोप आउन थालेको हो । पहिलो पटक ९ हजार ६ सय भायल खोप आएको थियो । त्यस्तै दोस्रो चरणमा फागुन १४ गते ३३ हजार ३ सय भायल खोप आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । वैशाख ३ गते ३ हजार भायल खोप आएकोलाई आधार मान्दा जम्मा ४५ हजार ९ सय भायल खोपबाट प्रतिभायल १० डोजका दरले जम्मा ४ लाख ५९ हजार डोज खोप कोभिसिल्ड खोप प्रदेश १ मा आएको देखिन्छ ।

सामाजिक विकास मन्त्री उषाकला राईको सचिवालयले दिएको तथ्यांकअनुसार पहिलो डोज ३ लाख ९ हजार २ सय ४६ जनाले कोभिसिल्ड खोप लगाएका थिए । त्यस्तै दोस्रो डोज लगाउने ५२ हजार ८ सय ५५ जनाले लगाएका छन् । मन्त्रालयले दिएको तथ्यांकअनुसार आएको ४ लाख ५९ हजारबाट ३ लाख ६२ हजार डोज खोप नागरिकमा पुगेको देखिएको छ । जसमा ९६ हजार ८ सय ९९ डोज खोप कहाँ गयो मन्त्रालयको तथ्यांकमा देखिँदैन । सचिवालयले भने कतिपय खोप सिरहा र सप्तरीका लागि पनि पहिलो चरणमा आएकाले त्यता गएको हुनसक्ने दाबी गर्दै आएको छ ।

त्यस्तै भेरोसेल खोप जेठ २२ गतेदेखि प्रदेश १ मा आएको छ । तथ्यांकअनुसार जेठ २१ गते १ लाख ४५ हजार ८ सय डोज आएको छ । त्यस्तै असार १६ गते ३२ हजार ४ सय डोज खोप आएको छ भने साउन ८ गते १ लाख ६९ हजार ९ सय ६० भायल खोप आएको देखिन्छ । आएको खोपमध्ये भेरोसेलको ३ लाख २८ हजार ३ सय २३ डोज खोप पहिलो डोजको रुपमा लगाइएको छ भने ६६ हजार ३ सय ३९ जनाले दोस्रो डोज पनि लगाएको तथ्यांक सामाजिक विकास मन्त्रालयसँग छ ।

जोन्सन एन्ड जोन्सनको ४८ हजार भायल खोप आएकोमा प्रतिभायल ५ डोज खोप हुने भएकाले २ लाख ४० हजार डोज खोपमध्ये ६० हजार ९ सय ३ जनाले खोप लगाइसकेका छन् ।

सदनमा टालटुले जवाफ
प्रदेश १ मा खोपको अवस्थाको बारेमा हरेक दिनको प्रदेश सभाको बैठकमा कुरा उठ्दै आएको थियो । साउन २१ गते विशेष समय लिएर बोल्दै प्रदेशसभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता राजिव कोइरालाले प्रदेश १ मा आएको खोपको विवरणका बारेमा सदनमा जानकारी दिन माग गरेका थिए ।

खोपको बारेमा जानकारी माग हुन थालेपछि आइतबारको प्रदेश सभाको आठौँ तथा बजेट अधिवेशनको चौबिसौँ बैठकमा सामाजिक विकास मन्त्रालयसँग सम्बन्धित विषय भएकाले यसमा जवाफ दिँदै सामाजिक विकासमन्त्री उषाकला राईले खोप नै कोभिड नियन्त्रणको अन्तिम उपाय भएको बताइन् ।

प्रदेश सभामा सामाजिक विकास मन्त्रीले प्रस्तुत गरेको विवरणमा प्रदेश १ मा पहिलो पटक कोभिसिल्ड २०७७ फागुन २ गते आएको उल्लेख छ । त्यो मितिमा ३९ हजार ३ सय १७ भायलबाट ३ लाख ९३ हजार १ सय ७० डोज खोप आएको सामाजिक विकासमन्त्री राईले सदनलाई जानकारी दिइन् । मन्त्री राईका अनुसार ‘आएको खोपमध्ये पहिलो डोज ३ लाख ९ हजार २ सय ४६ जनालाई लगाइएको छ‚ जसमध्ये ५२ हजार ८ सय ५५ जनाले दुवै डोज खोप लगाउन सफल भएका छन् ।’

अब २ लाख ५६ हजार ३ सय ९१ जना दोस्रो डोज खोप लगाउन बाँकी रहेको मन्त्रीले जानकारी दिइन् । कोभिसिल्ड खोप लगाएकाहरूका लागि एस्ट्राजेनेका खोप लगाउने तयारी भएको उनले सदनमा बताइन् ।

भेरोसेल खोप २०७८ जेठ २५ गते आएको थियो । यो खोप २ प्रकारको सिंगल र डबल डोजको भएको उनको भनाइ छ । पहिलो चरणमा आएको १ लाख ७८ हजार २ सय भाइल खोप सिङ्गल आएको मन्त्री राईले बताइन् । दोस्रो चरणमा भेरोसेल खोप साउन ११ गते प्रदेश १ मा आएको थियो ।

‘दोस्रो चरणमा १ लाख ६९ हजार ९६० भायल खोप आएको थियो,’ मन्त्री राईले भनिन्, ‘एक भायलमा २ डोज हुन्थ्यो, जसबाट २ लाख ५९ हजार ६० डोज खोप आएको हो । आएको खोपमध्ये भेरोसेल खोप ३ लाख २८ हजार ३ सय २७ जनाले लगाइएको छ ।’

भेरोसेल खोप लगाइएकाहरूमध्ये ६६ हजार ३ सय ३९ जनाले भेरोसेलको दोस्रो डोज लगाउन बाँकी छ । साउन ११ गते जोन्सन एन्ड जोन्सनको ४८ हजार भायल खोप आएको र त्यसमा २ लाख ४० हजार डोज खोप प्राप्त भएको मन्त्री राईले जानकारी दिइन् । यसरी आएका खोपहरू सिधै जिल्लालाई तोकेर जाने गरेकाले खोपमा कुनै आशंका गर्नुपर्ने ठाउँ नरहेको बताइन् ।

केन्द्रबाट आएको खोप प्रदेश आपूर्ति केन्द्रमार्फत् जिल्ला स्वास्थ्य कार्यालयहरूमा जाने र डीसीसीएमसीमार्फत् पालिकामा जाने गरेको मन्त्री राईले प्रदेश सभालाई जानकारी दिइन् ।

तीन सय प्रतिशतसम्म तलब
हिमाली र पहाडी जिल्लामा चिकित्सकीय डाक्टरको सेवा उपलब्ध गराउने काममा मन्त्रालय लागेको उनले बताइन् । ‘विशेषज्ञ डाक्टर हिमाली जिल्लामा पुर्‍याउनका लागि तलब भत्तामा पनि वृद्धि गरेका छौँ,’ मन्त्री राईले भनिन्, ‘ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बुमा ३ सय प्रतिशतले तलब दिइएको छ ।’

पहाडी जिल्लामा २ सय ५० प्रतिशत तलब दिएर डाक्टर पठाउन थालिएको र प्रत्येक जिल्लामा ६ जनाका दरले चिकित्सक राख्नका लागि प्रत्येक जिल्ला अस्पतालमा ४० लाख जनशक्ति व्यवस्थापनका लागि रकम पठाइएको उनले बताइन् ।

उनले हरेक जिल्ला अस्पतालमा ख वर्गको प्रविधियुक्त एम्बुलेन्स पठाइएको बताइन् । नाग टाँसेको जस्तै कल सेन्टरको नम्बर घरघरमा टाँस्ने व्यवस्था मिलाइएको उनले बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *