पार्टी एकताको पक्षमा उभिन जसपा अध्यक्ष यादवको आह्वान

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्ना नेता/कार्यकर्तालाई पार्टी एकताको पक्षमा उभिन आह्वान गरेका छन् ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष यादवले रत्तिभर विचलित नभई दृढतापूर्वक पार्टीको पक्षमा रहन र एकतालाई मजबुत बनाउन आह्वान गरेका हुन् ।

‘समयको मागलाई ख्याल गर्दै जसपा‚ नेपालका सम्पूर्ण शुभचिन्तक‚ समर्थक‚ सदस्य तथा पार्टीका विभिन्न तहमा कार्यरत रहनुभएका साथीहरू क्रान्तिकारी पार्टी जसपा‚ नेपालको झण्डामुनि एकताबद्ध रहँदै रत्तिभर पनि विचलित नभई दृढतापूर्वक पार्टीको पक्षमा रहन र पार्टी एकतालाई मजबुत बनाउन आह्वान गर्दछु‚’ विज्ञप्तिमा भनिएको छ ।

अध्यक्ष यादवले देशमा समाजवादी लोकतान्त्रिक विचार बोकेका वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने कार्यलाई मूर्तरुप दिन गम्भीर रुपले लाग्नु जरुरी भएको बताएका छन् ।

‘आधिकारिकतासम्बन्धी निर्णय हुनुपूर्व कुनै कारणले अलग भएका वा अन्यत्र अलमलमा परेका सम्पूर्ण साथीहरुलाई कतै अलमलमा नपरी बिना हिचकिचाहट जनता समाजवादी पार्टी नेपालमै पुनः फर्किएर अग्रगमन र वैकल्पिक शक्ति निर्माणको अभियानमा साथसाथै अघि बढ्न अपील गरिन्छ‚’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *