फूलमाया र मनमाया: युवतीको प्रेरणा

काठमाडौं । विवाहयोग्य उमेरका दुई युवतीको मनमा कस्तो कुरा खेल्छ ? अहिलेका युवती आफ्नो भविष्य र जीवनलाई लिएर कतिको चिन्तित छन् ? अनि आफ्नो बाटोप्रति कति स्पष्ट छन् ? यसको जवाफ खोज्न गीत– ‘कुरा बुझ्न पर्च’ एउटा बलियो उत्तर हुनसक्छ । घरमा छोरीको विवाहको कुरा चल्दैगर्दा परिवार र अघिल्लो पुस्ताले खोजेको/पढेको र धनी परिवारले मात्रै अहिलेका युवतीको मन बुझ्छ/बुझ्दैन भन्ने जवाफसमेत गीतमा भेटिन्छ ।

गाउँका ‘उरन्ठेउला’ केटी जो रमाउन जानेका छन्, कमाउने सपना साँचेका छन् अनि गलत र सहीको विषयमा आवाज पनि उठाउँछन् ।  अहिलेको समयको सक्षम, शिक्षित र सबल युवतीको उदाहरण हुन्, फूलमाया विश्वकर्मा र मनमाया क्षत्री । प्रकाश सपूतले तयार पारेको यो गीत र भिडिओ तयारीको समयमै रहँदा प्रकाश भन्थे— ‘यो गीत पाँच वर्षीय छोरी प्रविष्टीको चोखो मन र चञ्चलता हेरेर तयार गरेको हुँ ।’

उनले छोरीको भावनालाई आमयुवतीको सपना र आत्मविश्वाससँग मिलाएर तयार गरेको यो गीत सामान्य युवतीको लागि ऊर्जा, हिम्मत र परिवर्तनको आधार बन्न सक्छ ।

गीतका पात्रलाई आँचल शर्मा र स्वस्तिमा खड्काले जीवन्त बनाएका छन् । उनीहरूको पहिरनदेखि हाउभाउसम्मले पात्रलाई ‘साँच्चैको चरित्र’ बनाउन सहयोग गरेको छ । धन भएका तर मन नभएका जेठी दिदीका श्रीमान् तथा मन भएर धन नभएका माहिलीको परिवार समाजमा आमरूपमा देखिने पात्रहरू हुन् । विवाहयोग्य उमेर पुगेकी मनमायाकी आमाको चिन्ता पनि जायज छ । छोटो तर मिठोगरी समेटिएको उमेरअन्तरसहितका दुई सन्तानको विषयले गीतमा हाँस्दाहाँस्दै, रमाउँदारमाउँदै सोच्न बाध्य बनाउँछ ।

‘कुरा बुझ्नु पर्च’ मनोरञ्जनको एक ‘कम्प्लिट प्याकेज त’ हो नै सँगै सामाजिक चेतनाको भाष्यसमेत हो ।

तीज गीत भनिएको यो गीतमा तीजको स्वाद भने पाइँदैन । ‘तीज गीत’ को नाम दिएर ‘रत्यौली’ गीत सार्वजनिक हुने गरेको आरोप लाग्ने गरेको सन्दर्भमा प्रकाशको यो गीतलाई कसरी लिने भन्ने विषयमा विचारको मन्थन पक्कै होला नै । प्रकाश स्वयम्ले समेत तीज गीत बने/नबनेको विषयमा समीक्षा गरौँला भनेका छन् । तर विशुद्ध गीतको नजरबाट हेर्दा भने यो गीतमा खोट लगाउने ठाउँ भेटिँदैन ।

गीतमा शान्ति श्री परियार र समीक्षा अधिकारीको स्वर सुन्न पाइन्छ । प्रकाशकै शब्दसङ्गीत रहेको गीतमा सङ्गीत समायोजन कृष्ण विक ‘भान्जा’ ले तयार गरेका छन् । नवराज उप्रेतीले खिचेको भिडिओ प्रबिन भट्टले सम्पादन गरेका छन् । विवेक खड्काको कोरियोग्राफी रहेको भिडिओको कन्सेप्ट तथा निर्देशन प्रकाश स्वयमले गरेका छन् ।

प्रतिक्रिया

One thought on “फूलमाया र मनमाया: युवतीको प्रेरणा

Leave a Reply

Your email address will not be published. Required fields are marked *